अराफातलाई चिहानबाट निकालिने

गाजा : प्यालेस्टाइनी नेता यासिर अराफातलाई समाधिस्त गरिएको करिब दस वर्षपछि उनको शव चिहान खोतलेर निकालिने भएको छ । उनको मृत्युको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान गर्ने उद्देश्यले शव निकालिन लागिएको हो । प्यालेस्टाइनी अधिकारीहरूका अनुसार मंगलबार उनको शव निकालिनेछ ।
दशकौँसम्म प्यालेस्टाइनी जनताको नेतृत्व गरेका अराफातको सन् २००४ मा फ्रान्सको राजधानी पेरिसमा मृत्यु भएको थियो । हृदयघातका कारण उनको मृत्यु भएको मेडिकल रिपोर्ट त्यतिबेला सार्वजनिक भएको थियो । तर, अराफातको परिवारलगायत लाखौँ प्यालेस्टाइनीले विष ख्वाएर उनको हत्या गरिएको आरोप लगाउँदै आएका छन् । यसै विषयमा अनुसन्धान अघि बढाउन उनको शव चिहानबाट निकालिने भएको हो ।
यराफातको मृत्युको वास्तविक कारण पत्ता लगाउन वैज्ञानिकहरूको तीन वटा टोलीले उनको शवमाथि अनुसन्धान गर्नेछ । गत अगस्टमा उनीबारे डकुमेन्ट्री बनाउने क्रममा स्विट्जरल्यान्डका विशेषज्ञले उनका निजी सामाग्रीमा रेडियोधर्मी पोलोनियम–२१० फेला पारेका थिए । यसबाट अराफातको हत्या गरिएको संकेत देखिएपछि फ्रान्सले उनको मृत्युसम्बन्धमा अनुसन्धान आरम्भ गरेको थियो । अनुसन्धानका लागि प्यालेस्टाइनको पश्चिम किनारस्थित रामल्लाहमा रहेको यराफातको चिहान ‘सिल’ गरिएको थियो ।
प्यालेस्टाइनी गुप्तचर एजेन्सीका पूर्व प्रमुख तौफिक तिवारीका अनुसार फ्रान्स, रुस र स्विट्जरल्यान्डका वैज्ञानीकले अराफातको शवमाथि अनुसन्धान गर्नेछन् । शवको नमुना लिएर तीनै देशका वैज्ञानीकले स्वतन्त्र ढंगले छुट्टाछुट्टै अनुसन्धान गर्ने उनले बताए । अनुसन्धानपछि राजकीय सम्मानका साथ शव पुन: समाधिस्थ गरिने जानकरी उनले दिए ।
इजरायलको गुप्तचर एजेन्सीले विष ख्वाएर अराफातको हत्या गराएको विश्वास गर्ने प्यालेस्टाइनीको संख्या धेरै छ । तर, इजरायलले भने यसमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । अराफातले ३५ वर्षसम्म प्यालेस्टाइन लिबरेन अर्गनाइजेसन (पिएलओ)को नेतृत्व गरेका थिए । सन् १९९६ मा उनी प्यालेस्टाइनी प्राधिकरणको पहिलो प्रधानमन्त्रीसमेत बनेका थिए । शान्तिप्रेमी नेताका रूपमा परिचित अराफातले इजरायल र प्यालेस्टाइनबीच शान्ति स्थापना गराउने दिशामा पहल गर्दै गर्दा उनको निधन भएको थियो । (एजेन्सी)

प्रतिक्रिया