बेचिएकाहरूसँग

एउटी सानी बालिका । अबोध र माया लाग्दी त्यो बालिका सायद संसारको सबैभन्दा घिनलाग्दो ठाउँमा जीवन बिताइरहेकी छे । उसकी आमा उसकै अगाडि दिनहँु धेरैको ओछ्यान हुन्छे । त्यो बच्चाको भविष्य कस्तो होला ? एउटी बहिनी आफ्नै दाजुबाट बेचिन्छे । विदेश जाने रहरमा पैसाको जोहो गर्न बहिनी बेच्ने दाजुलाई यतिखेर त्यस कुकृत्यको अपराध बोध भएको छ कि छैन ?
कसैमाथि विराट विश्वास गरेर सुन्दर भविष्य कल्पँदै काम खोज्न गाउँबाट काठमाडौ हिँडनेहरू साथै आउनेहरूबाट बेचिन्छन्–कोलकातामा, मुम्बईमा । अझ अर्को भाषामा भन्ने हो भने उमेर गएको गोरुको भाउ घटेझँै कोलकातामा महँगोमा बिक्री गरिएका ती चेली भाउ घटेपछि कोलकाताको धन्दावालाले मुम्बईमा सस्तोमा बचेर पठाउँछ । धेरैका लागि यी सबै कुरा किंवदन्ती हुन् । तर, यी सबै अस्वाभाविक र दर्दनाक घटनाकी साक्षी बनेकी छिन्, विमला थापा ।
सर्लाही हरिवनकी विमला १४ वर्षअघि मुम्बई पुगिन् । एउटा सानो सामाजिक संस्थाको कार्यक्रमका लागि । उनले वर्षौंदेखि चेलीबेटी बेचबिखन र एचआइभी संक्रमणबारे सुनेकी थिइन् । तर, बेचिएकासँग उनको कुनैखाले चिनजान थिएन । एक दिन मुम्बईमै बेचिएकालाई त्यहाँबाट उद्धार गर्ने जमर्को चल्यो उनलाई । उनले त्यसअघि यस्ता ठाउँबारे केही सुनेकी थिइनन्, बुझेकी थिइनन् । चलचित्रमा देखिएका दृश्यका आधारमा एउटा सोचाइ बनाएकी थिइन् । चलचित्रमा यस्ता नारकीय स्थानका बारे देखेकी थिइन् । तर, सबै विषयवस्तु थाहा थिएन । तर, पनि उनले दृढनिश्चय गरिन्– बेचिएकाको उद्धार गर्ने ।
पहिलोपटक उनकै प्रयासमा चार नेपाली चेली त्यस्ता नारकीय स्थान छाडेर आए । आफ्नै दाजुबाट बेचिएकी नुवाकोटकी अमृता नेपाली (नाम परिवर्तन) सहित चारजना मुम्बईबाट काठमाडौं आएका थिए । विमलाको यस कार्यको सुरुआत अमृताबाटै भएको थियो । उनलाई थाहा थियो यो काम ज्यादै जोखिमपूर्ण छ । त्यस्तै, परे ज्यानै जान सक्ने । त्यसपछि उनले जोखिमपूर्ण कामको सुरुआत गरिन् । यसका लागि नयाँ संस्था खोलिन्–आशा नेपाल ।
आशा नेपालले सुरुआतमा ललितपुर सानेपामा कोठा भाडामा लिएर काम सुरु गरेको थियो । यी चार चेलीलाई लालनपालन र शिपमूलक तालिम दिने कामको सुरुआत गरेकी थिइन् । विमलाको संस्थामा अहिले ४६ जना बेचिएका चेलीहरू छन् । आमासहित बच्चैमा त्यहाँ पुग्ने पनि थिए । तिनीहरू आमासँगै उद्धार गरिए । केही प्रमाणपत्र तह र कोही स्नातकमा अध्ययन गर्दै छन् । उनले सबैको जीवनलाई नयाँ बाटो दिइन् ।
उनले उद्धार गरेकामध्ये आठजनाको ज्यान गइसकेको छ । केहीले विवाह गरे । पछिल्लो समय उनको कार्यक्षेत्र फैलिएको छ । खासा र काठमाडौं पनि उनको नयाँ कार्य क्षेत्र बनेको छ । ‘काठमाडौंमा पनि यस्ता ठाउँहरू छन् । यसरी खुलेआम मानव बेचबिखन हुँदा पनि प्रशासन मौन छ,’ आश्चर्य व्यक्त गर्दै उनी भन्छिन् । ५० वर्षे विमला थापा दिनहँु नयाँ अनुभव बटुल्दै छिन् र हरेक दिन उनको अभियान कसैलाई नरकबाट उठाएर धर्तीमा पाइला टेकाउनमा नै केन्द्रित रहनेछ ।

प्रतिक्रिया