‘एक्सन’ र ‘कट’ भन्दा सातो जान्थ्यो

०५८ तिर होला, मैले भर्खर–भर्खर मात्र एसएलसी पास गरेकी थिएँ । म त्यतिबेला कहिलेकाहिँ मात्र चलचित्र हेर्थें । नेपाली चलचित्र मेरो रुचिको विषय त थियो तर अभिनय गर्नेप्रति भने मेरो सोचाइ थिएन । स्कुलमा साथीहरूसँग चलचित्र हेरेको र चलचित्रमा कलाकारले निर्वाह गरेको भुमिकाबारे कुरा हुन्थ्यो । तर, चलचित्रमा अभिनय गर्ने विषयमा भने कहिल्यै कुरा उठेन, न त अभिनय गर्नुपर्छ भनेर साथीहरूले नै कहिल्यै कुरा उठाएका थिए । चलचित्र हेरेर त्यतिबेला गफको विषय बने पनि अभिनयप्रति भने सोचाइ कहिले पनि गएको थिएन ।
परिवारमा त चलचित्रको कुरै हु्न्थेन । त्यसैले, परिवारबाट अभिनयका विषयमा कुरो आउने सवालै भएन । यस्तैमा डा. भोला रिजालसँग हाम्रो पारिवारिक भेटघाट भएको थियो । त्यही भेटघाटमा रिजाल अंकलले चलचित्रमा अभिनय गर्ने हो भनेर मलाई सोध्नुभयो । म अकमक्क परेँ । त्यतिकै उहाँले फेरि मलाई भन्नु भयो–
‘के सोचेको ? चलचित्रमा इन्ट्ेरस्ट भए म खेलाइदिन्छु ।’ उहाँले यतिभन्दा पनि म केही बोलिन ।
त्यतिबेला म परिवारसँग बसेकाले घरमा सल्लाह नगरी हुन्छ भन्नु पनि भएन । त्यो समय उहासँग चलचित्रसम्बन्धी धेरै कुरा पनि भयो । उहाले सोच्नका लागि मलाई केही दिनको समय दिनुभयो । घरमा आएपछि भोला अंकलको कुरा मनमा खेलिरह्यो । यसै विषयमा घरका सदस्यसँग छलफल गरेँ । करिब आठ–दस दिन परिवारमा पनि चलचित्रबारेमा धेरै कुरा भयो भने परिवारसँगै बसेर भोला अंकलको उपस्थितिमा पनि दुईपटक कुरा भयो । धेरै छलफल र परिवारको सल्लाहले म अभिनय गर्ने निर्णयमा पुगँे ।
अभिनय गर्ने भएपछि भोला अंकलले मलाई चलचित्रका लागि फाइनल पनि गर्नु भयो । चलचित्र थियो ‘अप्सरा’– सिधा–साधा, लप्पनछप्पन नजान्ने टिपिकल गाउँले केटीको भूमिका थियो जसलाई केही निर्णय गर्न पनि दाइलाई सोध्ने स्वभाव थियो । भूमिका जे भए पनि अभिनय पहिलोपटक भएकाले मेरा लागि चुनौती त थियो नै, अर्काे चुनौती थियो गाउँले केटीको भूमिका । सानैदेखि सहरमा बस्ने भएकाले गाउले केटीको रहन–सहन बोलीचालीप्रति अनभिज्ञ नै थिएँ ।
पहिलो दिनको सुटिङ शेषनारयणमा थियो । आमालाई साथीका रूपमा लगेकी थिएँ । अगाडि कहिल्यै सुटिङ नदेखेको मान्छे अभिनय गर्न गएकाले मनमा अनेक कुरा खेल्न थाले । ११ बजे स्पटमा पुगेकी थिएँ । जानेबित्तिकै मेकअप भयो । मेकअप गर्दागर्दै सुटिङ गर्ने कुराले मनमा अनेक कुरा खेल्न थालेका थिए । तर, सुरुमा अरूकै सुटिङ भएकाले दुई बजे मात्र मेरो पालो आयो । अभिनयको पहिलो दिन त्यो पनि त्यतिबेला चर्चामा रहेका कलाकार रमेश उप्रेती र विपना थापासँग ।
चलचित्रमा अभिनय गर्ने कुरा एकातिर मनमा खेलेको थियो भने अर्कातिर निर्देशक रमेश बूढाथोकी भएकामा निकै डर लागेको थियो । सबैले निर्देशक एकदम कडा हुनुहुन्छ भनेर भन्थे भने मैले त्यो दिन सुटिङ हेर्दा पनि धेरैपटक अन्य कलाकारलाई गाली गरेको आफ्नै आँखाले देखेँ । जे हुन्छ हुन्छ, आखिर गाली खाएर के हुन्छ त, कोही चिनेको छैन– यही सोचेर म अभिनयका लागि तयार भएँ । जब क्यामराको अगाडि परेँ, मलाई बोल्ने सम्वाद सबै दिएर सम्झाइयो पनि । सबै ‘रेडी’ भएपछि निर्देशक बूढाथोकीले एक्सन के भनेका थिए, मलाई डर लाग्यो । भित्रभित्र काम्न थालेछु । पहिलो टेक बिग्रियो । निर्देशकले कट भनेपछि झन् सातो उड्यो । तर, निर्देशकले मलाई नयाँ भएकाले होला, सम्झाएर अभिनय गराउनुभयो ।
पहिलो चलचित्र हो । त्यतिबेला के डायलग थियो भन्ने याद छैन । अभिनय गर्दा तीन–चार ‘टेक’ खाइसकेको थिएँ । यसरी बिग्रिएपछि
चारैतिरबाट मलाई कसैले केही भनेका छन् कि भनेर हेर्न थालेँ । तर, चिनेका कोही नदेखेर ‘बोर फिल’ भने भएन । मम्मी अगाडि भएकाले राम्रो गर्न नसकेकाले होला भन्ने लागेर मम्मीलाई केहीबेर बाहिर पठाएँ । त्यसपछिको एक दुई टेकमा मेरो सट ओ के भयो । तापनि त्यो सुटिङमा म कति डराएकी थिएँ भने निर्देशकले सट ओकेभन्दा पनि मेरो सातो जान्थ्यो ।
पहिलोपटक अभिनय गरेकाले मैले ड्ेरसमा खासै ध्यान दिएकी थिइनँ । साधारण कुर्तासुरुवाल लगाएकी थिएँ । साधारण ड्रेसमै चलचित्र सकियो । चलचित्र प्रर्दशनमा आउँदा निर्माण पक्षले मलाई नै बढी पब्लिसिटीमा ल्यायो । चलचित्रको पोस्टरमा पनि मेरो सिंगल फोटो राखिएको थियो । मैले कहिले परिवारसँग त कहिले साथीसँग, अनि कहिले कोसँग गरेर चलचित्र छ/सातपटक हेरेँ ।
चलचित्रको प्रचारको सिलसिलमा म मिडियामा पनि छाउन थालेँ । जताततै मेरो चर्चा भयो । साथीभाइ र चिनेजानेका सबैबाट बधाइ आउन थाल्यो । धेरै चलचित्रका अफर पनि आउन थाले । सबैतिरबाट तारिफ र प्रशंसा पाएकाले अभिनयको सिलसिलामा निर्देशकको गाली खाएको सबै बिर्सिएँ । तर, पहिले भनेको पहिलै हुँदो रहेछ । अहिले पनि म ती दिन सम्झँदा अझै झस्कन्छु । अझै निर्देशक रमेश बूढाथोकीलाई दख्नेबित्तिकै पहिलो चलचित्रको डर याद आउँछ ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया