साढे आठ किलो चरेससहित दुई पक्राउ

जाजरकोट, १२ मंसिर । साढे आठ किलोग्राम लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कार्कीगाउँ–४, काँडाबाट स्थानीय २४ वर्षीय तीर्थबहादुर अधिकारी र २७ वर्षीय कर्णबहादुर अधिकारीलाई पक्राउ गरेको हो । उनीहरूलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
विशेष सुराकीका आधारमा तीर्थबहादुर अधिकारीको घरमा छापा मार्दा लागुऔषध फेला परेको डिएसपी रमेश थापाले जानकारी दिए । कर्णबहादुरको घरमा चरेस फेला नपरे पनि तीर्थको बयानका आधारमा अनुसन्धानका लागि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन ०३३ को परिच्छेद १४(घ) मा उल्लिखित कारबाही गरिने डिएसपी थापाले बताए । ऐनको १४(घ) मा दुई किलोग्राम वा त्योभन्दा माथिको चरेस फेला पारेमा एक वर्षदेखि तीन वर्षसम्म कैद, पाँच हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था छ । जिल्लामा अवैध रूपमा लागुऔषधको व्यापार र सेवन भइरहे पनि रंगेहात पक्राउ गरिएको पहिलो हो । पक्राउ परेकामध्ये तीर्थ स्नातक तहमा पढ्दै गरेका विद्यार्थी हुन भने कर्ण स्थानीय विद्यालयमा पिसिएफ कोटाका शिक्षक हुन् ।
ग्रामीण भेगमा ८ हजार रुपियाँ प्रतिकिलोका दरले चरेसको व्यापार हुने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया