पेट्रोल छर्केर आगो लगाइयो १६ वर्षे किशोरीलाई

नेपालगन्ज, २४ मंसिर । आफूसित विवाह गर्न नमानेको झोंकमा एक भारतीय युवकले बर्दियाको गुलरियाकी १६ वर्षीया शिवा हासमीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । जिउँदै आगो लगाइएकी युवतीको ९० प्रतिशत शरीर जलेको छ ।
भारत, बहराइच घर भई गुलरियाको एक ग्यारेजमा मिस्त्री काम गर्ने २३ वर्षीय बाबु खानले शुक्रबार बिहान घरको पर्खालबाहिरबाट शिवामाथि पेट्रोल खन्याएर आगो लगाएका हुन् । उनी शिवाकै छिमेकमा डेरा गरी बस्थे । ‘मसित बिहे नगरे कसैसित गर्न नसक्ने बनाइदिन्छु’ भन्दै उनले शिवालाई जिउँदै जलाए । २३ वर्षीय बाबुले दुई महिनादेखि आफूसित बिहे गर्न शिवालाई धम्की दिइरहेका थिए ।
‘बहिनी पर्खालनजिकै भएको मौका छोपेर बाबुले सुरुमा पेट्रोल छर्कियो । पछि सलाइको काँटी कोरेर शरीरमा फाल्यो,’ शिवाका साइँला दाजु रिजवान हासमीले भने, ‘परिवारका सबै घरअगाडि थियौँ, पछाडि के भइरहेको छ भन्ने थाहा थिएन । एक्कासि बहिनी चिच्याएपछि मात्र थाहा पायौँ । हामी पछाडि आउँदा आगोले पूरै शरीर छोइसकेको थियो ।’
पेट्रोलले भिजेको शिवाको शरीरमा दन्किएको आगो निभाउन हासमी परिवारलाई धौधौ परेको थियो । शरीरमा पानी खन्याउँदा पनि आगो ननिभेपछि उनलाई छेउमै रहेको पानीको खाल्डोमा डुबाइयो । ‘बहिनी जलेको देख्दा हामी बेहोसजस्तै भएका थियाँै । छिमेकीले उसको शरीरमा पानी हालेछन्, आगो ननिभेपछि नजिकैको पानी भएको खाल्डोमा केहीबेर डुबाएपछि मात्र आगो निभेछ । तर, त्यसबेलासम्म उसको अनुहार र शरीर चिन्नै नसक्ने भइसकेको थियो,’ रिजवानले भने ।
आगोले शिवाको ९० प्रतिशत शरीर जलेको छ । उनको अहिले भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अनुहार र शरीरको अघिल्लो भाग सबैभन्दा बढी जलेको अस्पतालले जनाएको छ । उपचारका लागि बर्दिया जिल्ला अस्पताल लगिएकी शिवालाई त्यहाँबाट नेपालगन्ज रिफर गरिएको हो । उनीसित अझै आमाबाबुको भेट गराइएको छैन । ‘बहिनीले आमा–बाबुलाई बोलाऊ भनिरहेकी छे । बुबा मुटुको बिरामी हुनुहुन्छ, बहिनीको यस्तो अवस्था देख्दा उहाँलाई केही हुन्छ कि भन्ने डर छ,’ शिवाका जेठा दाजु तनवीर अहमद हासमीले भने ।
चिकित्सकले शिवालाई सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिए पनि कमजोर आर्थिक अवस्थाका कारण हासमी परिवारले अन्यत्र लैजान सकेको छैन । ‘उनको ज्यान बचाउन यहाँ उपचार सम्भव छैन । अन्यत्र लैजानुहोस् भनेर डाक्टरले भनिसकेका छन्, पैसा छैन, कसरी अन्त लैजानु ?’ तनवीरले भने ।
सुविधासम्पन्न अस्पताल लैजान पैसा नभएपछि शिवालाई दुई दिनदेखि भेरी अञ्चल अस्पतालमै राखिएको छ । ‘भित्र बहिनी छट्पटाइरहेकी छ । डाक्टरले जतिसक्यो छिटो अन्त लैजाऊ भन्छन्,’ तनवीरले भने । कोही आर्थिक सहयोग गर्ने आए बहिनीको राम्रो अस्पतालमा उपचार गराएर ज्यान जोगाउने आसमा हासमी परिवार छ ।
शिवालाई आगो लगाउने भारतीय युवक बाबुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी उमेश रज्जकले बताए । बाबुले आफूसित बिहे गर्न शिवालाई धम्की दिँदै आइरहेका थिए । ‘मसित बिहे नगरे कसैसित गर्न नदिने’ धम्की उनले दिने गरेका थिए ।
जबर्जस्ती बिहे गर्नुपर्ने दबाब दिएर मानसिक तनाव दिएको भन्दै शिवाले कारबाहीका लागि बिहीबार जिल्ला प्रहरी कार्यालयमा बाबुविरुद्ध उजुरी दिएकी थिइन् । आफूलाई जे पनि गर्न सक्ने भन्दै उनले बाबुलाई कानुनी कारबाही गर्न माग गरेकी थिइन् । तर, प्रहरीले ‘आइन्दा गल्ती नदोहोर्‍याउनू’ भन्दै कुनै कारबाही नगरी बाबुलाई छाडिदियो । त्यसको भोलिपल्टै उसले शिवामाथि पेट्रोल खन्याएर आगो लगायो ।
‘बाबुको धम्की सहन नसकेर बहिनीले हामीसँग भनेपछि न्यायका लागि प्रहरीमा उजुरी दिएका थियौँ,’ शिवाका दाजु तनवीरले भने, ‘प्रहरीले त कारबाही गर्नुको साटो त्यत्तिकै छाड्यो ।’ उनका अनुसार प्रहरी कार्यालयबाट बाहिरिँदै गर्दा बाबुले  कान्छो भाइलाई ‘मसँग बिहे नगर्ने तेरो दिदीलाई कसैसँग बिहे नहुने बनाइदिन्छु’ भनेर धम्की दिएको थियो । ‘बहिनीले पहिल्यैदेखि त्यो केटाले केही न केही गर्छ भनिरहन्थी । त्यसै कारणले न्यायका लागि प्रहरीमा गयाँै । प्रहरीले हल्का ढंगले लिँदा आज यस्तो भयो,’ तनवीरले भने ।

प्रतिक्रिया