कारागारमा झडपबारे छानबिन सुरु

पोखरा, १० मंसिर । कास्की कारागारमा कैदीबन्दीबीच भएको झडपबारे छानबिनका लागि समिति गठन गरिएको छ ।
घटनाबारे छानबिनका लागि कास्कीका सहायक सिडिओ अन्तरबहादुर सिलवालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । समितिमा इन्स्पेक्टर रवीन्द्र पौडेल र जेलर सुनीलकुमार अधिकारी सदस्य छन् । समितिलाई झडपको कारण र कारागारको अवस्थाबारे तीन दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
प्रतिवेदनका आधारमा कारागारको भावी सुरक्षा योजना तर्जुमा गर्नुका साथै स्तानान्तरणसम्म गर्न सकिने सिडिओ वसन्तराज गौतमले जानकारी दिए । छानबिन समितिको प्रतिवेदन गृह मन्त्रालयका साथै कारागार व्यवस्थापन विभागमा पठाइने उनले बताए । देशकै नमुना मानिएको कास्की कारागारमा शुक्रबार साँझ कैदीबीच झडप हुँदा २० कैदीबन्दी घाइते भएका थिए । गम्भीर घाइते सूर्य भुजेल र सुनील रानाभाटको उपचार भइरहेको छ । उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जानकारी दिएको हो । त्यस्तै, अन्य कैदीलाई उपचारपछि कारागार फर्काइएको कास्की प्रहरीले जनाएको छ ।
कारागारका चौकीदार चन्द्र गुरुङका पक्ष र विपक्षमा रहेका कैदीबन्दीबीच शुक्रबार साँझ झडप भएको थियो । जेलर अधिकारीले कैदीबीचको मनमुटावबारे कारागार व्यवस्थापनलाई जानकारी नभएको प्रतिक्रिया दिए । रातको समयमा लोडसेडिङका कारण अन्धकार भएकाले पनि घटनाले ठूलो रूप लिएको थियो । ६० जनाको क्षमता रहेको कास्की कारागारमा ३ सय ५२ कैदीबन्दी छन् ।

प्रतिक्रिया