“संन्यासीहरूको बीचमा आयुर्वेद पढेँ”

मैले बनारस गएर संस्कृत पढेको हुँ । कक्षा आठदेखि नै त्यहाँको हरिहर संस्कृत महाविद्यालयमा पढेको । ०१८ सालमा पूर्वमध्यमा (एसएलसी) पास भएपछि त्यही कलेजमै मध्यमा (आइए) पनि सकेँ । पूर्व मध्यमा र मध्यमा दुवै एकै ठाउँ पढेकाले नयाँ क्याम्पस गएजस्तो अनुभव हुनै पाएन । त्यहाँबाट सर्वोत्कृष्ट अंक ल्याएर ०१९ सालमा नयाँ क्याम्पसमा शास्त्री (स्नातक) पढ्न गएपछि बल्ल क्याम्पसजीवन सुरु भए भैँm लाग्यो ।
शास्त्रीमा आयुर्वेद विषय लिएँ । संस्कृत पढ्ने केटी हुँदैनथे, आयुर्वेद पढ्ने पनि थिएनन् । विद्यार्थी नै कम । दिल्लीको निखिल भारतवर्षीय आयुर्वेद विद्यापीठको शाखा थियो त्यो । नाम थियो संन्यासी कलेज । ०१९ साल असार पहिलो सातादेखि आयुर्वेद पढाइ सुरु गरेँ ।
नयाँ कलेज जाँदा लागेको अनौठो अनुभव अझै मेरो स्मृतिमा ताजै छ । कक्षाभरि सबै पहेँला लुगा लगाएका संन्यासी मात्र । त्यति बेलासम्म संन्यासीले घरपरिवार त्यागेर धर्मकर्ममा लाग्छन् भन्ने मान्यता थियो । तिनैमध्येका केही संन्यासी वैद्य हुने चाहनाले आयुर्वेद पढ्न आएका । सुरुमा अप्ठ्यारो लागे पनि उनीहरूसँग चिनजान भएपछि रमाइलो लाग्दै गयो ।
कलेजमा पहिलोचोटि जोशी भनिने साथीसँग चिनजान भयो । उसैले मलाई त्यहाँको रहनसहन बुझाइदियो । हामीबीच कहिल्यै झगडा भएन । मध्यमासम्म पढेको महाविद्यालयमा नेपालीहरू मात्रै थियौँ । नयाँ कक्षमा भारतीय विद्यार्थी बढी । उनीहरूसँग सम्बन्धविस्तार गर्न उही जोशी साथीले सघायो ।
कलेजमा दस जनाजति विद्यार्थी मात्रै थियौँ । कलेजका प्रमुख प्राध्यापक काशीनाथ गुरुको अझै पनि सम्झना आउँछ । उहाँले पहिलो कक्षामा मानव शरीरको रचनाबारे पढाउनुभएको थियो । संस्कृतको जटिल व्याकरण घोक्दाघोक्दा दिक्क थिएँ । अनि साहित्यका काव्य कण्ठ गर्ने बानी परेको मलाई मानव शरीरका भित्रीकुरा पढ्दा नौलो लाग्यो । सायद उहाँको पहिलो कक्षा लिन नपाएको भए आयुर्वेद पढाइ पहिलो दिनजस्तै अलमलमा बित्थ्यो होला † उहाँको जोशिलो शिक्षणले मलाई आयुर्वेद पढ्ने उत्साह थपियो । ६ वटा विषय पढ्नुपथ्र्यो हामीले । चित्र बनाउन पहिलेदेखि सिपालु थिएँ । मानव शरीरका बाहिरी अंगहरूको चित्र थुप्रै बनाएको थिएँ । पहिलो कक्षामा पनि तिनै कुराहरू पढ्न पाउँदा मेरो स्वास्थ्यविज्ञानप्रतिको रुचि झन् जाग्यो । पहिलो दिनको आयुर्वेद कक्षा तीन घन्टासम्म चलेको थियो  ।
त्यही दिन घर फर्किएपछि कोठाको भित्ताभरि चित्र बनाएँ । पहिले आफूले बनाएको मान्छेको बाहिरी अंगको चित्रसँग तुलना गर्दै बनाएका चित्रले भित्ता भरिएछ । भोलिपल्ट घरबेटीले देखेछन् । उनले हकारिहाले– ‘तुम नेपाली लोग क्या कर्ते हो ?’ आफूलाई आयुर्वेद पढाइको रस बसेकाले होला, कक्षामा अरू उटपट्याङ नगरे पनि डेराको भित्तामा चित्र रंगाउन भने कहिल्यै छोडिनँ  । वार्तामा आधारित

प्रतिक्रिया