“उनी मलाई उपहारै दिँदैनन्”

सोह्र वर्ष भएछ हाम्रो बिहे भएको । चलचित्र निर्देशक ऋषि लामिछाने मेरा श्रीमान् । एउटै क्षेत्रमा काम गर्ने भएकाले एकअर्काको समस्या र भावना राम्ररी बुझ्छौँ । राम्रो आपसी समझदारी छ हामीबीच । त्यसैले कसैले केही भन्ला वा केही सुन्नुपर्ला कि भन्ने चिन्ता छैन ।
मेरो नजरमा ऋषि इमानदार एवं कुशल श्रीमान् हुन् । उनको नराम्रो बानी खोजेर पनि पाउदिनँ । उनले रिसाउनै जानेका छैनन् भन्दा पनि हुन्छ, प्राय: हाँसिरहनुपर्ने मान्छे हुन् । त्यसो त बाहिरबाट झट्ट हेर्दा कसैले उनलाई क्रूर अनि रिसाहा मान्छे होला भन्ने अनुमान पनि गर्न सक्छन् कसैकसैले । किनकि, उनको गेटअप नै त्यस्तै हुन्छ । कानमा मुद्रा लगाएका छन् । तर, भित्री रूपले बुझ्ने हो भने उनी एकदमै सरल अनि सहयोगी भावनाका मान्छे हुन् । कुनै चरम महत्त्वाकांक्षा नभएका मेहनती र परिश्रमी व्यक्ति ।
समाजमा भनाइ प्रचलित छ– पतिपत्नीको जोडी माथिबाटै जुरेर आएको हुन्छ । साँच्चै हाम्रो जोडी पनि मलाई भगवान्ले नै जुराइदिएजस्तो लाग्छ । मलाई मात्र होइन, ऋषिलाई पनि त्यस्तै लाग्छ रे † हामीलाई चिन्नेहरूले पनि बेलाबेलामा भन्छन्– तपाईंहरूको जोडी वास्तवमै उत्कृष्ट लाग्छ । उनी मसँग रिसाएको कुनै दिन याद छैन मलाई । बरु म आपैँm रिसाएर उनलाई घुक्र्याउँछु कहिलेकाहीँ । म रिसाउँदा हाँसेर फकाउन पनि सिपालु छन् उनी । हाँस्न त उनलाई कसले सिकाउनुपर्छ र ?
उनीसँग मेरो कहिल्यै कुनै गुनासो नहुने भने होइन । सामान्य ठाकठुक त के हो र पतिपत्नीबीच ? भनेको समयमा नआउने उनको बानी पटक्कै मन पर्दैन । कतै बाहिर जानुपर्ने बेलामा आठ बजे आउँछु भनेको मान्छे फोन गरेर समय सार्दासार्दा एघारै बजाउँछन् । अनि आएर ‘सरी’ भन्छन् । यो क्रियाकलाप बारम्बार दोहोरिइरहन्छ अनि मलाई रिस उठिहाल्छ । समयको ख्याल नगर्ने उनको यही बानी मलाई मन पर्दैन । सायद उनको कमजोरी यही एउटा हो । जिन्दगीका अरू पक्षलाई भन्दा बढी समय र महत्त्व कामलाई दिन्छन् । रिसाए पनि के भो र, एकैछिनमा फकाइहाल्छन् उनी मलाई ।
यी सोह्र वर्षका हरेक सुखदु:खमा एकअर्काको साथ छौँ हामी । तर, उनी भान्छामाचाहिँ खासै जाँदैनन् । जम्मा एकपटक मैले उनले पकाएको खाना खाएको छु । अहिलेसम्म उनले पकाएको पनि त्यही एकपटक होला सायद । भर्खरभर्खर हाम्रो बिहे भएको थियो । खोइ किन हो उनलाई खाना पकाउने जाँगर चलेछ । पकाउन त पकाए तर के पकाए–पकाए † टन्न झोल पो हालेछन्, त्यो पनि भन्टामा । अब के गर्नु, श्रीमान्ले पहिलोचोटि भान्छामा सीप चलाएको † मीठो मानेर खाइदिनै पर्‍यो । अहिले पनि खाना पकाउने प्रसंग चल्दा म उनलाई ‘भन्टाको तरकारीमा झोल’ भन्दै जिस्क्याइरहन्छु । अनि मज्जाले हाँस्न थाल्छु । खानामा उनलाई विशेष सोख छैन, जे दिए पनि चुपचाप खान्छन् । यसो मामिलामा त झन् बडो सजिला पो छन् त मेरा श्रीमान् † कुशल पति मात्र होइन, कुशल पिता पनि हुन् उनी । हाम्री एउटी छोरी छिन् ।
उनीबाट उपहार पाउने आशा भने अब मैले नगर्दा पनि होलाजस्तो छ । अहिलेसम्म कुनै उपहार दिएको थाहा छैन । छोरी जन्मेको बेलामा उनले मेरो कोठाको पूरै रंगरोगनै फेरिदिएका थिए । बेडकभरदेखि सबै कलर मलाई मनपर्ने छानिएका थिए । तर, त्यो उपहार छोरीका लागि थियो वा मेरा लागि, मैले पत्तो पाउन सकेकी छैन । उनी भन्दैनन् पनि ।
सुटिङका लागि बाहिर जानुपर्दा म उनको कपडा तयार पारिदिन्छु । अरू बेला प्राय: आफ्ना काम आपैँm गर्छन् उनी । मलाई ऋषिले जिन्स लगाएको मन पर्छ । त्यसैले उनलाई जिन्स लगाउन आग्रह गरिरहन्छु, मेरो आग्रह मान्छन् पनि । कानको मुन्द्रा पनि उनले मेरै आग्रहमा लगाएका हुन् । केही समय पहिलाको कुरा हो । एक दिन मेरो कानमा हेर्दै भने– ‘कति राम्रो मुन्द्रा, कस्तो सुहाएको †’ त्यसपछि मैले उनको कान छेडाइदिएँ अनि आफ्ना मुद्रा लगाइदिएँ । उनलाई पनि सुहायो । पछि त बानी परेछ, लगाएको लगायै गर्न थाले । (वार्तामा आधारित)

प्रतिक्रिया