गुरुको परीक्षा

तिमी अहिले संसारमा छौ । म ईश्वरसित प्रार्थना गर्दछु– तिमीलाई ठक्कर लागोस्, जसले गर्दा यो निन्द्रावस्थाबाट तिमी बिउँझिन सक । तिमीलाई त्यतिबेला मात्रै ठक्कर लाग्छ । जब, अत्यन्त प्रिय बस्तु तिमीबाट टाढा हुन पुग्दछ, नष्ट हुन जान्छ । अनि तिमीलाई सत्यताको आभास हुन्छ ।
यसअघि मैले बुद्धको जीवनको एउटा घटना उल्लेख गरेँ । जब उनी पहिलो पल्ट महलबाट बाहिर गए, संसारमा लिप्त थिए, तर फर्किंदा जगतमा थिए । अर्को शब्दमा भन्ने हो भने पहिला उनी स्वप्नमा मायाबाट अभिभूत भएर बाँचिरहेका थिए तर पछि बिउँझिन पुगे । उनी यो पछिल्लो अवस्थामा त्यतिबेला मात्रै पुगे जुनबेला उनलाई ठक्कर लाग्न गयो । बीस वर्षसम्म उनी निन्द्रावस्थामा थिए । जब ठक्कर लाग्यो अनि उनलाई आफू मृगमारिचिकाको पछाडि दौडिरहेको महसुस भयो । त्यसै क्षण उनले आफ्नो पुत्र, पत्नी एवं सम्पूर्ण भौतिक सुख परित्याग गरे । उनको साथमा पनि सुन्दर पत्नी, अद्वितीय धन–वैभव, मान–सम्मान् सबथोक थियो । एउटा व्यक्तिलाई जे–जे इच्छा हुन्छ त्यो सबथोक उनीसित थियो । तर, सत्य उनका सामु प्रकट हुने बित्तिकै उनले सबथोक त्यागिदिए । उनलाई ठक्कर लाग्यो, निन्द्राबाट बिउँझे तर, तिमीलाई जीवनमा अहिलेसम्म ठक्कर लागेकै छैन ।
तिमीले देखेकै होला– झ्याल ढोका धेरैवर्षसम्म खोलिएन भने त्यसमा खिया लागेर जाम हुन्छ । जति बल लगाए पनि त्यसलाई खोल्न सकिँदैन । यस्तो अवस्थामा एक जना अत्यन्तै बलियो व्यक्तिको आवश्यकता पर्दछ, जसले झ्याल–ढोकामा लगातार हिर्काउन सकोस् जब विस्तार–विस्तार खिया हट्दै जान्छ अनि, ढोका खुल्छ । त्यसपछि हावाको शीतल एवं सुगन्धित झोँका भित्र प्रवेश गर्न पाउँछ ।
तिमीहरूले आफ्नो आत्माको द्वारलाई विगत १५/२० वर्षदेखि बन्द गरेर राख्यौ । आज यसमा खिया लाग्न गयो । यसमाथि गुरुले निरन्तर पाद–प्रहार गरिरहनुपर्दछ । उनलाई थाहा छ– ढोका एकदम मजबुत छ, त्यसलाई खोल्दा खुट्टामा चोटपटक लाग्न सक्दछ । उनलाई थाहा छ, यो बडो मुस्किलले मात्र खुल्छ…. तैपनि उनी सफल भए भने….. उनको …. मेरो शौभाग्य नै हुनेछ ।
थाहा छैन– आत्माको द्वार खोलेपछि तिमी आफू स्वयं गौरवान्वित अनुभव गर्छौ कि गर्दैनौ । तर, निश्चय नै निन्द्राबाट ब्युँझेपछिको त्यो क्षण गुरुका लागि स्वर्णिम क्षण हुनेछ । किनभने गुरुको जीवनको एक मात्र लक्ष्य आफ्ना शिष्यलाई सत्यसित परिचित गराउनु हो ।
यतिबेला तिमी मायामा आबद्ध छौ, तिमीले जब सपना देख्छौ, खुबै खुसी हुन्छौ । यदि, गुरुले तिमीलाई भने– चिन्ता नगर, आउने समय अत्यन्त अनुकूल छ, तिमीलाई आशिर्वाद दिन्छु….। यस्तो शब्द सुनेपछि तिमी अत्यन्त प्रसन्न हुन्छौ । तिमीले गुरु कहाँ गएर भन्यौ– मेरी पत्नि सिकिस्त विरामी छ । स्वभाविकै हो गुरुले भन्नेछन्– चिन्ता गर्ने कुरा छैन । चाँडै नै बिसेक हुन्छ । मर्छे भनेर उनले भन्न सक्दैनन् । किनभने तिमी के सुन्न चाहान्छौ त्यो उनलाई थाहा छ । वास्तवमा गुरुले तिमीलाई झड्का दिएर गुढ निन्द्रबाट ब्युँझाउन सक्छन् । तर, उनले यसो गरे भने तिमी उनीकहाँ जानै छोड्ने छौ । यी गुरु त बेकारका हुन्, उनी कहाँ गएर कुनै लाभ छैन, कुनै समस्या राख्यो भने पनि विरामी पर्छस् भनिदिन्छन् । यो सत्य हुन पनि सक्दछ– अरू पाँच वर्षसम्म तिमीलाई रोगले छोड्ने छैन । तर, तिमी सत्यको विषपान सहन गर्न सक्नेछैनौ । गुरुले जब सत्य कुरा भन्छन् । तिमीले भन्नेछौ– गुरुजी यस्तो अशुभ वचन नबोल्नुहोस् । तिमी उनकहाँ कहिल्यै फर्केर जाने छैनौ । तसर्थ, गुरुले विवश भएर भन्नु पर्छ– ‘सब ठीकठाक हुन्छ ।’
उनले यस्ता शब्द यसकारण बोल्नु पर्दछ कि तिमीलाई भ्रममा बस्ने आदत बसिसकेको छ । तिमीसँग सत्यलाई झेल्ने क्षमता छैन, तिमी ठक्करको चोटलाई सहन सक्दैनौ । केवल त्यस्तो व्यक्ति जसले हर संघर्ष, हर स्थिति सहर्ष स्वीकार गर्दछ, जो दृढ संकल्पयुक्त हुन्छ, उसले ठक्करको चोटलाई झेल्न सक्दछ । यस्तो व्यक्ति हर प्रकारका कठिनाई झेल्न सक्दछ, अरूको जीवन परिवर्तन गर्ने क्षमता राख्दछ, समस्त ब्रह्माण्ड उसका पैताला मुनि रहन्छ, राजाले पनि यस्ता सन्यासीका सामु शिर झुकाउँछन् । राजा हर इच्छा पूरा गर्न तयार भए पनि सन्यासीले उत्तर दिनेछन्– छोड † मेरो खुट्टा नसमाउ । तिमी मलाई के दिन सक्छौ †
केवल एउटा वास्तविक सन्यासी, योगीले मात्रै यस्तो भन्न सक्छन् तिमीले होइन । किनभने तिमी अहिले यसका लागि योग्य छैनौ । केवल त्यस्तो व्यक्ति, जसले आफ्नो आत्मा चिनिसकेका छन्, जसले आफ्नो तेस्रो नेत्र जाग्रत गरिसकेका छन्, उनी नै समस्त ऐश्वर्य त्याग गरेर पनि पूर्ण आनन्दमय हुन सक्छन् ।

अनुवाद: शिव ढकाल

तन्त्र–मन्त्र–यन्त्र विज्ञान पत्रिकाबाट

प्रतिक्रिया