काठमाडौं : गत साता प्रदर्शनमा आएका चलचित्रले आशालाग्दो व्यापारिक संकेत नदेखाए पनि आज शुक्रबार दुई नयाँ फिल्म प्रदर्शनमा आउने भएका छन् । ती हुन्– लभ यू म्यान र थ्री लभर्स । लभ यू म्यानलाई डिबी फुयाँलले निर्देशन गरेका छन् भने थ्री लभर्समा सुरेश दर्पणको निर्देशन रहेको छ ।
‘लभ यू म्यान’ दुई पुरुषबीचको प्रेमकथामा निर्माण भएको चलचित्र हो । पटक–पटकको सेन्सर झमेला झेल्दै अन्तमा एडल्ट सर्टिफिकेट पाएको यो चलचित्र दिनेश महत र युवराज खत्रीले निर्माण गरेका हुन् ।
उपत्यकाका एक दर्जन हलबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा दुई पुरुषबीचका थुप्रै बेडसिन र चुम्बन दृश्य छन् । प्रदर्शनको अघिल्लो दिन बिहीबार पनि चलचित्र झमेलामा परेको थियो । यस पटकको झमेलाको विषय भने चलचित्रको प्रचार सामग्री पोस्टर भएको छ । नायिकाको पछाडि फर्केको नांगो फोटो पोस्टरमा निर्माण युनिटले राखेको छ । पोस्टर बजारमा टासिएपछि सेन्सर बोर्डले निर्मातालाई बोलाएर पोस्टर उक्काउन र सभ्य पोस्टर टास्न निर्देशन दिएको हो ।
सेन्सर बोर्डले बिहीबार सञ्चार मन्त्रालयमा बोलाएर आफूलाई चलचित्रको अश्लील पोस्टर उक्काउन र त्यसको बदलामा सभ्य पोस्टर टास्न निर्देशन दिएको निर्माता दिनेस महतले बताए । उनले भने, ‘अश्लील पोस्टर सेन्सर गर्ने बोर्डको पछिल्लो निर्णय भएकाले हामीलाई पोस्टर उक्काउन र अब आइन्दा यस्ता पोस्टर नटास्न समेत कागज गराइएको छ ।’
चलचित्रमा राज आर्यन, सुरेश चौधरी, प्रनिशा अधिकारीलगायत नयाँ कलाकारको अभिनय छ । चलचित्रमा देव महर्जनको द्वन्द्व र नरेन्द्र राजवंशीको संगीत छ भने छायांकन दीपक बानियाले गरेका छन् । ‘थ्री लभर्स’ रोमान्टिक प्रेमकथामा आधारित छ । प्रियंका कार्की, निरज बराल, देबु श्रेष्ठ, सुमन गैरे, पूजा शर्मा, धीरेन्द्र राज थापालगायतका कलाकारको अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन, बाबु बोगटी र राजन इशानको सयुक्त संगीत तथा हिमाल केसीको द्वन्द्व रहेको यस चलचित्रमा शंकर विसी र पुनम राईले संयुक्त रूपमा नृत्य निर्देशन गरेका छन् । देशभर एकैसाथ रिलिज गर्न लागिएको यो चलचित्र बेल्जियमको थ्री ब्रदर्स कम्पनीले निर्माण गरेको हो । यसै चलचित्रबाट नायिका प्रियंका कार्कीले चलचित्रक्षेत्रमा डेब्यु गर्दै छिन् । (सौस)
‘लभ यू म्यान’ले पोस्टर च्यात्नु पर्यो
चलचित्र लभ यू म्यान युनिटले आफ्नो चलचित्रको पोस्टर आपैँmले च्यात्नुपरेको छ । चलचित्र सेन्सर बोर्डले सहरका भित्तामा टाँसिएका पोस्टर आपत्तिजनक ठहर गरी च्यात्न लगाएको हो । आज शुक्रबार चलचित्र पहिलोपटक प्रदर्शनमा आउने भए पछि बिहीबार पोस्टर टाँसिएको थियो र बिहीबार नै पोस्टर त्यसरी च्यात्न लगाइएको थियो । चलचित्र निर्माता दिनेस महतका अनुसार, सेन्सर बोर्डबाटै फोन गरेर हामीलाई बोलाइयो र चलचित्रको पोस्टर ‘अश्लील भएकाले’ तत्काल च्यात्न भनियो । नायिकाको ढाड देखिएको चलचित्रको पोस्टरप्रति बोर्डको आपत्ति देखियो । निर्माण युनिटले पोस्टर च्यात्न सम्भब नभएको कुरा उठाउँदा चलचित्रमाथि नै रोक लगाउने चेतावनी दिइएको महतले बताए ।
‘चलचित्रमाथि रोक लगाउनुभन्दा बरु पोस्टर च्यातेरै भए पनि चलचित्र लाउने विचारले आपैँmले च्यात्न अह्राएको हुँ,’ उनले ‘सौर्य’ सितको कुराकानीमा भने । टाँसिएका पोस्टर च्यात्ने र त्यसको ठाउँमा ‘श्लील’ पोस्टर टाँसेर चलचित्र चलाउने भनेर सेन्सर बोर्डसँग लिखित सहमति गरेको समेत उनले बताए । स्मरणीय छ, करिब दुई सातापहिले पनि चलचित्र ‘एटिएम’का निर्माता दिनेस थापालाई यसैगरी टाँसिएका पोस्टर च्यात्न लगाइएको थियो तर लिखित सम्झौता भने गराइएको थिएन ।
प्रतिक्रिया