खोजखबर

एक्लो परिचय

सौर्य अनलाइन २०६९ मंसिर ९ गते ३:४३ मा प्रकाशित

झ्यालबाट बाहिर हेर्छु । नजिकैको रुखबाट पातहरू झरिरहेका छन् । सिमसिमे पानीले भुइँजति लफक्कै भिजेको छ । हावाको एक झोक्का मेरो अनुहार पोतेर कोठाभित्र प्रवेश गर्छ र म आपैँmसँग हराउन थाल्छु । टाढिएका बाटाहरू हराउन थाल्छन् । सम्झनाहरू यथार्थमा चित्रित हुन थाल्छन् । फेरि एकपटक म लाहुरिएको बिर्सन्छु । असन्तुष्टिको नदीको डुंगामा तैरिन बिर्सन्छु । कल्पनाको ठूलो चन्द्रमामा हराएर निदाउन खोज्छु । भोलिको खुसीको पिङमा मच्चिन बिर्सन्छु । ओहो, यो चिसो हावा कति जादुगरी रहेछ, एक अञ्जुली हावाले नुहाइदिँ दा अथाह समुद्रको बाटोलाई बिर्साइदियो मलाई ।
तर कतिञ्जेल ? भाडामा किनेको समयजस्तै । घन्टी लागेपछि जस्ताको तस्तै फेरि । बाटोमा एकनासे आवाजले दमकल गुड्छ । दमकलको पछाडि एम्बुलेन्स र प्रहरीको गाडी । तीनैवटाको आतङ्कित आवाजले मलाई जहीँको तहीँ पुर्‍याउँछ । टाढाबाट झन् धेरै टाढा । नापेर नसकिने बाटो । तारै जोड्ने हो भने पनि आवाजले थकाइ मार्लान् पटक–पटक ।
भर्जिनियाको स्प्रिङफिल्ड सहरको सडकछेउको घरमा एक्लो छु कोठासँग । एक्लो कसरी हुन्छ होला भीडमा जस्तो लाग्थ्यो । भएर पनि एक्लो र नभएर पनि एक्लो । आज कति गते हो ? थाहा छैन, कुन तिथि हो ? थाहा छैन । समय हेर्न खोज्छु, घडी पनि साथमा छैन । आकाश हेर्छु, के टेथ्र्यो समय बताउन । चिन्दै नचिनेको आकाशले । नजिकै टेलिभिजन चलिरहेको छ तर अर्थहीन । ध्यान तान्नै नसक्ने ।
सडकले अत्यन्तै व्यस्तता देखाइरहेको छ । मेरो फुर्सदको उपहास गरेजस्तो गरी । त्यसले पनि कुनै अर्थ जमाउन सकेको छैन ममाथि । हुन त हिजो पनि केले अर्थ लगाएको थियो र ? सरसफाइ, व्यवस्थित प्रणाली, विकास, सम्पन्नता केहीले पनि मलाई भित्र पसेर नाप्न सकेको छैन । बरु, म नै आफ्नो प्रभाव प्रवाहित गर्न खोजिरहेको छु ।
यतिखेर म एक्लो छु तर त्यही एक्लोपन मात्र म होइन । म असीमित छु । एक्लो भएर म एउटा जाति हुँ, एउटा संस्कृति हुँ , एउटा परम्परा हुँ । एउटा राष्ट्र हुँ । राष्ट्र मात्र हैन अग्लो ठाउँ हुँ, जसले जहाँबाट चिहाए पनि प्रष्ट देखिने सगरमाथा । नक्साबाट बाहिएर नक्सा बनिरहेको म कहाँ एक्लो छुँ र ? म नगाएरै गुञ्जिरहने गीत, म नबजाएरै बजिरहने संगीत । सबैका सामु किन परिचयपत्र प्रदर्शन गरिरहनु ? देखाएरै हिँड्ने परिचयले के नै पो नापेको छ र ? आखिर सबै ठाउँमा सबै समयमा इमान हराइ नै रहेको छ । हृदयको समुद्रमा भोटेताल्चा लगाएर थन्काएको छु सुरक्षित । म को हुँ, मलाई थाहै छ ।
पर्यटक बनेको छु, विदेशको । देशलाई छोडेर स्वदेशी बन्न खोजेको पनि होइन । आफ्नो माटोमा केही गर्न नसकेर पनि होइन । पैताला फर्काएको पनि होइन । मात्र समयको समय कुर्न खोजिरहेछु । तराजुहरू समयले बराबरीमा ल्याउँछ ल्याउँछ । सधैँ झुक्याएर, तर्साएर, मिचेर सत्यको शब्दमा झूठको गीत गाइरहनु कसले सकेको छ र ? इतिहास पनि यही थियो र भविष्य पनि यही हो । विश्वासको दसै औँठा छाप छ मेरो । निहुँ मात्र हैन यो, बनाउनेहरूले बनाए होलान् । होलान् धेरै अत्तो थाप्नेहरू । घर ढाँट्नेहरू, माटोलाई रंगमञ्च ठान्नेहरूको कुरा अर्कै हो । सबैलाई झुक्याएँ भनेर उफ्रदा उफ्रदै झुक्किरहेकाहरूको कुरो जस्तो होइन यो ।
यो माटोको चुम्बक गजबको छ । दुख्योभन्दा भन्दै सहेरै बस्ने । खुसी छु भन्ने सय, हजार, लाखमा सिला खोजी गर्नुपर्ने तैपनि फर्कन कोही नचाहने । डलरसँग, पसिना साट्नुको रमरममा अलमलिने, कोही समयलाई महँगोमा बेचिरहेको छु भनेर दंग पर्ने । कोही घरपरिवारको खुसी किन्न सकेकोमा खुसिने । थुप्रै उपायहरू छन् । भनौँ, यहाँ आइपुगेपछि जो पनि दु:खको मुरलीमा निदाउँछन् । असन्तुष्टिको मादल घन्काएर कम्मर मर्काउँछन् । शोकगीतमा स्वर थप्छन् ।
तर, म भनिरहेको छु, जोडजोडले भनिरहेको छु, भित्रैदेखि भनिरहेको छु । म अलिकति बाँधिएको हुँ तर फुस्कनै नसकिने गरी होइन । डोरी फुस्किने गाँठोकै छ ।
(‘रोदन’को भर्खरै प्रकाशित निबन्धसंग्रह ‘एक्लो परिचय’को सम्पादित अंश)

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय