विरोधबीच उत्तर कोरियाद्वारा रकेट परीक्षण

सोल : चर्को अन्तर्राष्ट्रिय दबाबको बेवास्ता गर्दै उत्तर कोरियाले बुधबार लामो दूरीसम्म उडान भर्नसक्ने रकेट सफल परीक्षण गरेको छ । उन्हा–३ नामक प्रक्षेपित रकेट लक्षित केन्द्रमा प्रवेश गरेको बिबिसीले जनाएको छ । रकेटमार्फत पृथ्वीको कक्षमा सफलतापूर्वक भू–उपग्रह तैनाथ गरिएको उत्तर कोरियाले जनाएको छ । अमेरिकाले समेत अन्तरिक्षमा कोरियाले नयाँ ‘वस्तु’ राखेको पुष्टि गरेको छ ।
दक्षिण कोरिया, जापान र अमेरिकाले रकेट प्रक्षेपणको आलोचना गरेका छन् । भू–उपग्रह स्थापना गर्ने नाममा उत्तर कोरियाले लामो दूरीसम्म मार हान्नसक्ने क्षेप्यास्त्र प्रविधि परीक्षण गरेको आरोप उनीहरूले लगाएका छन् । यसबाट उत्तर कोरियाले अन्तर्राष्ट्रिय दायित्वलाई अटेर गरेको उनीहरूको आरोप छ ।
सन् २००९ मा उत्तर कोरियाले दोस्रोपटक परमाणु हतियार परीक्षण गरेपछि राष्ट्रसंघले आगामी दिनमा उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गर्न नपाउने प्रस्ताव पारित गरेको थियो । प्रस्तावविपरीत उत्तर कोरियाले रकेट परीक्षण गरेपछि अमेरिकाले यसलाई ‘भडकाउने कार्य’को संज्ञा दिँदै यसबाट क्षेत्रीय सुरक्षामाथि चुनौती सिर्जना भएको ठहर गरेको छ । दुई दिनअघि उत्तर कोरियाले प्राविधिक कारण देखाउँदै परीक्षण मिति पर सारिएको जनाएको थियो । तर, बुधबार एकाएक सफलतापूर्वक रकेट परीक्षण भएको सार्वजानिक भएपछि यसले अन्तर्राष्ट्रिय समुदायलाई चकित पारेको छ । गत अप्रिलमा समेत उत्तर कोरियाले रकेट परीक्षण गर्ने प्रयास गरेको थियो । तर, जमिनबाट उडेको केही समयमै रकेट समुद्रमा खसेपछि परीक्षण असफल भएको थियो ।
उत्तर कोरियाको पश्चिमी तटीय क्षेत्रमा पछिल्लो परीक्षण गरिएको हो । ‘उन्हा–३ को दोस्रो संस्करणको परीक्षण १२ डिसेम्बरमा सोहे अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक सम्पन्न भयो,’ उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएले बुधबार जनाएको छ ।
उत्तर कोरियाको रकेट परीक्षणबाट अमेरिका र उसका साझेदार राष्ट्रहरू चिन्तित भएका छन् । सफल परीक्षण गरेर उत्तर कोरियाले क्षेप्यास्त्र विकास र तैनाथका क्षेत्रमा उल्लेख्य फड्को मारेको विश्लेषकहरूको भनाइ छ । अमेरिकासम्म मार हान्नसक्ने क्षमताको क्षेप्यास्त्र निर्माण र तैनाथ कार्यमा सघाउनका लागि उत्तर कोरियाले पृथ्वीको कक्षमा भू–उपग्रह राखेको सैन्य विश्लेषकले जनाएका छन् ।
उत्तर कोरियाको परीक्षणपछि जापानले राष्ट्रसंघ सुरक्षापरिषद्को आपत्कालीन बैठक डाकेको छ । उत्तर कोरियाका पूर्वनेता किम जोङ–इलको निधन भएको एक वर्षपछि र दक्षिण कोरियामा राष्ट्रपतीय निर्वाचन हुनुभन्दा एक साताअघि भएको उत्तर कोरियाको रकेट परीक्षणलाई विश्वभर अत्यन्त चासोका साथ हेरिएको छ । (एजेन्सी)

प्रतिक्रिया