हराएको कविता, ब्याच र ड्युना

इटालीको सल्फेरिनोमा सन् १८५९ जुन २४ मा फ्रान्स र अस्ट्रियाका सैनिकबीच रक्तपातपूर्ण भिडन्त हुन्छ । करिब ४० हजार सैनिक मर्छन् या घाइते हुन्छन् । तिनलाई युद्ध मैदानमा त्यसै छाडिन्छ । स्विटजरल्यान्डका व्यापारी हेनरी ड्युना त्यही बाटो हुँदै आइपुग्छन् । मरेका र मरणासन्न सैनिकहरूको खलियो देखेपछि उनीभित्रको मानवीय संवेदना पग्लिन्छ । मनमा विद्रोहको ज्वाला उठ्छ । विजेता कर्णेलसँग ड्युना सहयोगको लागि अनुरोध गर्छन् ।
कर्णेल भन्छ, ‘शत्रुलाई सहयोग गर्दा हामीलाई देशद्रोहको आरोप लाग्छ ।’ ड्युना भन्छन्, ‘विपत्ति पर्दा हामी आफ्नो र पराइ हुँदैनौँ ।’ कर्णेलको प्रश्न, ‘अहिले सबैलाई औषधी, पट्टीको खाँचो छ । कसरी जुटाउँनु हुन्छ ?’ ड्युनाको उत्तर, ‘खर्च म आपैँm बेहोर्न तयार छु तर तपाईले पनि केही गर्न सक्नुहुन्छ । तपाईहरूले बन्दी बनाएका सैनिक, सर्जन, अर्दलीहरूलाई यहाँ पठाइदिनुहोस् ।’ कर्णेल भन्छ, ‘तपाई ज्यादै हठी हुनुहुन्छ तर तपाईको हठ खराब हो भन्ने चाहीँ लाग्दैन । के गर्न सकिन्छ, हेरौँला नि !’ ड्युना भन्छन्, ‘धन्यवाद कर्णेल साहेब ! मलाई केवल यी घाइतेहरूको उपचार गर्नुछ ।’
ड्युना घाइतेहरूको उपचार गर्ने अठोट गर्छन् । जेनेभा फर्केर उनले ‘सल्फेरिनोको सम्झना’ पुस्तक लेखेपछि यसैको फलस्वरूप ‘घाइतेहरूका लागि अन्तर्राष्ट्रिय समिति’ बन्छ । पछि यही समिति नै ‘रेडक्रसको अन्तर्राष्ट्रिय समिति’ हुन्छ । हेनरी ड्युना रेडक्रसको जन्मदाता बन्छन् ।
०००
हेनरी ड्युनाको बारेमा धेरथोर पढेपछि ममा उनीप्रति असीम आस्था जाग्न थाल्यो । मैले ड्युनाबाहेक मानव सेवा र कल्याणका लागि लागिपर्ने अर्को मान्छे देख्दै देखिन । उनको सेवामुखी, परमार्थी भावनाले म ओतप्रोत भएँ ।
०४३ मा जुनियर रेडक्रस सर्कलको सचिव छानिएँ । ड्युना मेरा आदर्शपुरुष भए । जुरेसका क्रियाकलापमा म सेवामय भावले लागेँ । हामीले बुढानिलकण्ठमा स्वास्थ्य शिविर चलायौँ । भानुभक्त मेमोरियल, सिद्धिगणेश माविलगायत दर्जन बढी विद्यालयमा भएका तालिम, गोष्ठी, सेमिनारमा सहभागी भयौँ ।
असन, भोटाहिटीमा म किनमेल गर्न जाँदा रत्नपार्कमा अनाथ, अपांगहरूले थाल थापेर मागिरहेको देख्दा मन पग्लिएर सडकपेटीमा पोखिन्थ्यो । म के गर्न सक्थेँ र ! तिनको कारुणिक अवस्था देख्दा मनमा गहिरो घाऊ हुन्थ्यो । अपांग ती हैन म भएको छु । मनले म तिनीहरूको उद्दार गर्थेँ र  स–सानो ड्युना भएको कल्पना गर्थेँ ।
नेपाली पढाउने गुरु रवीन्द्र गिरिले महाकविको ‘यात्री’ कविता पढाउने क्रममा उनको परमार्थी स्वभावको बारेमा व्याख्या गरेपछि अरूको उपकार गर्नु जस्तो ठूलो केही छैन भन्ने लाग्न थाल्यो । डाक्टर केआईसिंहको मन्त्रीमण्डलमा ०१४ सालमा शिक्षामन्त्री भएका देवकोटा दौरासुरुवाल, कोट लगाएर मन्त्रालय गएका तर फर्कदा कट्टु र गन्जीमा मात्र घर आए रे । आफ्ना लुगा माग्नेहरूलाई दिए रे । त्यस्ता कुरा सुनेर मलाई पनि महाकविजस्तै दानी र परमार्थी हुन मन लाग्थ्यो । तर मसँग गरिब, दु:खीलाई दिने के नै थियो र ! अरूले दिए मै लाउने थिएँ ।
रेडक्रसका महामन्त्री देवरत्न धाख्वा जुरेसको कार्यक्रममा आइरहन्थे । देशभरिकै जुरेसमध्ये हाम्रो जुरेस राम्रोमा गनिएको थिए । विद्यालयमा जुरेसको गोष्ठी, तालिम हुँदा म नै त्यसको व्यवस्थापन गर्थेँ । महामन्त्री प्रमुख अतिथि भएको कार्यक्रममा स्वागतगान लेख्नुपर्ने भयो । साथीहरूको मूल्यांकनमा म ‘कवि’ भइसकेको हुनाले स्वागतगान लेख्न मलाई नै भने । मुनामदनको गीतको अक्षर संख्या गनेर झ्याउरेमा गीत लेखेँ । कुनै साथीले पनि गीत मिलाएर गाउन सकेनन् । नारायण गोपालले गाएको ‘ईश्वर तैले रचेर फेरि कसरी बिगारिस्…..।’ भाकामा गाउँदा अलि वैरागी हुने भयो । तारादेवीले गाएको ‘…….कातेको बत्ती आगोमा हाली के पुण्य कमायौ ।’ भाकामा गाउँदा चुड्के हुने भयो । भाका सोच्दासोच्दै फुऱ्यो ‘…….तिमीलाई भेट्न आउँदैछु प्यारी दशैंको बेलामा ।’ यसमा पनि स्वर निकै तान्नुपर्ने भएकोले साथीहरूले भाँती पुर्‍याएनन् । भेडे स्वरमा मैले भाका सुनाइदिएँ । यही भाकामा साथीहरूले राम्रोसँग गाएँ । महामन्त्रीले स्वागतगानको शब्द चयनको प्रशंसा गरे । मलाई धाप मार्दै भने, ‘एकदमै राम्रो छ ।’
रेडक्रसको काठमाडौं शाखाले रक्तदान कार्यक्रम गर्ने भयो । जुरेसका केही सदस्यहरूले रक्तदान गर्ने भए । म पनि के कम, सेवा गर्न पाउनुलाई मैले अवसर ठानेँ । रक्तदान गर्न हामी रेडक्रसको केन्द्रीय कार्यालय कालीमाटी गयौँ । मन खुसी भएपनि कताकता डर लागिरहेको थियो । केही हुने पो हो कि ! रक्तदान गरेको कुरा घरकाले थाहा पाए भने के भन्लान् ! रक्तदान गर्ने कुरा नगरी मैले रेडक्रसको तालिममा जाने कुरा गरेको थिएँ ।
फराकिलो बेन्चमा सुताएर स्वास्थ्यकर्मीहरू हाम्रा नाडीमा सिरिन्ज रोप्न थाले । च्वास्स दुख्यो । डर बढ्दै गयो । एकमनले भन्थ्यो, ‘अरूको प्राण रक्षाको लागि म आफ्नो रगत दिँदैछु ।’ तर, अर्कोतिर मलाई डरले डल्याउँदै लग्दै थियो । सिरिन्ज निकालेपछि उठ्न लाग्दा मलाई भनभनी रिँगटा लाग्यो । वरिपरि अन्धकार मात्र देखेँ । भक्लक्कै पछारिएर बेहोश भएछु । आधाघण्टापछि अलिअलि होश खुल्यो । मेरो अगाडि रवीन्द्रगुरु हुनुहुन्थ्यो । थुप्रै मान्छेले मलाई घेरेका थिए । डाक्टरले भने, ‘केही हुँदैन । यी भाइ डराएको हुनाले यस्तो भएका हो ।’
होश खुलेपनि तन्द्रामा थिएँ । अवचेतनमा थिएँ । सेतो धोती लगाएकी महिलाले फ्यान्टाको बोतलको मेरो हातमा दिँदै भनिन्, ‘भाइ, नडराऊ । यस्तो मान्छे रक्तदान गर्न नआएको भए हुन्थ्यो ।’ तिनी राजपरिवारकै सदस्य थिइन् । (हेलेन शाह हुन् कि ?) मलाई फ्यान्टा निल्न गाह्रो भयो । हातगोडा लगलग कापिरहेका थिए । दिमाग शून्यजस्तै भएको थियो । घरकाले के भन्ने हुन्, त्यति मात्रै सोच्थ्यो ।
रवीन्द्र गुरुले मलाई स्कुटरमा राखेर घरको गेटमा छोडिदिनुभयो । एकदमै कमजोर भएको थिएँ । डर र कमजारीले थरथर काम्दै घरभित्र पसेँ । सकीनसकी काम गर्न लागेँ । घरमालिक्नी त्यही स्कुलमा पढाउने हुनाले मैले रक्तदान गरेको कुरा थाहा भइहाल्यो । गाली खाएँ, ‘खुब परोपकारी भएछौ नि बाजे ! त्यति रगत बन्न कति पौष्टिक तत्त्व चाहिन्छ ?’ त्यसको अर्को अर्थ थियो, ‘हाम्रो घरको अन्न, तरकारी फलफूलले बनेको रगत  दान गर्ने ?’ जति गाली गरेपनि जवाफ फर्काइँन । मेरो १.५ पिन्ट रगतले कसैको ज्यान बच्छ भने म किन पश्चाताप गरुँ !
ड्युनाको घुम्रिएको दारीवाल फोटो मलाई हेरिरहन मन लाग्थ्यो । यिनको मन कसरी पग्लियो होला ? पग्लिएको मनले ढुंगा पनि पगाल्दो रहेछ भैँm लाग्थ्यो । ड्युनाकै समर्पणमा ‘ड्युना’ शीर्षकको कविता लेखेँ । नन्दीरात्री माविको पत्रिका ‘बिहानीको किरण’ मा ०४३ सालमा त्यो कविता छापियो । पन्ध्रवर्षसम्म त्यो कविता र रक्तदानपछि पाएको रेडक्रस चिन्ह (+) अंकित ब्याच एकदमै माया गरी राखेको थिएँ । तर, ती दुबै चिज हराए । पहिलोचोटि छापिएको सिर्जना र रेडक्रसको ‘म सेवा गर्छु’ मूल मर्ममा पग्लिएर गरेको ‘सेवा’ को प्रमाण हराएकामा मेरो मन बेलाबेलामा चसस्क दुख्छ जसरी माओवादी जनयुद्ध कालमा रेडक्रसलाई अमेरिकी साम्राज्यवादको एजेन्ट भनेको र जनआन्दोलन ०६२/६३ मा उद्दारमा खटिएका आइसिआरसीका सवारी साधनलाई ज्ञानेन्द्रको सरकारले रोक लगाउँदा दुखेको थियो ।

प्रतिक्रिया