निर्मातालाई तनाव

काठमाडौं : निर्माता नारायण मैनाली अचेल तनावग्रस्त छन् । उनलाई तनाव दिइरहेको कुरा अरू केही नभएर आफैँले निर्माण गरेको पछिल्लो चलचित्र ‘कारबाही’ हो । कुनै पनि चलचित्रले राम्रो व्यापार गर्न नसकिरहेको अहिलेको समयमा ‘कारबाही’ पनि रिलिजमा आउने भएपछि उनको तनाव बढेको हो । उनको चलचित्र २८ मंसिरबाट प्रदर्शनमा आउने भएको छ ।
‘बल्लबल्ल प्रदर्शनका लागि डेट मिल्यो तर चलचित्रको व्यापार के–कस्तो हुने हो भनेर तनाव भइरहेको छ,’ मैनालीले भने । चलचित्र प्रदर्शनको मिति नजिकिँदै जानु पनि मैनालीका लागि तनावको कारण बनिरहेको छ । ‘समय आइसक्यो तर प्रचार–प्रसारलगायत चलचित्रको प्राविधिक कामसमेत धेरै कुरा बाँकी छन् । कसरी भ्याउने होला ?’ उनले सुनाए ।
चलचित्र उद्योगमा ०३८ तिर स्पटब्वायबाट प्रवेश गरेर, लाइटपर्सन, ड्रेसपर्सन, साउन्डपर्सन र क्यामेरापर्सन हुँदै निर्माता बन्न पुगेका मैनालीको यो दोस्रो चलचित्र हो । यस अगाडि उनले ‘चम्पा चमेली’ नामक चलचित्र निर्माण गरेका थिए ।
पछिल्लो चलचित्रमा आफूले लामो समय यस क्षेत्रमा बिताएको अनुभव र सीपलाई उतारेको बताउने मैनाली स्तरीय नबनेकै कारण अहिले चलचित्रहरू नचलेको उनको ठम्याइ छ । चलचित्रका माध्यमबाट देशको भाषा साहित्य कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सक्नुपर्ने धारणा राख्ने मैनाली चलचित्र कारबाही एकपटक प्रत्येक नेपालीले हेर्नै पर्ने खालको बनाएको दाबी गर्न पछि परेनन् । (सौस)

प्रतिक्रिया