जब सुनसान रातमा कार चुइकियो…

‘सर ममाथि हातपात भयो, रोजर सर †’ मेरो रेडियोसेटमा एक्कासि आवाज आयो । आवाज मेरो मातहतको असईको थियो । ऊ निकै अत्तालिएको थियो । थप इन्फर्मेसन दिँदै भन्यो, ‘मध्य सडकमा गाडीभित्र बसेर अनैतिक क्रियाकलाप गरिरहेको रहेछ, समाउन खोज्दा उल्टै मलाई नै झापड हान्यो, ध्रुवबहादुर प्रधानको मान्छे हुँ, मलाई समाउने आँट गर्छस् भनेर थर्कायो । रोजर सर ।’ मैले सेटबाटै आदेश दिएँ, ‘जोसुकैको मान्छे होस्, तुरुन्तै पक्राउ गरिहाल्नू ।’
०५१ सालतिरको प्रसंग हो यो, महिनाचाहिँ बिर्सिएँ । उति बेलाको जल्दोबल्दी प्रहरी निरीक्षक थिएँ । जतिसुकै ठूलो मान्छेको धाक लगाए पनि जिम्मेवारीबाट पन्छिने त कुरै थिएन । महानगरीय प्रहरीपरिसर ललितपुर (तत्कालीन जिल्ला प्रहरी कार्यालय) मा फिल्ड अफिसरको जिम्मेवारी सम्हालिरहेको थिएँ । कार्यालयमै थिएँ ।

असईले थप सूचना दियो– ‘त्यो गाडी लिएर सातदोबाटोतर्फ भाग्यो, रक्सीले टिल्ल छ, केटी पनि गाडी भित्रै छ सर, रोजर ।’ ‘रोजर’ भनेको प्रहरीले वाकीटकीमा प्रयोग गर्ने कोड शब्द हो । घटनाबारेको विस्तृत थाहा नपाए पनि प्रहरीमाथि नै झापड हानेको सुनेर मलाई खपिनसक्नु भयो । त्यो मान्छे पक्राउ नपरेसम्म मलाई चैन हुनेवाला थिएन । तत्कालै चारैतिर नाकाबन्दी गर्न आदेश दिएँ । नभन्दै १५ मिनेटभित्रै झापड हान्ने त्यो मानिस गाडी र युवतीसहित पक्राउ परी पनि हाल्यो, सातदोबाटोबाट ।
केही समयपछि ती दुवै गाडीसहित मेरा अघि हाजिर थिए । ४५ वर्षजतिको पुरुष अनि २५ वर्षजतिकी युवती । पुरुषका आँखामा अझै दम्भ देखिइरहेछ । मानौँ, सडकमा मञ्चन भइरहेको उसको अश्लील क्रियाकलापमा प्रहरीले भाँजो हालेर ठूलो भूल गरिदिएको छ । विशिष्ट पदधारीको मान्छे भएकै आधारमा ऊसँग जे पनि गर्न छुट भएको लाइसेन्स भएजस्तो †
रक्सीले लट्ठ थियो त्यो अधबैंसे । मैले घटनाबारे सोध्न पाएकै छैन, उसैको पो स्वर ठूलो । भनिहाल्यो– ‘मलाई चिन्नुभएको छ ? धु्रवबहादुर प्रधानको मान्छे हुँ, तपाईंलाई क्षणभरमै सरुवा गराउन सक्छु ।’ यसै पनि तातो रगत मेरो, त्यसमाथि कर्तव्य निर्वाहका दृष्टिले जे गरेँ, मेरो धर्मै थियो । उसको फुर्तीले मेरो पारो झन् तताइहाल्यो । जमाएरै एक चड्कन लगाइदिएँ, बल्ल चुप्प लाग्यो । तत्काललाई उसको फुर्ती सेलायो ।
०००
त्यति बेलाको चक्रपथ अहिलेजस्तो भीडभाड थिएन । गाडी कम चल्थे । त्यसमाथि साँझपछि त सुनसानजस्तै नै हुन्थ्यो । चक्रपथको आफ्नो कार्यक्षेत्रभित्र पर्ने भागमा हामी सधैँजसो गस्ती खटाउँथ्यौँ । त्यस दिन असईको कमान्डमा चार जनालाई खटाएको थिएँ । गस्तीकै क्रममा अहिलेको कलंकी जोड्ने पुलछेउको सुनसान ठाउँमा पुगेछ टोली । त्यहीँ एउटा कलेजी रङको जापानी कार पार्क गरिराखिएको रहेछ । त्यसतर्फ टर्चलाइट केन्द्रित गर्दा कार लचक–लचक गरिरहेको देखेछन् । त्यति बेलाको चक्रपथ अनि राति साढे नौ बजेको यस्तो दृश्य सामान्य थिएन । आश्चर्य र आशंकाले प्रहरीको ध्यान तान्नु स्वाभाविकै थियो । प्रहरी जति नजिक गए, कार चुइँकिएको आवाज थप चहकिलो हुँदै गयो । लचकलचक झन् बढिरहेछ । गाडीको टायर फसेर कोही अप्ठ्यारोमा परेको छ कि भनेर सहयोगका लागि पनि त प्रहरी त्यहाँ पुग्नैपथ्र्यो । कारछेउमा पुगेपछि थाहा भयो, बाहिर कोही छैन । जे भइरहेछ, भित्रै भइरहेछ । टर्चलाइटको प्रकाशले सिसाबाट गाडीभित्र चिहाउँदा त एकअर्काका आलिंगनमा बेरिएका अधबैँसे पुरुष र युवती पो देखिए । यौनक्रीडामा मस्त भइरहेका ।
टर्चलाइटले डिस्टर्ब गरेकोमा सनक चढेछ अधबैँसेलाई । जुरुक्क ढोका खोलेर कारबाहिर आएछ अनि असईलाई एक झापड बजाइहालेछ । अनि, सानसँग पोज दिँदै झोक्किएर भनेछ– ‘मलाई चिनेको छस्, ध्रुवबहादुर प्रधानको मान्छे हुँ †’
०००
घटनाविवरण बुझेपछि पक्राउ अभियुक्तहरूलाई मेडिकल परीक्षणका लागि अस्पताल लैजाने तयारी भयो । त्यस बेला उसका साथमा रहेका सबै सामग्री प्रहरी कार्यालयमै राख्नुपर्ने हुन्छ । अधबैँसेले अघि खाएको चड्कन अलि दुख्न छाडेछ क्यारे, फेरि एक धम्की त दिई पो हाल्यो– ‘मेरो तीन लाख मूल्य पर्ने घडी यहाँ छाडेको छु, तलमाथि भयो भने छाड्दिनँ नि †’ युवतीलाई प्रसूति गृह लगियो, अधबैँसेलाई चाहिँ पाटन अस्पताल । फर्किएपछि दुवैलाई रातभर हिरासतमै राखियो ।
भोलिपल्ट बिहान पाँच बजे । एसपी शारदाप्रसाद पराजुली कार्यालयप्रमुख हुनुहुन्थ्यो । आत्तिँदै मेरो कार्यकक्षमा आउनुभयो । भन्नुभयो– ‘रमेश, त्यो त एआईजी ध्रुवबहादुर प्रधानका मान्छे र’छ, मलाई किन राति नै खबर नगरेको ?’ उहाँले थप्नुभयो– ‘एआईजी साब रिसाउनुभाको छ, त्यसलाई तुरुन्तै छाडिदिनू ।’
‘ऊ अनैतिक क्रियाकलाप गर्दागर्दै रंगेहात समातिएको, त्यसमाथि प्रहरीलाई हातपात पनि गर्‍यो, त्यत्तिकै कसरी छाड्न मिल्ला र सर ?’ मेले  एसपी साबलाई सुझाएँ । ‘जेसुकै होस्, आदेश छ, छाडिदिनू’, उहाँले भन्नुभयो ।
धु्रवबहादुर प्रधान, त्यस बेलाका शक्तिशाली एआईजी । उहाँले नै छाड्न आदेश दिएपछि मेरो केही नलाग्ने । छुटाउने प्रक्रियाका लागि युवती र अधबैंसेलाई बोलाइयो । त्यस बेला पो थाहा भयो– २५ वर्षीया ती युवती डेनिस राजदूतावासमा सेक्रेटरी रहिछन् । अधबैँसेचाहिँ ट्राभल एजेन्सीको मालिक । गनिनेभित्रै पर्ने त्यो ट्राभल एजेन्सी अझै पनि सञ्चालित छ ।
जाने बेलामा भने त्यो अधबैँसेको फुर्ती सेलाइसकेको थियो । त्यसो त बिहानसम्ममा उसलाई रक्सीको मातले पनि छोडिसकेको थियो । पूरै होसमा थियो । उसले मसँग हात जोडेर अनुनयविनय गरेको दृश्य अझै सम्झन्छु । अब उसलाई श्रीमतीको डर रहेछ । ओइलाएको स्वरमा भन्यो– ‘यो कुरा मेरी श्रीमतीलाई चाहिँ नभनिदिनुहोला है, मुटुकी बिरामी छिन्, यसबारे थाहा पाइन् भने यसै भन्न सकिन्न ।’
अपराध त भएकै थियो । उनीहरूमाथि कारबाही होला भन्ने आशा मलाई थियो तर हाकिमले उल्टै छाड्न आदेश पो दिए । निकै निराश भएँ । त्यही दिन १० बजे एसपी साहेब र मलाई एआईजी साहेबको कार्यकक्षमा हाजिर हुन भनियो । प्रहरी प्रधान कार्यालय नक्साल प्रशासन विभागका प्रमुख हुनुहुन्थ्यो, एआईजी साहेब । ‘मेरो नाम लिएपछि छाड्नुपर्दैन ?,’ उहाँले मलाई मारसँग झपार्नुभयो । ‘सर म त चेन अफ कमान्डबाट चल्ने मान्छे, एसपी साबको आदेश मान्नै पर्छ’, मैले भनेँ । ‘त्यसो भए एसपी साबलाई चाहिँ किन खबर नगरेको त ?’, उहाँ झन् जंगिनुभयो । ‘सर, घटना सामान्य थियो, आफैँ हेन्डल गर्न सक्छुजस्तो लग्यो, राति उहाँलाई डिस्टर्ब गर्न चाहिनँ’, जवाफमा भनेँ । त्यसपछि उहाँले जान आदेश दिनुभयो ।
जीवनकै सबैभन्दा निराश सायद त्यही बेला थिएँ । कर्तव्य निर्वाह गर्दा पनि उल्टै हाकिमबाट खप्की खानुपरेको थियो । कार्यालयमा पुगेको मात्रै थिएँ, मेरो नाममा एउटा चिठी आइपुग्यो । खोलेर हेरेँ । सरुवा गरिएको चिठी रहेछ । मलाई त्यहाँबाट एआईजी साहेबकै मातहतमा रहने गरी प्रधान कार्यालय जानू भनिएको थियो ।  झन् हतोत्साही भएँ । दिनभरि नै छटपटी भइरह्यो, के गरौँ के नगरौँको मुडमा । जे भए पनि आदेश त मान्नै परिगो । चिठीमुताबिक प्रधान कार्यालय पुगेँ । जाँगर सेलाएजस्तो भएर कार्यालयमा गमिरहेको थिएँ । एआईजी साहेबबाट बोलावट भयो । अब फेरि के खप्की खानुपर्ने हो भन्ने सोच्दैसोच्दै उहाँको कार्यकक्षतिर लागेँ । ढोकाबाट छिर्नासाथ उहाँले मलाई तलदेखि माथिसम्म हेर्नुभयो । अनि भन्नुभयो– ‘रमेश † तिम्रो यो स्पिरिट कायम राख ।’
उहाँबाट एकाएक यस्तो हौसलायुक्त वचन पो सुनेँ । यति प्रभावित भएँ कि म त भावुक भएर केही बोल्नै पो सकिनँ । गला भरिएर आयो । आँखा रसाउन खोजे पनि मनमा थप उमंग छचल्किइसकेको थियो । ओइलाइरहेको मेरो उत्साहलाई पुन: ताजा बनाइदिनुभएकोमा मनमनै एआईजी साहेबलाई धन्यवाद दिएँ । त्यस बेलादेखि उठेको मेरो शिर अझै कायम छ ।  मलाई लाग्छ– उहाँजस्ता अफिसर नेपाल प्रहरीमा अहिले निक्कै कम छन् । पहिले परिस्थितिवश गाली गरे पनि पछि उहाँले अन्तर्मनबाट मेरो कामको कदर गर्नुभयो । थप उत्साह दिलाउनुभयो †

प्रस्तुति : टेकराज थामी

प्रतिक्रिया