महामृत्युञ्जय जप

 
‘तपाईंको पुत्रलाई दशा लागेको देखियो, ०७० सालमा दुर्घटना अथवा अन्य कुनै कारणले उसको असामयिक मृत्यु हुने योग छ,’ झापाको एउटा नाम चलेको ज्योतिषीलाई मेरो चिना देखाउँदा यस्तो जवाफ पाएपछि घरका मानिस बेपत्ता चिन्तित भएछन् । खड्गो टार्ने केही उपाय भए सुझाइदिन अनुनय गरिएपछि ज्योतिषीले धीर मुद्रामा गम खाँदै भनेछन्, ‘महामृत्युञ्जय मन्त्र जप गराउनुस्, छोरोको नाममा । २५ हजारभन्दा कम जप गराए चिताएको नतिजा फेला नपर्न सक्छ ।’ ज्योतिषीको वचन भुइँमा खस्न नपाउँदै घरका आमालगायत सबैले पुरोहितलाई बोलाएर तत्काल महामृत्युञ्जय मन्त्र जप लगाउने निश्चय गरेछन्, मनमनै । घर फर्किएर गाउँका कहलिएका एकजना पुरोहितको सल्लाहमा जप लगाउने तिथि र त्यसका लागि आवश्यक सरसामग्रीको फेहरिस्त तयार पारेपछि यसको चाँजोपाँजो मिलाउन घरका सबै लागिपरेछन् । एक्लो छोरो जो परेँ † तलमाथि केही भएको खण्डमा वंशै नाश हुने भय सबैलाई थियो । मप्रतिको प्रेम र कुल धान्ने एक्लो उत्तराधिकारीलाई बचाउनैपर्ने अठोटले घरका सदस्यलाई धुमधामका साथ महामृत्युञ्जय जप लगाउने दिशामा कुनै कसर बाँकी नराख्ने निश्चय गर्न बाध्य बनाएछ ।
तर, आमाको मन यत्तिमै के मान्थ्यो र ? छोरोमाथि आइलागेको खड्गो जप लगाउँदैमा पन्सिन्छ भन्ने के ग्यारेन्टी छ ? ग्यारेन्टी पाउने आशामा आमाले बेलबारी (मोरङ)का अर्का नामुद ज्योतिषीकहाँ मेरो चिना पठाउनुभएछ, मानौँ ज्योतिषशास्त्र परिवार नियोजनको अस्थाई साधन हो, जसको प्रभावकारितालाई ‘९९ प्रतिशत प्रभावकारी’को मात्रात्मक कसिमा जोख्न सकिन्छ । आखिर शास्त्र एउटै न हो † अर्को ज्योतिषीकहाँ ‘क्रस चेक’ गराउँदा उनले पनि यमराजको धारिलो तरबार मेरो माथिङ्गल वरिपरि चम्किरहेको र ०७० सालमा तरबार मेरो गर्धनमा बज्रिने ठोकुवा गरे । यसको निधानका लागि उनले सुझाएको तरिका भने बेग्लै थियो, अनेकौँ मन्त्र जप गराएर तयार पारिएको बुटी मैले धारण गर्नुपर्छ, आगामी पाँच वर्षसम्म । परिवारजनलाई मेरो मृत्यु कुनै पनि हालतमा स्वीकार्य थिएन । त्यसैले पहिले बुटी धारण र दसैँको मुखमा महामृत्युञ्जय मन्त्रको एकोहोरो जपले घर गुञ्जायमान पार्ने निधोमा घरका सबै पुगेछन् ।
केही दिनपछि कुरियर गरी पठाइएको बुटी मेरो हातमा आइपर्‍यो र मैले विधि पुर्‍याएर बुटी धारण गरँे – बिहानै नुहाइधुवाई गरेर, तिल र अक्षताले आपैँmलाई पूजेर, अगरबत्ती–धूप बालेर र शनि तथा अनेक देवीदेवतालाई प्रशन्न पार्ने मन्त्र उच्चारण गरेर । बुटी धारण गरेपछि मनमा एक किसिमको आत्मविश्वास बढेर आयो, केही दिनभित्रै दुई–चार शुभ घटनासमेत घटेजस्तो लाग्यो । यी सब संयोग अथवा मेरो वैयक्तित सोचाइ तथा लाटो मनोविज्ञानको उपज पनि हुनसक्थ्यो । ज्योतिषीले सुझाएको अवधिभर ऋतपूर्वक बुटी धारण गर्दैमा केही बिग्रिने होइन क्यारे † सप्रिए मलाई नै राम्रो । यही सोचले बुटी नमिल्काउन मलाई प्रेरित गर्‍यो । त्यसयता त्यो बुटी मैले गलामा अद्यापि बेरिराख्या’ छु ।
डेढ महिनापछि दसैँको अवसर पारेर अष्टमीको दिन घर पुग्दा यज्ञकुण्डमा घृतम्, तण्डुल, कर्पुर, चरुलगायत यज्ञसामग्रीको आहुती अर्पण गरिँदै रै’छ । ‘ओम् स्वाहा, इदम् अग्नाय नम:’ को उच्चारणसँगै यज्ञकुण्डको मधुरो तर तेजिलो अग्निमा यज्ञसामग्रीको आहुति गरिँदा वातावरण सुगन्धमय बनेको थियो । चार दिने जपको अन्तिम दिन सबेरै निवृत्त भएर नयाँ धोती, गन्जी धारण गरी यज्ञकर्ममा बसेको केही घन्टापछि पुरेतले महामृत्युञ्जय मन्त्र जप २५ हजारपटक गरिएको घोषणा गरे । मेरो उपस्थितिमै पाँच हजार जप गरिएकाले मन्त्र मलाई कण्ठस्थ भयो –
त्र्यम्बकम् यजामहे सुगन्धिम् पुष्टिवर्धनम्
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय मामृतात् ।
महामृत्युञ्जय मन्त्र अमरत्वको कामना गर्दै भगवान् शिवसँग गरिएको आराधना हो भन्ने सुनेको थिएँ तर मन्त्रको अर्थ भने बुझेको थिइनँ । त्यसैले पुरोहित फर्किएपछि मन्त्रको भाष्य हेरेँ । एउटा भाष्यमा महामृत्युञ्जय मन्त्रको भावार्थ यसरी लगाइएको थियो –
‘सारा प्राणीहरूलाई पुष्टि प्रदान गर्ने सुगन्धमय, त्रिनेत्रधारी भगवान् शिवको म उपासना गर्दछु । उहाँले मलाई अमृतत्व प्रदान गर्नका लागि जसरी पाकेको खरबुजाको फल आफ्नो लहरादेखि मुक्त हुन्छ, त्यसरी नै मृत्युको मुखबाट मुक्त गरून् ।’
मन्त्रको अर्थ बुझिसकेपछि यत्रो अथाह श्रम र संयमता बेकारमा गएछ भन्ने महसुस त भएन तर केही खल्लोचाहिँ अवश्य भयो । यसै मन्त्रसम्बन्धी अर्को किताबमा महानारायणोपनिषद्को भाष्य समावेश थियो जसमा मन्त्रको अर्थ तत्–तत् रहे पनि ‘मा अमृतात्’को भावार्थमा भनिएको थियो, (भगवान् शिवले) एउटा पाकेको काँक्राको फल आफ्नो लहराको बन्धनबाट सजिलै मुक्त भए भँैm मलाई मृत्युबाट मुक्त गरून् । एउटा किताबमा ‘पाकेको काँक्रो’ र अर्कोमा ‘पाकेको खरबुजा’ लहराबाट स्वत: मुक्त हुने प्रसंग उल्लेख थियो । यससम्बन्धमा खरबुजा तथा काँक्रा खेतीमा कहलिएका गाउँलेलाई सोध्दा उनीहरूले भने, ‘बरु लहरा सुकेर जान्छ तर पाकेपछि खरबुजा र काँक्रो कुनैको पनि भेट्नु चुँडिँदैन’ । यत्रो ठूलो मन्त्र (महामृत्युञ्जय मन्त्रलाई वेदान्तीसमेत आदर गर्छन्)मा यो कत्रो भूल † मन एकाएक खङ्ग्रङ्ग भयो ।
मन्त्रको दोस्रो भाष्यमा निहित अर्थले भने मेरो मथिङ्गल र हृदय दुवैलाई छोएको थियो र पहिलोभन्दा दोस्रो भाष्य मलाई प्रिय लागेको थियो । यसबारे एकजना पण्डित (पुरोहित होइनन्)लाई सोध्दा उनले पनि दोस्रो भाष्य ठीक रहेको ठहर सुनाए । पूर्वीय दर्शन र मिथकीय भण्डारमा मृत्युको क्षणभंगुरता र आत्माको अमरत्वसम्बन्धी मैले एकाध पुस्तक यसअघि नै पढेको थिएँ । व्यासकृत महाभारतको नेपाली श्लोकमा अनुवादित पुस्तक पढेको थिएँ र यसबाट कुत्कुतिएर भीष्मपर्व भगवद्गीता खण्डको नेपाली भाषा टीका खरिद गरेको थिएँ । आत्माको अमरत्वसम्बन्धी प्रमाण पेस गर्ने क्रममा भागवद््गीताको ‘नैनम् छिन्दन्ति शास्त्राणि नैनम् दहति पावक’ श्लोक प्रयोग भएको धेरै प्रसंग सुनेपढेको थिएँ । तर्कशास्त्री रजनीशको कुनै पुस्तकमा ‘मृत्युमा अमृतम् गमय:’ मन्त्रले ‘मृत्युबाट बचाऊ’ भनेर हारगुहार नगरी मृत्युत्तरको अमरताको कामना गरेको जनाइएको थियो । यसबाहेक मैले रजनीशकै ‘मे मृत्यु सिखाता हुँ’ पुस्तकसहित खलिल जिब्रानको ‘द प्रोफेट’, रवीन्द्रनाथ टैगोरको ‘गिताञ्जली’, लियो टल्सटोयको ‘द डेथ अफ इभान इल्यिच,’ पावलो कोयल्होको ‘ब्रिडा’ आदि रचनामा मृत्युसम्बन्धी लेखिएका प्रसंग पढेको थिएँ । यसबाट उद्वेलित मेरो अभ्यान्तरले मृत्युको शाश्वतता र मृत्युत्तरको महाजीवनलाई नजानीकनै स्विकारिसकेको रै’छ । होइन भने, म महामृत्युञ्जय मन्त्रको दोस्रो भाष्यतर्फ आकर्षित हुने थिइनँ होला † दोस्रो भाष्यमा मृत्युप्रतिको भय थिएन, न आसन्न मृत्युको विनाशबाट बचाउन हारगुहार गरिएको थियो । मन्त्र पढेको भरमा मृत्यु टर्छ भन्ने मान्यतामा विश्वास राख्ने अन्धविश्वासी म रहेनछु । तर, मृत्युपछिको महाजीवनप्रति म अन्धो रूपमा विश्वस्त हुँदै गएको रै’छु । त्यसैले त मैले परिपक्व जीवनपछिको मुक्ति, निर्वाण अथवा कैवल्यका लागि महाअस्तित्वसमक्ष उपासना गरिएको भाष्य रुचाएको रै’छु । र, यो भाष्य पढेपछि २५ हजार श्लोक जपको निरर्थक (?) अभ्यासप्रति समेत मनमनै सन्तोष व्यक्त गरेको रै’छु †

प्रतिक्रिया