जलविद्युत्मा सहकारी लगानीको आग्रह

काठमाडौं, १ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले जलविद्युत् क्षेत्रमा सहकारी लगानी आवश्यक रहेको भन्दै सबैसँग लगानी गर्न आग्रह गरेका छन् ।

प्राधिकरणका कर्मचारीद्वारा प्रवद्र्धित श्रमज्योति ऋण तथा बचत सहकारीको बाह्राँं साधारणसभामा निर्देशक यादवले सहकारीमा संकलित पुँजीले जलविद्युत् क्षेत्रको विकासमा सहयोग पुर्‍याउनुपर्ने बताए । ऊर्जा संकटको समाधान तथा प्राधिकरण सुधारका लागि प्राधिकरणका कर्मचारी सहभागी सहकारीको भूमिका महत्त्वपूर्ण हुने उनको तर्क थियो । ‘लोडसेडिङ न्यूनीकरण, जलाशय आयोजनाको निर्माण, चुहावट नियन्त्रण तथा प्राधिकरण सुधारका लागि सबै भूमिका महत्त्वपूर्ण हुन्छ,’ उनले भने ।
अहिले प्राधिकरणले भारतबाट एक सय ९० मेगावाट विद्युत् ल्याउने सहमति गरिकेको र थप ल्याउनका लागि भारतीय अधिकारीसँग छलफल भइरहेको
उनले बताए ।
साधारणसभामा प्राधिकरणभित्रका सबै सहकारी मिलेर जलविद्युत् निर्माणतिर सक्रिय हुनुपर्नेमा जोड दिइएको थियो । साधारणसभाले आगामी तीन वर्षको लागि नयाँ कार्यसमितिसमेत चयन गरेको छ । नवनिर्वाचित सञ्चालकमा शिवकुमार अधिकारी, शान्तिलक्ष्मी शाक्य, अनुपमा कर्माचार्य, सञ्जय कार्की, लोकेन्द्रबहादुर साउद, जनार्दन भट्टराई र कृष्णदेव रिमाल छन् । त्यसैगरी, लेखा समितितर्फको संयोजकमा लोकहरि लुर्इंटेल तथा सदस्यमा उमेशकुमार साह, दिव्यश्वरी जोशी र सदस्यसचिवमा श्री इन्द्रबहादुर थापा छन् ।
चार हजार दुई सदस्य रहेको सहकारीको चुक्तापुँजी तीन करोड ५० लाख रुपियाँ छ भने कारोबार २० करोड रुपियाँ पुगेको छ । साधारणसभामा सेयर सदस्यलाई १२.४४ प्रतिशत लाभांश वितरण गरिएको थियो भने प्रवेशिका परीक्षामा उत्कृष्ट हुने सेयर सदस्यका छोराछोरी रूपा पण्डित, प्रतीक्षा राउत, महेश आचार्य, अभिषेककुमार कर्ण र सुम्निमा राई तथा कर्मचारी– दिव्यश्वरी जोशी, उमेशकुमार शाह, रचना गोर्खालीलगायतलाई सम्मान गरिएको थियो ।
परिकल्पना सहकारीको साधारणसभा

काठमाडौं : परिकल्पना बचत तथा ऋण सहकारी संस्थाले तेस्रो साधारणसभा सम्पन्न गरेको छ । हाल ६० जना सेयर सदस्य रहेको सो सहकारीले स्थापनाको छोटो अवधिमा एक लाख २५ हजार खुद नाफा गरेको छ । सहकारीले आफ्ना सेयर सदस्यलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय पनि गरेको छ ।
संस्थाको लगानी दुई करोड १० लाख र निक्षेप दुई करोड ३८ लाख रहेको संस्थाका कोषाध्यक्ष राममणि पौडेलले बताए । कैलाश विकास बैंकका अध्यक्ष राजेन्द्र गिरीको प्रमुख आतिथ्यमा भएको साधारणसभाले ११ जना सेयर सदस्य थप गर्ने र आगामी वर्ष १० लाख नाफा गर्ने लक्ष लिएको सहकारीका अध्यक्ष होमनाथ सुवेदीले बताए । संस्थाको सचिव खाली रहेका ठाउँमा हरिशरण रेग्मीलाई नियुक्त गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया