विद्युत् खपत २५ प्रतिशत घटाइने

काठमाडौं, २७ मंसिर । नेपाल विद्युत् प्राधिकरण र मातहतका निकायमा हुने आन्तरिक विद्युत् खपत २५ प्रतिशत घटाउने निर्णय प्राधिकरणले गरेको छ ।
प्राधिकरणको अध्यक्षमा मुख्यसचिव लीलामणि पौडेल र कार्यकारी निर्देशकमा रामेश्वर यादव नियुक्त भएपछि बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । आगामी हिउँदमा दैनिक १९ घन्टासम्म लोडसेडिङ हुनसक्ने प्रक्षेपण गरेपछि लोडसेडिङ न्यूनीकरण कार्ययोजनाअन्तर्गत शनिबार र आइतबार सार्वजनिक विदा गरी विद्युत् खपतमा कम गराउने सरकारी निर्णय कार्यान्वयन गराउन सरकार असफल भए पनि प्राधिकरणले प्राधिकरणभित्रैको आन्तरिक खपत घटाउने निर्णय गरेको हो । सरकारले सबै सरकारी कार्यालयभित्रको विद्युत् खपत कम गर्ने निर्णय पनि कार्यान्वयन गराउन सकेको छैन । लोडसेडिङको कारणले प्राधिकरण आलोचित भइरहेका बेला प्राधिकरणले नै विद्युत् खपत कम गराउनका लागि पहल गर्ने निर्णयलाई पनि सकारात्मक रूपमा लिइएको छ ।
लोडसेडिङ समस्यालाई दृष्टिगत गरी प्राधिकरण केन्द्रीय कार्यालयदेखि सबै जिल्ला तथा ग्राहक संकलन केन्द्रमा हुने विद्युत् खपतमा २५ प्रतिशत घटाउने निर्णय गरिएको प्राधिकरणका निर्देशक यादवले बताए । ‘लोडसेडिङको समस्या बढ्दै गएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि प्राधिकरणभित्रैको विद्युत् खपत कम गर्ने निर्णय पहिलो बैठकले गरेको छ,’ उनले भने, ‘प्राधिकरण हिटर, एसीलगायत चलाउन बन्द गरेर र अनावश्यक रूपमा हुने खपत घटाउने लक्ष्यसहित निर्णय गरिएको हो, यसका लागि प्राधिकरणले योजना ल्याउँछ ।’
अघिल्लो वर्ष विद्युत् प्राधिकरणभित्र करिब ४१ लाख युनिट आन्तरिक खपत भएको थियो । जसअनुसार प्राधिकरणले आफ्नो निर्णय कार्यान्वयन गरेमा वर्षको १० लाख २५ हजार युनिट विद्युत् कम खपत हुनुका साथै आर्थिक रूपमा तीन करोड ६० लाख रुपियाँको आन्तरिक खपत हुनेमा प्राधिकरणलाई करिब ९० लाख रुपियाँ फाइदा हुनेछ । प्राधिकरण ग्राहक तथा वितरण शाखा पूर्वका काठमाडांै, जनकपुर, हेटाँैडा र विराटनगर क्षेत्रीय कार्यालयअन्तर्गतका ५० प्राधिकरणका जिल्ला शाखा, वितरण केन्द्र र सबस्टेसन छन् भने पश्चिमअन्तर्गत बुटबल, पोखरा, नेपालगञ्ज र अत्तरिया क्षेत्रीय कार्यालयअन्तर्गत ४१ निकाय छन् । प्राधिकरणले दिएको जानकारी अनुसार ग्राहक तथा वितरण पूर्वअन्तर्गतका निकायमा गत वर्ष दुई करोड ७६ लाख रुपियाँ बराबरको करिब ३० लाख ७५ हजार युनिट तथा पश्चिमअन्तर्गत ८६ लाख ६७ हजार रुपियाँ बराबरको नौ लाख ८९ हजार युनिट विद्युत् आन्तरिक विद्युत् खपत हुने गरेको छ । कुल खपतमध्ये काठमाडौं क्षेत्रीय कार्यालयअन्तर्गत मात्र १३ लाख युनिट र रत्नपार्क केन्द्रअन्तर्गत पाँच लाख युनिट विद्युत् खपत हुने गरेको छ ।
प्राधिकरणभित्र अनावश्यक उपयोग गर्ने गरिएको र नियन्त्रण गर्नसके प्राधिकरणलाई धेरै फाइदा हुने प्राधिकरणका एक अधिकारीले बताए । ‘प्राधिकरणभित्र अनावश्यक रूपमा दिनभर हिटर ताप्ने, एसी चलाउने, दिउसै बत्ती बाल्ने, बाह्य क्षेत्रबाट विभिन्न उपकरण चार्जका लागि ल्याउने, कम्प्युटर बन्द नगर्नेजस्ता कार्य गरिन्छ,’ उनले भने, ‘सधँै विद्युत् हुन्छ भनेर अनावश्यक विद्युत् उपयोग गर्ने खराब प्रवृत्तिको अन्त्य गनै सके प्राधिकरणलाई पनि लाखौँ फाइदा हुन्छ ।’
बैठकमा प्राधिकरणभित्रको भ्रष्टाचार न्यूनीकरण, प्राधिकरणले बनाइरहेका आयोजनाको समयमै निर्माण, चुहावट नियन्त्रणलगायत बारे पनि छलफल भएको यादवले जानकारी दिए ।

टोल फ्री नम्बर र एसएमएस
मुलुकभरका ग्राहकले अब सजिलै नेपाल विद्युत् प्राधिकरणबारे सबै गुनासो गर्न पाउने भएका छन् । टोल फ्री नम्बर र एसएमएसमार्फत सर्वसाधारण ग्राहकले प्राधिकरणबारे सबै गुनासो गर्न पाउने भएका हुन् । प्राधिकरण सञ्चालक समितिले ग्राहकले सजिलै गुनासो गर्नका लागि टोल फ्री र एसएमएसको व्यवस्था गर्ने निर्णय गरेपछि ग्राहकले उक्त अवसर पाउने भएका छन् । ‘ग्राहकहरूको गुनासो सुन्न हामीले टोली फ्री नम्बर र एसएमएस प्रणाली राख्ने निर्णय गरेका छौँ,’ कार्यकारी निर्देशक रामेश्वर यादवले भने, ‘अब प्राधिकरणबारेका सबै गुनासो सोझै सर्वसाधरणले ग्राहकलाई राख्न पाउने छन् भने ‘हेलो’ सरकारमार्फत पनि राख्न सक्नेछन् ।’ प्राधिकरणले यो प्रक्रिया छिट्टै अघि बढाउन लागेको छ ।
प्राधिकरणभित्रै गुनासो हेर्ने, उजुरी गर्ने निकाय भए पनि अहिले भने ग्राहकले घरमै बसेर सजिलै गुनासो र उजुरी गर्ने व्यवस्था प्राधिकरणले गर्न लागेको हो । अहिले प्राधिकरणभित्र मुलुकभरिका ग्राहकले गरेका उजुरीको संकलन गर्ने र त्यो समस्या समाधानका लागि पहल गर्ने आधारिक निकाय छैन । बिजुली आए/नआएबारे उजुरी गर्न नो लाइट शाखा तथा अन्य उजुरी सुन्न केन्द्रीय कार्यालयमा निकाय भने छ ।

प्रतिक्रिया