करण आगमनको संकेत

नेपालमा जति बेला राजनीतिक संकट गहिरिएको हुन्छ, त्यति नै बेला छिमेकी मुलुक भारतबाट विशेष दूतहरू आउने गरेका छन् । यो शृंखला अहिलेको होइन, उहिल्यै राणा शासनकालदेखिकै हो । ००४ सालको संविधान निर्माण गर्दा होस् वा ०१५ र ०१७ को संविधान बनाउने समयताका होस् वा त्यसपछि नै, यो सिलसिला रोकिएको छैन । त्यही क्रमको पछिल्लो कडीका रूपमा भारतीय काँग्रेसका नेता करण सिंह अहिले नेपाल आएका छन् । इतिहासले के देखाएको छ भने करण सिंहको नेपाल भ्रमणले जहिले पनि खास उद्देश्य र कारण बोकेको हुन्छ । उनी पछिल्लोपटक ०६२/६३ मा भएको जनआन्दोलका बेला काठमाडौं आएका थिए । निश्चित रूपमा उनी नेपालका सच्चा हितैषी पनि हुन् । उनको रगतमा नेपालकै राजखानदानको रगत बगिरहेको छ तापनि उनी पहिले भारतीय नै हुन्, त्यसकारण विशेष दूत पनि ।
शुक्रबार अचानक करण सिंह नेपाल आए । उनको आगमनबारे नेपाली नेताहरूलाई जानकारी थिएन । उनको सम्मानमा राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले रात्रिभोज आयोजना गरे जहाँ प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाहेक प्राय: सबै दलका प्रमुख नेता उपस्थित थिए । करण सिंहबाहेक भारतीय राजदूत जयन्तप्रसाद र भारतीय गुप्तचर संस्थाका नेपाल प्रमुख प्रभाकर कुमारसमेत उपस्थित थिए । भोजको अनौपचारिक कुराकानीमा भारतीय दूत सिंहले दिल्लीमा भएको १२ बुँदे सहमतिलाई आधार बनाएर अगाडि बढ्न सुझाव दिएको जानकारीमा आएको छ । नेपालको राजनीतिक विषयमा भारतले कहिल्यै हस्तक्षेप गर्न नचाहेको उल्लेख गर्दै उनले आफ्नो आन्तरिक मामिलालाई दलहरूले आपैँm मिलाउनैपर्ने पनि उनले जिकिर गरेका छन् । उनले एमाओवादी, मधेसी र संसद्वादी दलहरू मिलेर जानुको अन्य कुनै विकल्प नरहेको तर्क पनि अगाडि सारे । सिंहले एमाओवादीलाई बाहिर राखेर नजान संसद्वादी दलहरूलाई सुझाव पनि दिए । उनले गरेका अनौपचारिक कुराकानीको महत्त्वपूर्ण संकेत के थियो भने उनले घुमाउरो भाषा प्रयोग गर्दै एमाओवादीकै नेतृत्वमा चुनावी सरकार गठन गर्दै अगाडि बढ्न अन्य सबै दललाई सुझाव पनि दिएका थिए ।
पूर्वराजपरिवार र धेरैजसो वरिष्ठ नेपाली नेताहरूसित निकट सम्बन्ध कायम राखेका सिंहको अहिलेको संवेदनशील समयमा भएको भ्रमण अर्थपूर्ण छ । उनले आफ्नो यो भ्रमण सामाजिक र सांस्कृतिक हुनुका साथै निजी कामको सिलसिलामा भइरहेको बताए पनि खास कारण त्यो होइन भन्ने स्पष्ट छ । भारतमैसमेत भावी राष्ट्रपतिका एक सशक्त उम्मेदवारको रूपमा हेरिएका सिंहले बिनाकुनै शंका दिल्ली दरबारको खास सन्देश नेपाली नेताहरूका नाममा ल्याएका छन् । त्यसको एउटा संकेत उनले ‘एमाओवादीलाई बाहिर राखेर अगाडि नबढ्न’ र ‘एमाओवादीकै नेतृत्वमा सरकार गठन गरेर चुनावमा जान’ भनेरै गरिसकेका छन् । राजनीतिक विश्लेषकहरू उनको यो कुरालाई भारत प्रधानमन्त्री डा. भट्टराईकै पक्षमा रहेको, अथवा त्यो नभएमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ संकेत गरिरहेको सन्दर्भमा लिइरहेका छन् । तर, त्योभन्दा पनि बढी महत्त्वपूर्ण कुरा के हो भने करण सिंहले पनि गरेको संकेत अझ महत्त्वपूर्ण र मननीय छ– नेपालको अहिलेको अन्योल समाप्त पार्न– अर्थात्, संविधानसभाबाट जातीय पहिचानसहितको नयाँ संविधान, दीर्घकालीन शान्ति स्थापना र संघीय लोकतान्त्रिक नेपालको निर्माण– एकमात्र विकल्प भनेको सबै दलका नेताहरू मिल्नु र पार्टी वा समूहको हितभन्दा अगाडि देशलाई राखेर अगाडि बढ्नु वर्तमान समयको एकमात्र माग हो । चुनाव भयो र संविधान पनि बन्यो भने त्यसपछि दल र नेताहरू जति लडे पनि त्यसले देशको अस्तित्व र जनताको भविष्यसित खेलवाड गर्न सक्दैन ।

प्रतिक्रिया