वीरगञ्जमा मध्यमाञ्चलस्तरीय सुरक्षा भेला

वीरगञ्ज, २८ मंसिर । मध्यमाञ्चलका जिल्लाहरुको शान्ति सुरक्षालगयतका बारेमा छलफल गर्न वीरगञ्जमा आज मध्यमाञ्चल स्तरीय सुरक्षा भेला गरिएको छ ।
भेलामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुको सहभागिता रहेको छ । गृह सचिव नवीन घिमिरेले भेलाको उद्घाटन गरेका हुन् ।
वीरगञ्जको होटल मकालुमा चलिरहेको सुरक्षा भेलामा गृहसचिव घिमिरेका साथै नेपाल प्रहरीका महानिरीक्षक कुबेरसिंह राना, सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त र राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख मोतीबहादुर गुरुङको सहभागिता छ ।
पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन, सर्लाही, धनुषा, महोत्तरी र सिन्धुली गरी ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा अनुसन्धान कार्यालयका प्रमुखहरुको पनि सहभागिता रहेको छ ।
भेलामा सीमा क्षेत्रमा हुने अपराध, चोरी पैठारी, प्राकृतिक सम्पदा माथि भइरहेको अतिक्रमण, सुरक्षा निकायको समन्वयकारी भूमिका, सशस्त्र भूमिगत समूहको गतिविधि र साम्प्रदायिक हिंसा नियन्त्रणका लागि अपनाइने रणनीतिका बारेमा छलफल भएको गृह सह–सचिव शंकर कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया