लोकसंगीत नशा हो मेरो

-लोकगायन नै किन रोज्नुभो ?
लोकगीतप्रति सानैदेखि लगाव थियो । सानैदेखि सुनेका गीत गुनगुनाउने गर्दथेँ । लोकगीतमार्फत नै हाम्रो लोक संस्कृतिको संरक्षण गर्न सकिने ठहर्‍याएँ । त्यसैले यतातिर लागेँ ।
तपाईंको पहिलो लोकगीत कुन हो ?
पहिले धेरै गीत गाएको थिएँ । एल्बमतर्फ, ०६३ मा आफ्नै माया छ यो मनमा र ०६६ मा हामी सेना–प्रहरी निकालँे । ती एल्बमको सफलताले झन् लोकगीतमा लाग्ने प्रेरणा मिल्यो ।
ती एल्बममा कस्ता गीत थिए ?
त्यतिबेला माओवादी जनयुद्धको समय थियो । त्यो समयमा रुकुम–रोल्पा आदिमा घटेका घटना, पारिवारिक विघटनका प्रसंग र राष्ट्रप्रेमको भावना साथै मायाप्रीतिका सन्देश समेटिएका गीत थिए । सायद त्यसैले पनि ती एल्बम सफल भएका होलान् ।
कस्तो गीतलाई लोकगीत भन्ने ?
समाजका दु:ख, पीडा र खुसीलाई परम्परागत लोकशैली अनि लयमा मादल, सारंगी, बाँसुरी आदि मौलिक बाजाको प्रयोग गरेर गाइने गीत नै लोकगीत हो ।
पछिल्लो समयमा तपाइंको हिट लोकगीत कुन हो ?
‘क्षितिजपारि उनको बस्तीमा…’ र ‘पूजा गर्छु म…’ मेरो पछिल्लो समयमा निकै चर्चामा रहेका लोकदोहोरी गीत हुन् । यी गीतले मलाई लोकगीतको क्षेत्रमा छुट्टै पहिचान दिलाएका छन् ।
लोकगायनमा लागेर के पाउनुभयो त ?
पहिलो त, म घर परिवारमा मात्र परिचित थिएँ भने अहिले मलाई धेरैले चिन्नुहुन्छ । स्रोताको माया पाएको छु । त्यो नै ठूलो कुरो हो । बाँच्न पुग्ने आम्दानी पनि भइरहेको छ ।
आफ्नो लगानीमा भन्दा पनि अन्यको लगानीमा तपार्इंका गीत बढी निस्किएका छन् नि ?
आफू एक हदसम्म संगीत बजारमा चिनिइसकेपछि एल्बम निकाल्न लगानी गर्छु भन्नेहरू आउँदा रहेछन् । त्यसैले मेरो शब्द, लय र स्वर रहे पनि धेरै एल्बममा लगानी अरूले नै गर्नुभएको छ ।
लोकगीतको मार्केट घट्यो भनिन्छ । यसमा लागेर व्यावसायिक भइन्छ र ?
व्यावसायिकता अर्कै पाटो हो । यसमा लागेर म सन्तुष्ट छु किनभने यसको कमाइले घरपरिवार चलेको छ भने दुई भाइबहिनीलाई पनि पढाइरहेको छु ।
लोकगीतमा सबैभन्दा गाह्रो के छ ?
लोकगीतमा सबैभन्दा गाह्रो लय बनाउनु हो । लय बनाइसकेपछि संगीत भरेर गाउन सजिलो हुन्छ ।
लोकगीतका लय गाउँगाउँ गएर संकलन गर्नुपर्छ भन्छन्, तपाइँ कहाँकहाँ जानुहुन्छ ?
होला, कोही कोही त्यसरी गाउँ जालान् । मलाई भने त्यसरी कहीँ जानु पर्दैन । खासमा के हो भने बाल्यकालमा भोगेका र गाउँघरमा देखेका अनि थाहा भएका भाका र विषयलाई नै लोकगीतमा लयमा ढाल्न सकिन्छ । यसरी लय बनाउँदा सजिलो पनि हुन्छ र आफ्नोपन पनि आउँछ ।
अचेलका लोकगीतमा परम्परागत शैली पाइँदैन भन्ने गुनासो छ नि ?
लोकगीत उही हो । कुरा कति मात्र हो भने अहिलेको पुस्ताले आधुनिक वाद्यवादन प्रयोग गरेर नयाँ शैलीमा गाउने गरेको छ । यही कारणले गर्दा पनि लोकले मन पराउने हाम्रो आफ्नै चिनारी भएका लोकगीत चाहिँ अहिले कम पाइन्छन् ।
लोकगीत गाउनेको चर्चा अन्य विधाका गायक/गायिकाजस्तो छिटो हुँदैन भनिन्छ नि ?
यो दृष्टिकोणले फरक पार्ने कुरा हो । पहिले लोकगीत गाउनेलाई उति सुविधा थिएन । सबैले लोकगीत मनपराउँदैनथे । तर, अहिले रुचि परिवर्तन भएको छ । लोकगीत पनि सबैको प्रिय भएको छ । अझ, लोकगीत गाउनेको चर्चा अन्य विधाभन्दा बढी हुने गरेजस्तो लाग्छ मलाई त ।
तपाईंलाई लोकसंगीतबाट अलग्याइयो भने के हुन्छ ?
मेरो जिन्दगी नै गीतसंगीत हो । यसको नशा लागिसकेको छ मलाई । त्यसैले म हरपल हरक्षण यसमा नै रमाइरहेको हुन्छु । त्यसैले म लोकसंगीतविना बाँच्न सक्दिन होला ।
लोकसंगीत क्षेत्रमा नलागेको भए केमा लाग्ने सोच थियो ?
लोकसंगीत मेरो सानैदेखिको रुचिको विषय हो । यसमा नलागेको भए मेरो चार्टर एकाउन्टेन्ट हुने सोच थियो ।

प्रतिक्रिया