भ्रष्टाचारविरुद्ध अभियान

राजविराज, १८ मंसिर । स्थानीय निकायमा भ्रष्टाचार भएपछि छानबिन भइरहेका बेला एउटा पार्टीले भने भ्रष्टाचारमुक्त गाविस घोषणा अभियान थालेको छ । नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) ले सप्तरीलाई भ्रष्टाचारमुक्त जिल्ला घोषणा थालेको हो । विकास निर्माण तथा सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोपमा जिविसका कर्मचारी तथा गाविस सचिवलाई उच्चस्तरीय छानबिन टोलीले स्पष्टीकरण सोधिरहेका बेला पार्टीले अभियान थालेको हो ।
पार्टीले योगिनिया गाविसलाई भ्रष्टाचारमुक्त गाविस घोषित गरेको छ । पार्टीले औपचारिक कार्यक्रम गरेर गाविसलाई भ्रष्टाचारमुक्त घोषणा गर्दा आसपासका गाविसका सर्वसाधारणले समेत समर्थन र स्वागत गरेका थिए । ‘आजदेखि हामी आफ्नो गाउँलाई भ्रष्टाचारमुक्त घोषित गर्छाैँ,’ कार्यक्रममा उपस्थित सर्वसाधारणले एकै स्वरमा भने, ‘कसैले भ्रष्टाचार गरे उसलाई सामाजिक बहिष्कारसमेत गर्छौँ ।’ गाविसमा आउने विकास बजेटदेखि सामाजिक सुरक्षा भत्तामा समेत व्यापक अनियमितता भएपछि आक्रोशित वृद्धवृद्धा तथा सर्वसाधारणले भ्रष्टाचारबाट मुक्त राख्नसके आफ्नो गाउँले विकासको फड्को मार्न समय नलाग्ने बताए । विकास होला भन्ने आशामा चयन गरेर पठाएका प्रतिनिधि नै भ्रष्टाचारमा लिप्त भइरहेका बेला स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा झनै भ्रष्टाचार मौलाएको योगिनियाकी वृद्धा घुरनी सदाले बताइन् ।
विभिन्न राजनीतिक दलका प्रतिनिधिको समेतको सहभागितामा आयोजित कार्यक्रममा गाविस सचिव नन्दकिशोर यादव उपस्थित थिएनन् । परिचय–पत्र लिएर सहीछाप गराए पनि १० महिनादेखि सामाजिक सुरक्षा भत्ता नदिएका कारण उनी अनुपस्थित भएको वृद्धवृद्धाले आरोप लगाए । कात्रो किन्ने क्षमता नभएका विपन्नहरूको सामाजिक सुरक्षा भत्तासमेत भ्रष्टहरूले खाएको भन्दै भ्रष्टाचारविरुद्ध लड्दा आफूले सार्वजनिक मुद्दासमेत खेप्नुपरेको नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) १ नम्बर योगिनियाका अध्यक्ष कृष्णदेव सिपलियाले गुनासो गरे ।
जिल्लाका हरेक कार्यालयले कामभन्दा बढी हिसाब मिलानीमा जोड दिन थालेपछि विकास निर्माण कार्य ठप्प भएकाले सर्वसाधारणलाई सचेत गराएर त्यसका विरुद्ध तयार गर्ने उद्देश्यले पार्टीले अभियान सुरु गरेको गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकासकुमार तिवारीले बताए । यो कार्यक्रम जिल्लाका १ सय १४ गाविसमै पुर्‍याउने पार्टीको योजना रहेको उनले सुनाए ।
जिल्ला विकास समितिलगायत
सप्तरीका विभिन्न कार्यालयमा भ्रष्टाचार भएको भन्दै त्यसको आयव्यय विवरण सार्वजनिक गर्न माग गरी गजेन्द्रवादीले यसअघि सदरमुकाम केन्द्रित आन्दोलन गर्दै आएको थियो ।

प्रतिक्रिया