पानीढलोको बाटो

४ कात्तिक ०६९, गोधूलि साँझ कटेपछि मात्रै राँके बजार पुगियो । राँके : मेची राजमार्ग भएर पाँचथर प्रवेशद्वार अर्थात इलामको अन्तिम बिसाउनी । पाँचथर र इलामको सीमावर्ती बजार । बासको टुंगो लगाएर दुई/चार पाइला निस्कँदा–ननिस्कँदै अँध्यारोले झपक्क छोप्यो । मानौँ अँध्यारो पनि हामी (पुष्पा, काइँला दाजु अशोक र म)लाई कुरेर बसेको रहेछ । खासगरी दसैँको ‘घम्साघम्सी’ले गाडी समयमा नपाउँदा इलाम सदरमुकामको ‘फेरिएको अनुहार’ नजर गर्ने इच्छा माया मारेर एकैचोटि राँके पुग्नुपर्‍यो । इलाममा बिताएका मध्य–बैँसका दिनहरू ताजा बनाउँला भनेको थिएँ तर परिस्थिति अनुकूल बनेन । झापाको बिर्तामोडमै छाड्नुपर्‍यो ‘बैँसालु रहरहरू’लाई ।
राँकेको जाडो कम चर्चित छैन । यसपटक पनि जाडो चर्चालायक अवस्थामै पुगेको रहेछ । तराईको रहलपहल गर्मी खाएर पहाड उक्लँदा यस्तै आभास भइरहेको थियो । केसी होटलमा दोस्रोपटक थान्को लागियो । करिब १२ वर्षअघि पहिलोपटक यही होटलमा थान्को लाग्नुपरेको थियो । खाना प्लेट सिस्टमको । फुल प्लेट खाँदा थपन पाइने, हाफ प्लेट खाए जत्तिको तत्तिमै चित्त बुझाउनुपर्ने । मैले चाहिँ फुल प्लेट नै थपीथपी खाइदिएँ बडो स्वादसँग । खाना खाने बेला इलामका कांग्रेस नेता भेषराज आचार्यसँग भेटको संयोग जुर्‍यो । उनी परिवारका टोलीसहित पाथिभरा देवीको दर्शन गरेर फर्कंदै गरेका–बेलुकाको खाना खान होटलमा आएका रहेछन् ।
भोलि (फूलपातीको दिन) घर पुग्नु छ । लामो समयपछि घर पुग्नुको हतारो छ मनभरि । होटलवालासँग रविसम्मको गाडीको कुरा गर्‍यौँ । उनले खाली सिट पाउन मुस्किल हुने बताए । त्यही पनि गाडी मध्याह्नपछि मात्र जाने । आधा दिन फोकटमा बित्ने भो † दमकदेखि उकालो लाग्न छाडेर घुमघामका लागि ‘फेरो’ लगाउन हिँडेको हामी अबचाहिँ पर्‍यौँ फसादमा (खासगरी म) । त्यसो त गाडी समस्याले बिर्तामोडबाटै झन्डै
फर्कनुपरेको थियो । राँकेबाट त बित्यासै पर्ने भयो । हिँड्न अल्छी गर्ने मलाई भने पिरलो । हुन त इलाम सदरमुकाममा कलेज अध्ययनका लागि आउजाउ गरेको यही बाटो हो । सुरुमा इभाङ–गजुरमुखी–मंगलबारेको बाटो हिँडिन्थ्यो । त्यो बाटो ‘पच्याङ’ लागेपछि रवि–राँकेको डाँडैडाँडा हिँडियो । डाँडैडाँडाको बाटो अर्थात् इलाम र पाँचथरको पानीढलो । यही बाटो हो ‘सपनाको भारी’ बोकेर हिँडेको–आजैजस्तो लाग्छ । तर, ‘जस्तो र यस्तो’ समय कहाँ मिल्छ र †
यही बाटो भएर राँके–रवि–चिसापानी पञ्चमी–६ नम्बर बुधबारे–भेडेटार हुँदै धरान जोड्ने मोटरबाटो निर्माणाधीन छ । गत वर्षायाममा त दमकदेखि, धरान–भेडेटार–चिसापानी पञ्चमी हुँदै रविसम्म गाडी पनि चलेछ । सुरुमा बिर्तामोडदेखि राँके हुँदै रविसम्म गाडी चल्ने गरेको थियो । त्यस बेला हाम्रो घरतिरको बाटो भएर गाडी चल्ला भन्ने मेरो दस मनमा एक मनले पनि चिताएको थिएन । तर, नचिताएकै भयो । ०५८–५९ देखि दमक–चिसापानी–रवि (फाल्गुनन्द मार्ग) मोटरबाटो खुलिछाड्यो । त्यसपछि भने राँकेको बाटोमा गाडी कम भई बढीजसो दमकबाट गुड्छन् । वर्षायामसँगै रतुवा खोलाका कारण फाल्गुनन्द मार्ग अवरुद्ध हुँदा दमक–लेटाङ र दमक–धरान–भेडेटारको बाटो प्रयोगमा आउन थालेको छ ।
१३ घन्टाको यात्रा
राँकेबाट हामी झिसमिसेमै बाटो लाग्यौँ । केही पर पुगेपछि एक जना साथी थपिए । चिनेजस्तो लाग्ने तर चिनिहाल्न पनि नसकिएको । देवेन्द्र रेग्मीसँग नयाँ चिनाजानी त होइन सम्बन्ध
नवीकरण पो भएछ । म भुलक्कड, सायद उनी पनि । मोटरबाटो निर्माणमा उनी ‘सक्रिय’ रहेछन् । उनैले राँकेदेखि भेडेटारसम्म १०२ किलोमिटरको दुरी रहेको जानकारी गराए । मोटरबाटोको स्थायित्वको नाममा भने ग्राभेलिङसम्म हुन नसकेको रहेछ । १० वर्षपछि हिँड्दा त्यस्तै देखेँ । बजेट खोजखाज पार्दै बाटो मर्मत गरिँदै आएको रेग्मीको भनाइ थियो । राँकेदेखि घुर्बिसे पञ्चमीसम्म बिजुली भने बिस्तार भएको देखियो । नजरहरू माथि हिमालदेखि पाखापखेरातिर डुलाउँदै गफगाफसँगै देउराली, पुरानो पञ्चमी, घुर्बिसे पञ्चमी कटियो । खुट्टाले त दु:ख दिन थालिहाल्यो । सुस्तसुस्त भए पनि उत्तरे, फुङसेन हुँदै सप्तमी बजार पुगेर बिहानको खाना खायौँ । लगभग मध्याह्न १२ बजेको हुँदो हो । खुट्टा दुखाइ कम होला भनेर चकलेट किनेर खाएँ । ‘मनको शान्ति’मात्र भयो, खुट्टा दुखाइ त झन्झन् बढ्यो । २ बजेतिर रवि पुग्यौँ । रेग्मी साथीको यात्रा त्यहीसम्म भयो ।
बजारको सुरुवाततिरै मीना दिदी (छिमेकी काकाकी छोरी)को घर छ – हिँड्न कष्टकर हुन थालेकाले बाइकको बन्दोबस्त होला कि भनेर छिर्‍यौँ । तर, नानीहरूमात्र थिए । हिँडाइले ज्यानलाई सास्ती त हुने नै भयो ।
राँकेबाट हिँडेका गाडीहरू हामी चोकबजारमा थकाइ मार्दा आइपुगे । गाडीको सोधीखोजी गर्दा त रिजर्भ २५ सयमा भए जाने जवाफ पाइयो । २५ सय खर्चनुभन्दा त तानिँदै–तानिँदै भए पनि हिँड्नु बेस लाग्यो । एक मनले गाडीमै जाऊँ कि भन्ने पनि भयो तर बल गर्दा बेलुका भए पनि कसो नपुगिएला भन्ने सोचेर त्यताको झन्झटमा फसिएन ।
एउटा पर्देसीले भैँm रवि बजार छिचोल्दै गर्दा मैले मध्य–किशोरावस्था बिताएका दिनको झल्को आयो । रविको दुर्गा माविमा कक्षा ८ देखि एसएलसीसम्म अध्ययन गर्दाका विगतलाई निकै समयपछि आलो बनाउँदै फेरि अर्को डोब छाड्दै थिएँ । विगतमा यस्तो हतारो थिएन, न थियो हिँड्नुको थकान, थिए त किशोर वयका चञ्चलता, केही थान सप्तरंगी सपना ।
देउराली नाघेपछि त खुट्टा लतारिनै थालेछ, हुलाक झर्दा केही अधबैँसे महिला मलाई देखेर हाँस्दै थिए । त्यहाँ पनि चकलेटको डोज थपिदिएँ । एप्माटाङ कटेपछिको पेटारेको उकालोमा द्वन्द्वकालमा खाम्नुवामा माओवादी लडाकुले ‘बयान’ लिएको घटनाको सम्झनाले नराम्ररी चिमोट्यो एकपटक । जति बेला रातको समयमा हिँड्न डर लागेर खाम्नुवातिर झर्दा माओवादी लडाकुले झन्डै ‘हिँडाएका’ । उनीहरूलाई मचाहिँ सुराकी हो भन्ने आशंका परेछ, दुई/चार घन्टा केरकार पारे, भौतिक नभए पनि मानसिक यातना खप्नुपरेको थियो । यसपटक त हिँड्न नसके पनि डर मान्नुपर्ने अवस्था थिएन । पाङतुवा पुग्दा अँध्यारोले छोप्न थाल्यो । अक्करबाट पानीढलोको बाटो छाडेपछि ५/१० मिनेटजतिको बाँकी दुरी मोबाइल बालेर पूरा गर्‍यौँ । घरको सँघार टेक्दा एकछिन त साह्रा थकान बिर्सिएको पत्तै भएन ।
रविको बढ्दो भल्युम
डाँडैडाँडाको बाटोमा लामो समयदेखि लाग्दै आएका हाटबजार मोटरबाटो विस्तारसँगै व्यापारिक केन्द्रमा रूपान्तरण हुँदै छन् । घुर्बिसे पञ्चमी, सप्तमी, चिसापानी पञ्चमी, रविलगायत केही व्यापारिक केन्द्रकै रूपमा स्थापित छन् । त्यसमा पनि रविले भने अरूभन्दा आकार बढाउँदै लगेको देखियो । रवि सहरीकरणतर्फ उन्मुख छ । ०३४ सालतिर इलामको लुम्दे गाविसको वडा नम्बर ८ लाई रवि गाविसमा गाभिएको थियो । यसबारे खोज गरेका पत्रकार गणेश साम्पाङका अनुसार तत्कालीन मन्त्री पद्मसुन्दर लावतीले एउटा वडा ‘खोसे’पछि लुम्दे नेपालकै एकमात्र अपांग गाविसका रूपमा छ । पानीढलो पनि बजारमा होइन, इलामतिरको गाउँमा पर्छ । खासगरी, धार्मिक क्षेत्रबाट चिनिएको रवि शैक्षिक दृष्टिले पनि अगाडि छ । भाषाशास्त्री तथा पूर्वराजदूत प्रा.डा. नोबलकिशोर राईको जन्मथलो, पाँचथरको लालीखर्कमा जन्मेका स्वामी प्रपन्नाचार्यको ‘कर्मथलो’, इलामको इभाङ–चुक्चिनाम्बामा जन्मिएका राष्ट्रिय विभूतिलगायत थुप्रै विद्वान् तथा साधुसन्तको सुनामसँग जोडिएको रविमा एउटा कलेज सञ्चालनमा रहेछ ।

प्रतिक्रिया