काठमाडौं, ११ मंसिर । वैदेशिक रोजगारीका लागि व्यक्तिगत भिसामा बिदेसिनेको संख्या पछिल्लो समय घट्न थालेको छ । व्यक्तिगत रूपमा विदेश जाँदा कामदार बढी ठगिने तथा असुरक्षासमेत बढ्दै गएपछि सरकारले यस्तो भिसामा कडाइ गरेकाले व्यक्तिगत रूपमा बिदेसिनेको संख्यामा कमी आएको हो ।
खासगरी खाडी र मलेसियामा रोजगारीका लागि व्यक्तिगत भिसामा जानेको संख्या गत आर्थिक वर्षसम्म अत्यधिक थियो । तर, सरकारी नियन्त्रणपछि रोजगारीकै लागि भनेर व्यक्तिगत भिसामा जानेको संख्या अहिले न्यून रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । रोजगारीका सिलसिलामा विदेशमा मृत्यु हुने, विभिन्न प्रकृतिका ठगीमा पर्नेको संख्या बढ्दै गएको र यस्तो घटनामा पर्ने अधिकांश कामदार व्यक्तिगत रूपमा गएका फेला परेपछि सरकारले नीतिगत रूपमै कडाइ गरेको हो ।
सरकारले व्यक्तिगत भिसामा जान चाहनेले सम्बन्धित मुलुकको दूतावासको प्रमाणीकरण गर्नु पर्ने, परिवारको स्वीकृतिलगायत प्रावधान ल्याएपछि अहिले यस्तो भिसामा जानेको संख्या घटेको विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले बताए । यसबाट कामदारको सुरक्षा, रोजगारीको सुनिश्चितता तथा ठगी घटनामा समेत कमी आउने भएकाले सरकारले सो व्यवस्था कडाइका साथ लागू गरेको उनको भनाइ छ । सोहीअनुसार अहिले व्यक्तिगत रूपमा बिदेसिनेभन्दा सरकारले लागू गरेको प्रावधान पूरा गरेर प्रमाणीकरण भई जानेको संख्या बढेको भट्टराईले जानकारी दिए ।
विभागका अनुसार व्यक्तिगत भिसामा विदेश जान कडाइ गरेपछि चालु आवको कात्तिक मसान्तसम्म चार हजार नौ सय ८६ जना मात्र व्यक्तिगत रूपमा रोजगारीमा गएका छन । यस्तै, प्रमाणीकरण भएर जानेको संख्या चार हजार दुई सय ३४ जना रहेको विभागले जनाएको छ । चालु आवको कात्तिकमा तीन सय ४४ पुरुष र तीन सय २६ महिला गरी ६ सय ७० जना मात्र व्यक्तिगत रूपमा रोजगारीमा गएका छन । गत आवमा भने यो संख्या निक्कै बढी रहेको विभागले जनाएको छ । यस्तै, असोजमा एक हजार ४७, भदौमा नौ सय ८९ र साउनमा दुई हजार दुई सय ८० जना व्यक्तिगत रूपमा बिदेसिएको विभागले जनाएको छ ।
विभागले चालु आवको असोजदेखि मात्र प्रमाणीकरण भएर वैधानिक रूपमा रोजगारीमा जानेको तथ्यांक राख्न सुरु गरेको हो । जसअनुसार कात्तिकमा मात्र दुई हजार एक सय तीनजना प्रमाणीकरण भएर वैधानिक रूपमा रोजगारीमा गएका छन् । यसमा एक हजार आठ सय ८२ पुरुष र दुई सय २१ महिला कामदार छन् । ती कामदार विभिन्न ४७ मुलुक गएको तथ्यांक विभागले दिएको छ । यस्तै, असोजमा वैधानिक रूपमा विदेश जानेको संख्या दुई हजार एक सय ३१ छ । जसमा एक हजार नौ सय ६५ पुरुष एक सय ६६ महिला कामदार छन् ।
विभागका अनुसार चालु आवको चार महिनामा रोजगारीका लागि बिदेसिनेको संख्या एक लाख २४ हजार तीन सय ९४ जना पुगेको छ । यसमा एक लाख १७ हजार दुई सय ८७ जना पुरुष र सात हजार एक सय सात महिला कामदार छन् ।
कात्तिकमा मात्र रोजगारीका लागि बिदेसिनेको संख्या ३५ हजार छ । विभागका अनुसार कात्तिकमा २५ हजार ६ सय १७ जना नयाँ कामदारले अन्तिम स्वीकृति लिएका छन् भने नौ हजार तीन सय ७३ जना पुन: श्रम स्वीकृति लिएर विदेश गएका हुन् । तर, यो संख्या गत आवका तुलनामा भने ४५ दशमलव ७० प्रतिशतले कमी हो । गत आवको कात्तिकमा ४७ हजार एक सय ७६ जना रोजगारीका लागि बिदेसिएको थिए । सरकारले व्यक्तिगत भिसामा कडाइ गरेकाले नै रोजगारीमा जानेको संख्यासमेत गत आवका तुलनामा कमी आएको जनाएको छ । गत आवको कात्तिक मसान्तसम्म एक लाख ५६ हजार सात सय ३० जना रोजगारीका लागि बिदेसिएका थिए ।
प्रतिक्रिया