जाजरकोट–डोल्पा सडक निर्माण कार्य तीव्र

जाजरकोट, १२ मंसिर । नेपाली सेनाले जाजरकोट–डोल्पा सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । दुई वर्षभित्र डोल्पा सदरमुकाम दुनैमा सडक पुर्‍याउने लक्ष्यका साथ सेनाले तीन जिल्लाबाट एकैसाथ सडकको काम अघि बढाएको हो ।
सरकारी लक्ष्यअनुसार डोल्पा सदरमुकाममा सडक पुर्‍याउन चट्टान फोड्ने काममा नेपाली सेना सक्रिय छ । सेनाले विभिन्न चार ठाउँमा सुरक्षा तथा बेस क्याम्प स्थापना गरेर जाजरकोट, रुकुम, डोल्पाका दुई दर्जन स्थानबाट एकैसाथ निर्माण कार्य अघि बढाएको बताएको छ । एक सय १६ किलोमिटर लम्बाइको यो सडकमा ८० किलोमिटर कडा चट्टान फोड्नु अवस्था रहेको सडक निर्माण कार्यदलका प्रमुख, सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए । सेनाले सडकको ५५ किलोमिटर कच्ची सकेर अहिले २५ किलोमिटर निर्माण जारी राखेको छ ।
‘जाजरकोटको मनमै, विफेगैरा, रोली, दारिम, गुनीभिर, मैदेमालुवा, तल्लुलगाएत दर्जन बढी चट्टानको कटान गरी सडक निर्माण गरिएको छ,’ कार्यदल प्रमुख पहाडीले भने, ‘तर स्यालसेगैँडा, चुगाड, त्रिपुराकोट, फूलपानी, धाउनेजस्ता कडा चट्टानमा काम नै सुरु भएको छैन ।’ एउटा चट्टानको लम्बाइ तीन सय मिटरदेखि दस किलोमिटरसम्म रहेकाले सडक निर्माण गर्न ठूलो चुनौती भएको नेपाली सेनाले बताएको छ ।
आर्थिक वर्ष ०६९/७० मा डोल्पा सदरमुकाम दुनै पुर्‍याउने सरकारी लक्ष्य भए पनि चट्टानै चट्टानमा सडक निर्माण गर्नु पर्दा ढिलाई हुँदै गएको छ । प्रयाप्त बजेट र स्रोतसाधनले भएसम्म सडकलाई अबको तीन वर्ष दुनै पुर्‍याउने कार्यदलले जनाएको छ  । जाजरकोट–डोल्पा सडक निर्माणमा गत आर्थिक वर्षसम्म मात्र ३४ करोड खर्च भइसकेको छ भने चालु आवमा सरकारले कम्तीमा २० करोड रुपियाँ बजेट विनियोजन गरेमा सडकको जाजरकोट खण्डमा यातायात सञ्चालन गर्न सकिन्छ । तर, सडक विभागले भेरी नदी र केही खोलामा पुल निर्माण नगरे यातायात सञ्चालन गर्न नसकिने निर्माण कार्यदलले बताएको छ । यस सडकखण्डअन्तर्गत भेरी नदीमा पाँच र अन्य स्थान दुई पुल निर्माण गनुपर्ने बाध्यता छ । पुलबाहेक सडकको कच्ची कटान गरी डोल्पा सदरमुकाम दुनै पुर्‍याउन थप ४० करोड आवश्यक पर्ने कार्यदल प्रखुम पहाडीले बताए ।

प्रतिक्रिया