लिगमा विदेशी खेलाडीको प्रभाव बढ्दो

काठमाडौं, १८ मंसिर । यस वर्षको लिग फुटबलमा विदेशी खेलाडीको प्रभाव बढ्दो रहेको छ । आइतबार भएको खेलमा ललितपुरका दुई टोलीको जितमा विदेशी खेलाडीकै प्रभाव रह्यो । सियरा लियोनका फेमी जोसुआको गोलमा थ्री–स्टारले फ्रेन्ड्स क्लबलाई १–० ले पराजित गर्‍यो । यसअघि भएको खेलमा जावलाखेल युथ क्लबले बाँसबारी क्लबलाई ३–२ ले हरायो । जावलाखेललाई जित दिलाउने क्रममा जुमा बेन्लीले दुई गोल गरे भने प्रवीण कार्कीले एक गोल गरे । पराजित बाँसबारीका लागि श्यामकुमार राई र नीरकुमार राईले गोल गरे ।
बराबरीतर्फ उन्मुख खेलमा थ्री–स्टारका लागि पहिलो खेल खेलिरहेका जोसुवाले ३५ यार्ड टाढाबाट सानदार गोल गरे । फ्रेन्ड्सका प्रशिक्षक दिलकाजी गुरुङ तथा थ्री–स्टारका प्रशिक्षक प्रदीप हुमागाईं दुवैले टोली सुधारिएको बताउँदै आगामी खेल अझ राम्रो हुने विश्वास व्यक्त गरेका छन् । फ्रेन्ड्सका रीतेश मल्लले एक गोलले पछि परेको अवस्थामा बराबरीको सहज अवसर गुमाएका थिए । यसअघि भएको खेलमा जावलाखेलले ३० मिनेटको अन्तरमा दुई गोलको अग्रता लिइसकेको थियो । २३औँ मिनेटमा प्रवीणले गोल गरे भने ३०औँ मिनेटमा राज पौडेलको कर्नरमा बेन्लीले दोस्रो गोल गरे । ४६औँ मिनेटमा जोन डाइकको प्रहार क्रसबारमा लागेपछि जावलाखेलको अझ फराकिलो अग्रताको मौका गुमेको थियो । नाटकीय खेलको ७७औँ मिनेटमा श्याम बाबुले जावलाखेलको रक्षात्मक कमजोरीको फाइदा उठाउँदै गोल गरे । यसैगरी, ७८औँ मिनेटमा नीरकुमारले गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो । अन्तिम मिनेटमा जुमाले सानदार गोल गर्दै जावलाखेललाई जित दिलाए ।

प्रतिक्रिया