प्रियंका एसियाकै सेक्सी महिला

लन्डन : बलिउड अभिनेत्री प्रियंका चोपडा एसियाकी सबैभन्दा सेक्सी महिला घोषित भएकी छन् । ‘विकली’ म्यागजिनले हालै गरेको अनलाइन सर्वेक्षणको आधारमा उनलाई एशियाकी सबैभन्दा सेक्सी महिला घोषित गरिएको हो ।
उक्त सर्वेक्षणमा प्रियंकाले अन्य दुई बलिउड अभिनेत्री करिना कपुर र कट्रिना कैफलाई पछि पारेकी हुन् । यसअगाडी कट्रिना लगातार तीनपटक यस सर्वेक्षणमा एसियाकी सर्वाधिक सेक्सी महिला घोषित भएकी थिइन् । यसपटकको सर्वेक्षणअनुसार पहिलो नम्बरमा प्रियंका, दोस्रो नम्बरमा करिना र तेस्रो नम्बरमा कट्रिना परेका छन् ।
यो वर्ष प्रियंकाका लागि निकै लाभदायक साबित भएको छ । उनले अभिनय गरेका चलचित्र सुपरहिट भइरहेका छन् । यस वर्ष उनले अभिनय गरेका चलचित्र अग्निपथ, बर्फीलगायतले निकै चर्चा बटुलेका छन् । यसबाहेक यसै वर्ष गायनमा पनि उनको विशेष पहिचान बनेको छ ।
एसियाकै सेक्सी महिला घोषित भएपछि प्रियंकाले खुसी हुँदै आफूलाई देश तथा विदेशबाट भोट दिने सबैलाई धन्यवाद दिएकी छन् । ‘इस्टर्न आई सोबिज’का सम्पादकले पनि प्रियंका सन् २०१३ मा हलिउड स्टारका रूपमा समेत चर्चा पाउन सक्ने अनुमान गरेका छन् । किनभने, उनी सशक्त अभिनयबाट सबै प्रशंसकको हृदयमा आफ्नो स्थान बनाउन सफल भएकी छन् । (एजेन्सी)

प्रतिक्रिया