सरकार परिवर्तन नहुँदा बजार प्रभावित

काठमाडौ, १७ मंसिर । सरकार परिवर्तनको माहोलले सेयर बजारमा प्रभाव पार्न सक्ने संकेत देखिएको छ । गत १४ जेठमा संविधान बनाउनुपर्नेमा वर्तमान सरकारले संविधानसभा विघटन गरेर नयाँ चुनावका लागि ७ मंसिरको समयसीमा तोकेकोमा सो समयमा पनि कुनै प्रगति हुन नसकेपछि सरकार परिवर्तनले पहिलो प्राथमिकता पाएसँगै सेयर बजारमा केही सुधारको संकेत देखिएको हो ।
पछिल्लो समयमा राष्ट्रपतिले गरेको सहमतिको सरकार गठनलाई सबै दलले सकारात्मक रूपमा लिएपछि राजनीतिक तिक्तता कम हुने आँकलन गरिएको छ । एमाओवादीभित्र पनि सहमतीय सरकारका लागि वर्तमान सरकार बाधक नबन्ने ठोस निर्णय आइसकेकाले अबको सरकार भनेको सहमति सरकार बन्ने निश्चितप्राय: भएको छ ।
माओवादी नेतृत्वको कारण पुँजी बजारले गति लिन नसकेको आरोप लाग्दै आएको छ । योभन्दा अघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हँुदा नेप्से परिसूचक १ हजार १ सय ६५ अंकसम्म पुगेर घट्न थालेको थियो । घट्ने क्रमले लामो समय निरन्तरता पाएपछि  केही समयदेखि सेयर कारोबार बढ्न थाले पनि अहिले पुन: घट्न थालेको छ ।
यस्तो अवस्थामा वाणिज्य बंैकहरूले चालु आवको असोज मसान्तसम्मको आयव्यय विवरणमा सञ्चालनमा रहेका अधिकांश बैंकको नाफा बढेको विवरण सार्वजनिक गरेका छन् । ती बैंकले चालु आवको पहिलो त्रैमासिकमा ३ अर्ब ८१ करोड रुपियाँ खुद नाफा गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ४१ दशमलव २४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा वाणिज्य बैंकहरूले २ अर्ब ७० करोड ३७ लाख रुपियाँ मात्र खुद नाफा आर्जन गरेका थिए । चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूले अघिल्लो वर्षको तुलनामा १ अर्ब ११ करोड ५० लाख रुपियाँ बढी खुद नाफा आर्जन गरेका छन् ।
यो अवधिमा ३२ वाणिज्य बैंकमध्ये ७ वटा वाणिज्य बैंकको नाफा मात्र अघिल्लो वर्षको पहिलो त्रैमासिकको तुलनामा घटेको छ भने अरूको बढेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले नगद लाभांश घोषणा गरे पनि वितरण नगरिसकेकाले त्यसको असर पनि नाफामा देखिएको छ । केन्द्रीय बैंकले उत्पादनशील क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने नीतिबमोजिम कृषि क्षेत्रमा उल्लेख्य मात्रामा कर्जा गएकाले यस वर्ष कर्जाको वृद्धि दर राम्रो देखिएको छ । पछिल्लो समय बैंकहरूमा यथेष्ट तरलता रहेका कारण निक्षेपमा दिने ब्याजदर अधिकांश बैंक तथा वित्तीय संस्थाले घटाएका छन् । १२ प्रतिशतमा लिएको मुद्दती निक्षेपको ब्याजदर नवीकरण गर्दा ७ प्रतिशतमा गरिएको छ । एकातिर निक्षेप लागतमा भारी कटौती भएको छ भने कर्जाको ब्याजदर भने त्यस्तो अनुपातमा घटेको छैन ।  निक्षेप र कर्जाबीचको स्प्रेड दर बैकर्सहरूले आफूखुसी राख्न पाउने नियमको कारण कर्जाको दर घट्न नसकेको हो । जबसम्म कर्जा दर घट्दैन तबसम्म सेयर बजार राम्रोसँग बढ्न सक्दैन ।

नेप्से घट्यो

काठमाडौं : गत साता नेप्से परिसूचकमा ८ दशमलव ३७ अंकले ह्रास आएको छ । साताको पहिलो दिनको तुलनामा साताको अन्त्यमा नेप्से घटेर ४ सय ८९  अंकमा सीमित छ । योभन्दा अघि नेप्से ५ सय अंक माथि पुगिसकेको थियो ।
गत साता नेपाल स्टक एक्सचेन्जमा १ सय १७ कम्पनीको कारोबार भएको छ । जसमा ६ हजार ८ सय ५ कारोबारबाट ४९ करोड ६० लाख ७१ हजार रुपियाँ बराबरका १४ लाख १ हजार ४ सय २४ कित्ता सेयर खरिद–बिक्री भएका छन् । गत साता १ सय १५ कम्पनीको कारोबार भएको छ । जसअनुसार ६ हजार ७ सय २२ कारोबारबाट ५३ करोड ९ लाख ९० हजार रुपियाँ बराबरका १५ लाख ५१ हजार २ सय ४९ कित्ता सेयर खरिद–बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ६ दशमलव ५८ प्रतिशतले ह्रास भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीहरूको मात्र २७ करोड ७१ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ५५.८६ प्रतिशत हो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १ दशमलव ८३ अंकले ह्रास भई १ सय २४ दशमलव ४१ अंकमा आइपुगेको छ । गत साता कारोबार रकम ७ करोड ९९ लाख रुपियाँका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा छ । त्यसैगरी, कारोबार भएको सेयर २ लाख १६ हजार २ सय ३८ कित्ताका आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्याका आधारमा ५ सय १४ वटाका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा छ ।
साताको उत्कृष्ट पाँच कम्पनीमा नेपाल इन्भेस्टमेन्ट बंैक, नेपाल बंगलादेश बंैक, बंैक अफ काठमान्डु, ग्लोबल आइएमई बैंक र एभरेस्ट बैंक रहेका छन् । गत साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार हुन नसकेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया