जावलाखेल र मनाङ विजयी

काठमाडौ, ११ मंसिर । रेडबुल ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टोलीको कमजोर प्रदर्शन कायमै रहेको छ । नेपाल पुलिस क्लबले हालसम्मकै सबैभन्दा कमजोर सुरुआत गरेको लिगमा एपिएफले पनि सुरुआती दुवै खेलमा पराजयको सामना गरेको छ । अर्को खेमला मनाङ–मस्र्याङ्दी क्लबले सरस्वती क्लबलाई ३–१ ले पराजित गर्‍यो । एपिएफ लगातार दोस्रो पराजयपछि थप दबाबमा परेको छ । पहिलो खेलमा एपिएफ हिमालयन शेर्पासँग ३–० ले पराजित भएको थियो ।
आइतबारको खेलमा एपिएफलाई जित दिलाउने क्रममा अफ्रिकी खेलाडी जोन डुकले ह्याट्रिक गरे । एपिएफ गोलरक्षक समित राजभण्डारीले  अत्यन्त कमजोर प्रदर्शन गरेपछि डुक ह्याट्रिक गर्न सफल भएका हुन् । ३३औँ मिनेटमा मध्यभागबाट आएको बललाई नियन्त्रणमा लिँदै डुकले वान भर्सेस वानमा गोल गरे । ४४औँ मिनेटमा समितले डुकको कमजोर प्रहार पनि बचाउन सकेनन् । त्यसलगत्तै सन्तोष श्रेष्ठको गोलमा एपिएफले खेलमा फर्कने प्रयास गरेको थियो । ४७औँ मिनेटमा डुकले साँँघुरो कोणबाट गरेको प्रहारलाई समितले रोकेनन् । ५१औँ मिनेटमा एपिएफले समितको स्थानमा विक्रम गुरुङलाई गोलपोस्टको जिम्मा दिएको थियो । जावलाखेलका तर्फबाट डुकसहित गोलरक्षक सनत फर्कल्यान्ड, थामेस र जुमाको उपस्थितिले खेल पहिलो सुधारिएको थियो ।
एक गोलले पछि परेको मनाङलाई जित दिलाउने क्रममा एमबाइल स्टेफन, सुजल श्रेष्ठ र अमिर श्रेष्ठले गोल गरे । ३२औँ मिनेटमा रमेश घिसिङको गोलमा सरस्वतीले अग्रता लिएको थियो । सरस्वती पराजित हुनुमा गोलरक्षक अशोक बरालले गरेका गल्ती पनि प्रमुख कारण बन्यो । सुरुआतदेखि आक्रमक रहेको मनाङको विरुद्धमा घिसिङले २५ यार्ड टाढाबाट सानदार गोल गरे । त्यसपछि आक्रामक रहेको मनाङका लागि ५४औँ मिनेटमा नवीन न्यौपानेको कर्नरमा सुजल श्रेष्ठले गोल गरे । बरालको गल्तीको फाइदा उठाउँदै नवीन न्यौपानेले प्रहार गरेको फ्री–किकमा स्टेपनले गोल गरेपछि ६३औँ मिनेटमा मनाङले अग्रता लियो । अन्तिम मिनेटमा अमिरले २५ यार्ड टाढाबाट गोल गरे । जितपछि मनाङको दुई खेलबाट चार अंक भएको छ । यसैगरी, पराजित सरस्वतीको तीन अंक छ । यसैगरी, आइतबार जित हात पारेको जावलाखेलको तीन तथा पराजित  एपिएफको शून्य अंक छ ।

प्रतिक्रिया