राष्ट्रपतिका सम्बन्धमा पार्टीको धारणा माग

काठमाडौं, १२ मंसिर । राष्ट्रपतिको कदमलाई लिएर चिसोपना बढिरहेको समाचार प्रकाशित भईरहेका बेला प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नै दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् ।
लाजिम्पाटस्थित निवासमा विहानै पुगेका भट्टराई र अध्यक्ष दाहालबीच मुलुकको पछिल्लो अवस्था र सहमतीय सरकार बनाउन राष्ट्रपतिले गरेको आह्वानका बारेमा कुराकानी भएको हो । प्रधानमन्त्री भट्टराई राष्ट्रपतिको आह्वनप्रति असन्तुष्ट छन् ।
राष्ट्रपतिको आह्वानको बचाउँ गर्दै आएका अध्यक्ष दाहालसँग प्रधानमन्त्री भट्टराईले पार्टीको आधिकारीक धारणा समेत माग गरेको स्रोतले जनाएको छ ।
जवाफमा अध्यक्ष दाहालले राष्ट्रपतिको शक्तिलिने कुनै योजना नरहेको भन्दै दलहरुका बीच सहमतिको प्रयास गर्ने आश्वासन दिए ।
राष्ट्रपति डा.यादव र प्रधानमन्त्री एवं दाहाल र प्रधानमन्त्रीबीच केही दुरी बढेको भन्ने समाचार सार्वजनिक भईरहँदा दाहाल र भट्टराईबीच भेट भएको छ ।

प्रतिक्रिया