“मलाई पुरुष चाहिँदैन”

म कहिल्यै कुनै पुरुषसँग नजिक भइनँ । नजिकबाट चिन्नेहरूलाई मेरो यो स्वभावबारे थाहा छ । अरूलाई चाहिँ अचम्म पनि लाग्ला । चलचित्रमा त प्रेमिका अनि श्रीमती बनेर अभिनय गरियो तर वास्तविक जीवनमा मलाई कुनै पुरुषको आवश्यकता महसुस नै भएन । पुरुषहरू साथी नै नभएका भने होइनन् । स्कुल होस् वा कलेज पढ्दा, सबैसँग राम्रो सम्बन्ध  थियो । समान व्यवहार गर्थेँ।
महिलाहरू पुरुषको सहाराविना बाँच्नै सक्दैनन् भन्नेमा मलाई विश्वासै छैन । पुरुषविना पनि महिलाको जीवन व्यवस्थित हुन्छ, बरु पुरुषले चाहिँ महिलाको सहाराविना सुरक्षित अनुभूति गर्दैनन् । शायद त्यसैले होला, पत्नीको मृत्युको तेह्र दिन पनि नकुरी पुरुषहरू अर्की नारी खोज्न थाल्छन् । तर, पतिको मृत्युपछि पनि वर्षौँ घर, परिवार र बालबच्चा स्याहार्ने सामथ्र्य बोकेका महिला थुप्रै देखिन्छन् समाजमा । पुरुषको सहाराविना पनि जीवनलाई व्यवस्थित बनाउने नारी गाउँदेखि सहरसम्म थुप्रै भेटेकी छु । मेरो विचारमा अवला महिला होइन, पुरुषचाहिँ छन्, जो महिलाविना बाँच्नै सक्दैनन् ।
युवावस्थादेखि नै यस्तै धारणा छ मेरो । सधैँ काममै व्यस्त भइरहेँ । कुनै पुरुष मसँग नजिकिन खोज्दै छ वा कसैले हेर्दै छ कि भन्नेतिर मतलबै हुँदैनथ्यो । करियर निर्माणमा इमानदारिपूर्वक लाग्नुबाहेक माया, प्रेम र विवाहप्रति कहिले ध्यानै गएन ।
सानैदेखि नृत्यमा सोखिन थिएँ । सँगैका दौँतरी खेलेर समय बिताउँथे, म नाचेर । डिल्लीबजारस्थित पद्मकन्या स्कुलमा पढेकी हुँ । ०३० सालमा राजा वीरेन्द्रको जन्मोत्सव कार्यक्रममा भाग लिने मौका पाएँ । त्यति बेला यो ठूलै अवसर थियो । मेरो नाचको सबैले प्रशंसा गरे । हौसला बढ्यो । मेरो जोडी ज्योति नामकी साथी थिई । ऊ केटा भएर नाच्थी, म केटी ।
युवाकालमा भारतीय चलचित्र कलाकार सञ्जिवकुमार र दिलीपकुमार मन पर्थे मलाई । म कुनै पुरुषप्रति आकर्षित थिएँ भने तिनै दुई थिए, तर पर्दामा मात्रै सीमित थियो यो आकर्षण । यो कुरा साथीहरूलाई पनि थाहा थियो । ती हिरोजस्तो देखिने कुनै पुरुष आए उनीहरू मलाई जिस्क्याउँथे– ‘हेरत तेरो हिरो आयो ।’ शायद यो सबैको जीवनमा आउने स्वाभाविक आकर्षण थियो । तर, बिहे गर्ने, घरजम बसाउने कुरा मेरो मनमा पलाउँदै पलाएन ।
मेरा समकालीन र अग्रजहरूलाई मेरो स्वभाव थाहा थियो । सुरुसुरुमा ‘अब बिहे गर्नुपर्छ’ भन्नेहरू दोहोर्‍याएर भन्दैनथे । भन्थे– ‘यसलाई सम्झाउनु बेकार छ, आफूलाई जे लाग्छ त्यही गर्छे, अरूले भन्दैमा आफ्नो विचार बदल्नेवाला छैन ।’  पुरुषप्रधान समाज महिलालाई एक्लो र बिचरा भन्छ । तर मलाई चाहिँ पुरुषहरू बिचरा लाग्छन् । अविवाहित महिलालाई एक्लो बुझ्नु गलत हो ।
छोरी मान्छेले बिहे गर्नै पर्छ भन्ने मान्यता मेरा अभिभावकमा पनि थियो । तर, मैले उनीहरूलाई कन्भिन्स गराउन सकेँ । ‘बिहे नगरे पनि म कहिल्यै एक्लो महसुस गर्नेछैन । मलाई कसैको अभाव छ भन्ने अवस्था सिर्जना नै हुन दिन्नँ ।’ मेरो यो भावनामा सबैको साथ रह्यो ।
हुन पनि मलाई आजसम्म एक्लो भएको अनुभूति छैन । कस्तो जीवन रोज्ने भन्ने सम्बन्धित व्यक्तिको रुचिमा भर पर्छ । कसैलाई पुरुषसँगको जीवन मनपर्ला, कसैलाई पृथक । मेरो अहिलेको जीवन मेरो रोजाइ हो ।
कतिलाई म घमन्डी लाग्छु होला । मेरो स्वभाव छ नै यस्तै आत्मविश्वासी । आफूलाई ठीक लागेको मात्रै गर्छु, बेठीक लागेको कुरामा जति गरे पनि कन्भिन्स हुन्नँ । त्यसैले मलाई बहकाउने प्रयास कसैले गर्दै नगरे हुन्छ ।
चलचित्रमा अभिनय गर्दा मलाई मिथिला शर्माको वास्तविकता हराएको आभास हुन्छ । प्राय: आममहिलाले भोग्ने दु:ख, पीडा र रोदनको अभिनयमा देखिन्छु । मलाई हतार हुन्छ, सबल भावना भएकी मिथिला शर्मासँग बसेर एक कप चिया खाँदै संवाद गर्ने । उसलाई बुझाउन हतारिन्छु– ‘यो अभिनय मात्रै हो है, मेरो वास्तविकता होइन । वास्तविकतामा त कुनै बन्धन र पीडा नभएकी सबल पो छे त मिथिला †’
केही समय पहिले एउटा चलचित्रमा भूवन केसीसँग जोडी भएर खेल्ने फिक्स भयो । भूवन दाइले निर्माता निर्देशकसँग भन्नुभएछ– मिथिलालाई आमा, बहिनी, भाउजू बनाएर खेल्न सक्छु तर यो भूमिकामा चाहिँ खेल्दिनँ ।’ त्यो फिल्म हामीले खेलेनौँ । पछि भूवनदाइले फोन गर्नुभयो– ‘मिथिला तिमी रिसाउन त रिसाइनौ नि †’ मलाई त उहाँको व्यवहार देखेर आनन्द पो लाग्यो । उहाँले गरेको त्यो आदर सम्झँदा खुसी लाग्छ ।
त्यसो त चलचित्रको पात्रका लागि गरिने श्रृंगार पनि वास्तविक मिथिलालाई मन पर्दैन । मेरो अन्तर्मनलाई त्यो नपचेजस्तो लाग्छ । मनभित्र अन्तद्र्वन्द्व सुरु हुन्छ । तर, कलाकारिता त मेरो धर्म हो । व्यक्तिगत चाहनाभन्दा चरित्रप्रति न्याय गर्न सक्नु पर्छ । त्यसपछि आफ्नो वास्तविकता बिर्सेर त्यही चरित्रमा डुबिदिन्छु केही समयलाई । यो कलाकारिताप्रतिको सम्मान हो । नाच्ने क्रममा स्टेजमा कैयौँ पटक लडेकी छु । बेल्ट फुत्केको छ, सेप्टी पिन आधा इन्चसम्म गडेको थियो । गीतको भावअनुसार नाच्दा कहिले उत्ताउली हुन्छु, कहिले भावुक । त्यो कला हो, म पनि गर्छु ।
विभिन्न जिल्लामा जाँदा थुप्रै महिलाले भनेका छन्– ‘तपाईंले बिहे नगरेर ठीक गर्नुभयो । तपाईंले कसैको दबाब महसुस गर्नुपर्दैन ।’ म वास्तवमै स्वतन्त्र छु । जे छु त्यसैमा सन्तुष्ट छु । आमा समानकी दिदी मधुरिका शर्माले मलाई सधैँ साथ र हौसला दिनुभएको छ । गायिका विमला राई मेरी घनिष्ठ साथी हुन् । सबैले मेरो सफलतामा साथ दिएका छन् । मलाई आजसम्म एक्लो अनुभूति हुन दिएका छैनन् । त्यसैले मलाई बिहे गरिनँ भन्नेमा कुनै पछुतो छैन, न त कुनै दिन होला ।

प्रस्तुति : चमिना

प्रतिक्रिया