स्वातमा प्राचीन चिहान फेला

इस्लामाबाद : इटालीका पूरातत्त्वविद्हरूले तालिवानको बलियो पकड रहेको पाकिस्तानको स्वात उपत्यकामा तीन हजार वर्ष पुरानो चिहान हालै फेला परेका छन् । सन् १९५० मा उदेग्राम क्षेत्रमा उत्खनन् आरम्भ गरेका इटालीका अनुसन्धानकर्ताले चिहान फेला पारेको समाचारमा जनाइएको छ । सो क्षेत्रमा बौद्धसभ्यतापूर्वको चिहान रहेको जानकारी पाएपछि उत्खनन् सुरु गरिएको थियो । करिब ३० वटा त्यस्ता चिहान फेला पारेको र ती चिहान एकापसमा जोडिएको अवस्थामा फेला पारिएको समाचारमा जनाइएको छ ।
अनुसन्धानकर्ताहरूको समूहका प्रमुख लुका मारिया ओलिभियरीले केही चिहानहरू ढुंगाको पर्खालले घेरिएको अवस्थामा फेला पारिएको जानकारी दिए । चिहानमा बौद्ध गान्धार सभ्यताभन्दा अगाडिको संस्कृति देखिएको उनले बताए । चिहानमा पुरुषको शवका साथमा खाना पकाउने भाँडा तथा महिलाको शवका साथमा गहना समेत फेला पारिएको जानकारी दिए । (एएफपी)

प्रतिक्रिया