नाटक फिभर

राजनीतिक छिनाझप्टीको तापले तातेको राजधानी काठमाडौँ मौसमी रूपमा शितांग बन्दै छ । जब साँझ चिसिँदै जान्छ, भब्य राजमहलका दिवारभित्र जम्ने सत्तागठन र पुनर्गठनका अपारदर्शी खुस््खुस्ले सिंगै देशलाई तताएको छ । राजनीतिको असली नाटकको तातो र मण्डला थिएटरमा दर्शकका जोशको तातोको भेद सायद जीवनको भेद हो । मानिस नाटक हेर्न बस्छन्, सुस्केरा हाल्छन्, थपडी बजाउँछन्, दु:खी बन्छन्, चर्को आवाजमा हाँस्छन्, सिठी बजाउँछन्, कुनैबेला निन्याउरो बन्छन् । के जीवनको उल्लास र बेदना पनि यस्तै क्षणिक हुन्छ ? रियल लाइफमा भोगिरहेको नाटकले दिएको पीडा भुल्न केहीयताका साँझ कामयावी बन्दै छन् र तिनीहरूबाटै दर्शक आफ्ना जीवन हेरिरहेछन् ।
कोही मौन भएर ध्यान मुद्रामा बस्छन् मानौँ ती बोधिसत्व हुन् । साँझ नाटक सकिएपछि मानिसका विभिन्न मुद्रा र उनीहरूका आश्चर्य पढ्न सकिन्छ नाटकघरमा । यी सबै जीवनका विभिन्नता हुन् । भित्र नाट्यघरमा साधनारत नाट्यशिल्पीहरू देख्दा लाग्छ, उनीहरू तीव्ररूपले विम्बहरूको खोजी गर्दै छन् । ती अभिनय गरिरहेका हुन्छन्, उत्तेजित हुन्छन्, रुन्छन्, कराउँछन्, हाँस्छन् र सेलाउँछन् । बिहान–बेलुकाको कुहिरोभित्र लुक्ने आरोहण गुरुकूलको महोत्सवमा प्रत्येक दिन निम्न वर्ग र उच्च वर्गसम्मका दर्शकको बाक्लो उपस्थिती देखिएको छ ।
काठमाडौंका थुप्रै गल्ली र चोकहरूमा, थुप्रै सरकारी र प्राईभेट कलेजछेउका चिया पसल र किताब पसलहरूमा अनेकन् नित्से, डेरीडा, इब्सेन र फुकोका क्लोन गरिएका जस्ता लाग्ने मान्छेहरू प्रशस्त भेटिन्छन् । उनीहरू चुरोटका लामा सर्को तानिरहेका हुन्छन्, वा लामा कपाल पालेका हुन्छन् र मुखबाट फ्याट्ट–फ्याट्ट बोझील सैद्धान्तिक शब्दहरू फलाकिरहेका हुन्छन् । अंग्रेजी साहित्यका यी ‘विद्वान’हरू बर्षौंदेखि घोकेर कन्ठ पारिएका सैद्धान्तिक घनचक्करमा मख्ख देखिन्छन् । यसपालिको आरोहण गुरुकूलले गरेको ‘काठमाडांै अन्तर्राष्ट्रिय नाटक महोत्सव’मा यस्तै दर्शकहरूको बाहुल्य देखेँ, जो नाटकमा अँग्रेजी बोल्दा गम्भीर भएर सुन्छन्, टाउको हल्लाउँछन् र अन्य भाषाको नाटक हुँदा हाइ काढेर निदाउँछन् अनि बाहिर निस्केर ‘कत्ति राम्रो नाटक’ भन्छन् ।
पत्रकार नारायण वाग्लेले एकठाउँमा लेखेका छन्, ‘राजधानीको पेसेवर समय अर्केस्ट्रा संगीतभन्दा महँगो भइसकेको छ ।’ हो, यहाँ खुसी हुनुपर्ने कुरा के हो भने, अँग्रजीका ‘विद्वान’ महानगरवासी यही ‘पेसेवर समय’को केही अंश नाटकलाई खर्चिन भेला भएका छन् । नाटकघरमा मञ्चन भएका नाटकले जीवनलाई सम्बोधन गर्छन् । हाम्रो जीवनको सुन्दर पक्ष र कुरूप पक्ष खोज्न सघाउँछन् । यो रंगमंच उत्सवमा सहभागी भइरहँदा यी नाटकले सम्बोधन गरेका सांस्कृतिक व्यापारिकरण, उपभोक्तावाद र तिनले जीवनमाथि पारिरहेका प्रभावबारे अनेक विषयमा गम्भीर भएर सोच्न थालँे । केही नाटक हेरिसकेपछि संस्कृति भनेको शक्ति हुनेहरूले निर्माण गरेको सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक प्रपञ्च पो हो कि भन्ने सोचेको थिएँ । रंगमंचमा संस्कृति र मिथकहरू पनि आइरहन्छन्, जीवनसँग जोडिएर र पुनव्र्याख्या भएर ।
मंसिर २२ गतेसम्म चल्ने अतर्राष्ट्रिय महोत्सवमा १४ वटा नाटक देखाइने छ र महोत्सवमा भाग लिन थुप्रै देशहरूबाट नाट्यशिल्पीहरू आएका छन् । महोत्सवमा नेपालबाहेक इरान, थाइल्यान्ड, नर्वे, इस्टोनिया, अमेरिका, रुस, फ्रान्स र भारतका नाटक देखाइने छ । अमेरिकी नाटक नेपाल प्रज्ञा प्रतिष्ठानमा देखाइने छ भने अरू नाटक मन्डला थिएटरमै मञ्चन हुनेछन् । देशको कला, साहित्य र संस्कृतिमा प्रत्यक्ष रूपमा जोडिने यस्ता महोत्सवको यहाँ आयोजना सरकारले गर्नुपर्ने हो । मुल्यहीन राजनीतिको तातो भुङ्ग्रोमा सिर्जना फूल्न सक्दैन । उदार र अनुदार कुनै सरकार होस् कलाप्रति सधैँ निरपेक्ष भएर बस्न चाहन्छ ।
०००
काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सवको चौथो दिन । मन्डला थिएटरमा दिउँसो भीड एक्कासी बढेको छ । भीड पूर्वतिरको ठूलो ढोकाबाट भित्र पसिरहेको छ । तेस्रो दिनसम्म नाटक हेरेका वा नहेरेका दर्शक त्यतातिर गइरहेका छन्, जहाँ अँध्यारो छ र संगीत बजिरहेको छ । स्टेजमा दुईजना केटा–केटी ध्यानमुद्रामा फरक दिशातिर फर्केर बसिरहेका छन् । कार्यक्रमका स्वयंसेवकहरू गलामा झुन्डेको पास प्रदर्शन गर्दै ‘यता बस्नु, उता बस्नु’ भन्दै निर्देशन दिइरहेका छन् ।
भीडका दर्शकहरूमा छन्, नाटकप्रेमि, लेखकदेखि टिनएजर केटाकेटीसम्म । अघिसम्म बाहिरको खुला चौरमा निर्धक्क सिगरेटको धुँवा उडाइरहेकाहरू अहिले नाटक हेर्न हलमा पसेका छन् ।
नाटक सुरु हुँदै छ– ‘मानुषी : अ वुमन अलोन एन्ड अदर्स ।’ ५० वर्षकी मेलाको छोरा आज अमेरिकाबाट पाँच वर्षपछि आफ्नी श्रीमतीसँग घर फिर्दै छ । र, उनी आफ्ना घरका सामानहरूसँग एकदम व्यस्त छिन् । मेला पल्लो कोठाकी युवतीसँग वार्तालापमा व्यस्त हुन्छिन् । मेलाका दुईमध्ये एक छोरा, एक बुहारी र एक छोरी उनीसँग बस्दैनन् । यद्यपि मेलालाई उनकी छोरीले एक दिमागी रूपमा असक्त नातिनी छोडेर गएकी छिन् । मेलालाई लाग्छ, उनलाई उनका पतिले दुनियाँका सबै खुसीबाट वञ्चित राखेका छन् । मेलाको पति उनलाई काम गर्न र यौन सम्पर्क गर्न मात्र प्रयोग गर्छ । उसले आफ्नी श्रीमती अरू कसैसँग गफ गरेको पनि रुचाउँदैन । फ्ल्याटमा भयंकर शून्यता छ । मेला आफ्नो विवाहको दिन सम्झिन्छिन, त्यसै दिन पतिले उनलाई जनावर शैलीमा बलात्कार गरेको थियो । उनले अनेक तनाव झेल्छिन । मेला आफूलाई एक्लो आभाष गर्छिन् र व्याकुल हुन्छिन् । उनलाई लाग्छ, एक्लोपना नै आफ्नो साथी हो । आजको संसारको एक लैंगिक उत्पीडनको बहस भारत कलकत्ताका निर्देशक सन्तनु दासले निर्देशन गरेको यस नाटकले केहिक्षणमै छेडिदिन्छ । राजनीतिक व्यंग्यका लागि अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाएका विवादास्पद नाटककार डारियो फोले लेखेको यस नाटकले पनि निकै ख्याति कमाएको छ ।
नाट्य महोत्सवमा पहिलो दिन राजन खतिवडाको निर्देशनमा मण्डला थिएटरको प्रस्तुति ‘सुनकेशरी’ प्रदर्शन गरिएको थियो । भारतको नाटक ‘जीवित या मृत,’ फ्रान्सको ‘वान्स मोर अपन अ टाईम,’ जर्मनको ‘द ट्रायल अफ ल्युसुलस,’ नर्वेको ‘माइ होम इज इन माई हर्ट’लगायत नाटक प्रदर्शन गरिएको थियो । लेखक ब्रउटन कोवर्नको पुस्तक ‘नेपाली आमा’लाई डेबोरा मेरोलाले रंगमंचका लागि अनुकुलन गरेकी थिइन् । विष्णुमाया गुरुङको ‘जीवनको एकदिन’मा आधारित यो नाटकमा स्वत: गाउँले पात्रहरू, आज पनि पाइने व्यवहारहरू, रीतिरिवाज र विश्वासहरूजस्ता विषय समेटिएको थियो । फ्ल्यासब्याको रूपमा प्रस्तुत यस नाटकमा सय वर्ष पछाडि विष्णुमाया आफू सानी केटी छँदा माइती गाउँमा, भारतमा एक विवाहित युवतीको रूपमा र आफ्नो घर फर्केको घटनाहरूबीच घुम्छन् । मानौँ नाटकको जिन्दगी आज गुरुकुल पनि भोगिरहेछ ।
०००
‘म फ्यान्टासी मन पराउँछु, ह्यारी पोर्टरका पात्रहरूसित तिलस्मी संसारमा पुग्छु…’ सुनील पोखरेल आफ्ना प्रिय फिक्सनल पात्रहरू सम्झँदै थिए । काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सवको माहोललाई किशोरकिशोरीका प्रिय रंगकर्मीले थप तरंगित पार्दै भने, ‘पात्रहरूसँगै लामो र खतरापूर्ण तिलस्मी जन्जाललाई तोडेर बल्ल बल्ल बाहिर निस्कन्छु ।’
प्राय: भेट हुँदा उनी बालकजस्तो चन्चलतापूर्वक ठट्टा गर्छन् । अर्काका लागि सपना बोकेर उकालो लागिरहेका पोखरेल तालु छाम्छन्, आधा कालो र आधा सेतो कपाल सुम्सुम्याउँछन् । हाइस्कुल पढ्दा उनी तालुखुइले हेडसरलाई हेर्दै निकै लोभिन्थे । उनको निधारको कपाल खुइलिएको थियो । सुनीलले सपना सजाउन थाले–हे भगवान् मेरो कपाल पनि त्यस्तै होस् । र, एकदिन उनले त्यही लोभले कपाल खौरिदिए । अहिले सम्झेर हाँस्छन, ‘अब तालु खुइलिन लाग्दाचाहिँ त्यो ठीक होइन भन्ने लाग्न थालेको छ ।’ नाटकबाहिरै उम्रिएका जीवनका ज्ञानहरू पलाउँदै विस्थापित हुँदै जान्छन् ।
विविधताले भरपुर छ जीवन । उल्लास । भागदौड । जीवनको इन्द्रधनुषी छटामा हरेक किसिमको रंग छ । सपनाको चाहिँ हुन्छ कि हुँदैन कुनै रंग ? मध्यरातको प्रहरपछि देखिने सपना ब्ल्याक एन्ड ह्वाइट हुन्छन् र यर्थाथमा देखिने सपनाचाहिँ रंगीन ।
फूलेको दाह्री, फूलेकै कपालधारी सुनील पोखरेलले केही समयअघिको भेटमा भनेका थिए, ‘बानेश्वरको डाँडो छाड्नुपरेपछि म निकै फ्रस्ट्रेसन भएको थिएँ, हामीले देखेका सबै सपना मर्दै छन् भन्ने पलपल लागिरहन्थ्यो । तर, हामीले सपनालाई मर्नबाट जोगायौँ ।’ आंशिक सपना पूरा भएपछिको गुरुकूलको पुरानो थातथलो छाड्नुपरेपछि उनी जति निरास थिए, अहिले उति छैनन् । उनको सपनाको सम्बोधन भएको छ–सरकारले भृकुटी मण्डपमा गुरुकूललाई ५ रोपनी जग्गा २५ वर्षको लागि भाडामा दिएको छ । र, पोखरेलका अनुसार, तीन महिनापछि नै आफ्नै थिएटरमा दर्शकले नाटक हेर्न पाउनेछन । यो लोकेसनका लागि आरोहण गुरुकूललाई बधाई †

प्रतिक्रिया