गंगाजमुनाको जात्रा

‘ह्या कसले भन्यो हात तानेर लान्छ । जो पायो त्यहीसँग जान्छौँ र ? मनपरेको मान्छेसँग गइन्छ । नत्र खै कसले लैजान सक्छ र तानेर ?’ चुलोमा आगो फुक्दै मस्कीँदै बोल्दै थिइन् फुलखर्क गाविस–३ की भट्टराई आमाकी छोरी सानु ।
धादिङ जिल्लाबाट ५८ किलोमिटर अग्लो चुचुरोमा रहेको गंगाजमुनाको जात्रामा जाँदै गर्दा फुलखर्क गाविस–३ मा रहेको खाना खाने साहुनीकी छोरी केही युवालाई पछ्याउँदै थिइन् । जात्राको रातमा केटाले मनपरेको केटीलाई हात तानेर लैजाने कुरा सुन्दा हामीले अचम्म मान्दै जिब्रो टोक्यौँ । गहिरिएर सोध्दा त दुवैले एकअर्कालाई मनपराए यो रात केटोले आफ्नी जोडीको हातै तानेर भगाउनैपर्ने प्रचलन गुरूङ र तामाङ जातीमा रहेछ । यो जात्रा प्रत्येक वर्ष ठूलो एकादशीको पहिलो दिन लाग्छ । धादिङको अन्तिम गाविस फुलखर्क हुँदै जात्राका लागि गणेश पर्वतमा पुगिन्छ ।
गाउँमा खडेरी पर्दा भगवान्को प्रतिक मानिने गंगाजमुनासँग गाँउलेहरू ढ्याङ्ग्रो बजाउँदै झाक्रीसहित पानी माग्न पर्वतमा पुग्छन् । जतिजति ढ्याङ्ग्रो बजायो उतिउति पानी आउने कुरा बताउँछन् स्थानीय रामेश्वर अधिकारी । गाँउलेहरू यस पर्वतमा पुगेपछि ‘हरे हरा हरे हरा पानी दे’ भन्दै पुकार्छन् । गाउँलेको पुकाराबाट प्रसन्न भएपछि गंगाजमुनाले वर्षा गरिदिने विश्वास रहेको मंगल गुरूङ बताउँछन् । यहाँ आएर पुकारेपछि मनोकांक्षा पूरा हुने किंवदन्ती छ । आफूले चिताएको पुगोस् भनेर चिनी गुरूङ एक दिन हिँडेरै भए पनि परेवाको जोडी लिएर भाकल बुझाउन आइन् ।
यसलाई अहिले गणेश पर्वतसमेत भन्ने गरिन्छ । त्यहाँसम्म पुग्ने बाटोमै ‘स्वास्नीकोट’ भन्ने ठाउँ छ । जात्रामा एकजना युवाले मनपराएको केटीलाई हात तानेर लैजाने क्रममा विवाहित महिलालाई लगेको र जात्रामा केही गर्न नसकेपछि सो महिलाको श्रीमान्ले जात्राभन्दा केही पर आएर युवकलाई कुटेका कारण त्यसको नाम स्वास्नीकोट गाउँ रहेको कुरा धादिङनिवासी रिपुले सुनाए ।
गंगाजमुनाको स्वरूप मानेर जात्रामा एक जोडी जुम्ल्याहा बहिनीलाई तयार गरिएको थियो । धार्मिक ग्रन्थअनुसार द्वापर युगमा लक्ष्मण मुर्छा परेको बेला रामले आफ्ना भक्त हनुमानलाई संजीवनी बुटी मगाउँदा उनले पाएनन् । त्यसपछि हनुमानले पहाडै उचाल्ने क्रममा चिरा परेको अंश छुटेको ठाँउमा गंगाजमुना पर्वत रहेर झरना बनेको कथन रहेको ७२ वर्षीय पुरोहित भूदत्त लामिछानेले सुनाए ।
ढ्याङ्ग्रो, बिगुल र फूलपातीसहित पर्वतमा पुगेपछि गणेश पूजा गरिन्छ र यसको भीरमा पूजा गरी पानी माग्ने चलन छ । पर्वतमा कुकुरधारा पनि छ । यहाँ नुहाए छाला रोग र कुकुरले टोकेको भए पनि निको हुने विश्वास छ ।

प्रतिक्रिया