एक अतिवादी राजनीतिज्ञ

थोरै मानिस मात्र आफू हिँड्ने बाटो आफैँ बनाउन सक्ने स्वभाव र साहस भएका हुन्छन् । उनीहरू आफ्नो भाग्यरेखा आफैँ बनाउँछन् र हाकाहाकी भन्छन्– भाग्य कसैको पेवा होइन । भारतीय राजनीतिज्ञ बाल ठाकरे पनि त्यस्तै मानिसको सानो जमातका एक हिस्सा थिए । सामान्य परिवारमा जन्मेर उनले नितान्त निजी प्रयासले जीवनमा त्यो मुकाम हासिल गरे जुन विरलै मानिसले मात्र गर्न सक्छन् । कसले पत्याउन सक्छ– एउटा साधारण कार्टुनिस्ट कालान्तरमा गएर स्वयं कहिल्यै ‘किङ’ नबने पनि भारतजस्तो ठूलो देशको केन्द्रीय सत्ताको पनि ‘किङ मेकर’ सम्म बन्न पुग्नेछ † सायद त्यसैले गत १७ नोभेम्बरमा यी अनौठा र सधैँ विवादित राजनीतिज्ञको हृदयाघातले निधन भएपछि भारतीय राजनीति बेग्लै किसिमले तरंगित हुन पुग्यो । शिवसेना ‘सुप्रिमो’ को अभावमा ठाकरे परिवार, उनको प्रगाढ सहयोगी दल भारतीय जनता पार्टी, उनका अन्य सहयोगी र समग्र हिन्दूस्तानको राष्ट्रिय राजनीतिमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव देखिने आमअनुमान छ । त्यो दूरवर्ती परिदृश्यभन्दा पहिले भावात्मक स्तरमा देखियो– उनको निधनमा समर्थक र प्रशंसकले आँसुको भल बगाए र उनको शोकमा अन्नत्याग गरे भने प्रवल विरोधीले राहतको धिपधिपे सास फेरे । यो अवस्थाको नेपथ्यमा देखिने तथ्य हो– भारतको आर्थिक–व्यापारिक राजधानी भनिने मुम्बईसमेत समेटेको पश्चिम भारतीय राज्य महाराष्ट्रमा
ठाकरेको प्रभाव कतिविधि थियो भने, कुनै समय भन्ने गरिन्थ्यो, ‘बाल ठाकरेको अनुमति बेगर महाराष्ट्रमा पात पनि हल्लिँदैन ।’ भनिन्छ, उनले एक औँलाको इसाराले भारतको व्यस्ततम वित्तीय राजधानी मुम्बईलाई हलचलशून्य बनाइदिन सक्थे †
बाल ठाकरेलाई सम्झने दुई कारण छन्– चरम दक्षिणपन्थी हिन्दूवादी दल शिवसेनाको स्थापना र सञ्चालन गर्नु, अनि बम्बईको परम्परागत नाम फेरेर त्यसलाई मुम्बई बनाउनु । उनी पाकिस्तानका पनि उत्तिकै कट्टर विरोधी भएरसमेत चिनिए । ग्ल्यामरस खेलमेला इन्डियन क्रिकेट लिग (आइपिएल)मा पाकिस्तानी खेलाडीलाई पनि समावेश गर्नुपर्छ भनेर त्यस मेलाको एक फ्रेन्चाइज कोलकाता नाइट राइडर्सका मालिक अभिनेता शाहरुख खानले विचार व्यक्त गर्दा त्यसो गर्नु हुँदै हुँदैन भनेर सबैभन्दा तीखो विरोध गर्ने उनै बाल ठाकरे थिए । त्यति मात्र होइन, भारतका ‘क्रिकेट भगवान्’ मानिने सचिन तेन्दुलकरले ‘म पहिला भारतीय हुँ, त्यसपछि मात्र मुम्बईवासी किनभने मुम्बई समग्र भारतकै एक हिस्सा हो’ भन्दा ठाकरेले तेन्दुलकरको पनि तीखो आलोचना गरेका थिए । उनकै नेतृत्वको शिवसेनाले सन् १९९२ मा अयोध्याको विवादित रामजन्मभूमि–बाबरी मस्जिद प्रकरणपछि हिन्दू–मुस्लिम साम्प्रदायिक दंगा भड्काएको र सयौँ निर्दोष मुसलमानलाई मारेको आरोप अझ जीवन्त छ । ठाकरेले सन् २००२ मा इस्लामिक आत्मघाती मानव बमको विकल्पमा त्यस्तै गरी हिन्दू आत्मघाती मानव दस्ता निर्माण गर्न आह्वान गर्दै वक्तत्व निकालेका थिए, (यस विषयमा ठाकरेविरुद्ध महाराष्ट्र सरकारले अदालती कारबाही नै अगाडि बढाएको थियो ।)
०००
उनको खास नाम बालकेशव ठाकरे हो । पछि सम्मानस्वरूप उनी बालासाहेब ठाकरे हुन पुगे र त्यसकै छोटकरी संस्करण बाल ठाकरे भनेर सर्वाधिक चिनिए । समर्थक र अनुयायी उनलाई बालासाहेब भन्थे, अन्यले बाल ठाकरे मात्र । तर, नाममै मात्र त के छ र ? जुनकुनै सम्बोधनले बोलाए पनि उनी करोडौँ महाराष्ट्रियनका लागि ‘हिन्दू ह्दय सम्राट’ थिए, मराठा गौरव र हिन्दूत्वका प्रतीक थिए र थिए महाराष्ट्रले जन्माएका सबैभन्दा ठूला नेता–व्यक्तित्व पनि ।
महाराष्ट्रकै पुनेको मराठी चन्द्रसेनिया कायस्थ प्रभु परिवारमा पिता केशव सीताराम ठाकरे (प्रबोधनकर)का चार छोराछोरीमा माहिलो सन्तान भएर २३ जनवरी १९२६ मा बाल ठाकरेको जन्म भएको थियो । उनका पिता जातीय छुवाछूतका विरोधी र प्रगतिशील लेखक थिए । सन् पचासको दशकमा महाराष्ट्रलाई मुम्बई राजधानी बनाएर केवल मराठीभाषीको मात्र बेग्लै राज्य निर्माण हुनुपर्छ भनेर चलाइएको ‘संयुक्त महाराष्ट्र आन्दोलन’ का एक प्रमुख हस्ती पनि थिए ।
मीना ठाकरेसित विवाहपछि बाल ठाकरे तीन छोरा बिन्दुमाधव, जयदेव र उद्धव गरी तीन छोराका अभिभावक बने । उनी पत्नी मीना हृदयाघातले गर्दा सेप्टेम्बर १९९६ मा दिवंगत भइन् भने सोही वर्ष २० अप्रिलमा एक सडक दुर्घटनामा जेठा छोरा बिन्दुमाधवको पनि निधन भइसकेको थियो ।
०००
बाल ठाकरेले आफ्नो व्यावसायिक जीवनको सुरुआत बम्बईको एउटा अंग्रेजी दैनिक ‘फ्री प्रेस जर्नल’मा कार्टुनिस्टको रूपमा गरेका थिए । उनीसित त्यही पत्रिकामा अहिलेका चर्चित भारतीय कार्टुनिस्ट आर के लक्ष्मण पनि सहकर्मी थिए । ठाकरेका कतिपय कार्टुन ‘द टाइम्स अफ इन्डिया’को आइतबारे संस्करणमा पनि छापिएका थिए । सन् १९६० मा उनले आफ्नै भाइसित मिलेर एउटा कार्टुन साप्ताहिक ‘मार्मिक’ प्रकाशन गर्न थाले । उनले यो साप्ताहिकलाई मुम्बईमा गैरमराठीभाषीविरुद्ध र खासगरी गुजराती र दक्षिण भारतीय कामदारको बढ्दो मुम्बई प्रवेशको विरोध गर्ने अभियानमा प्रयोग गरे ।
‘फ्री प्रेस जर्नल’ सित मतभेद उग्र भएर बढेपछि ठाकरे र जर्ज फर्नान्डिससमेत पाँचजनाले त्यो पत्रिकाबाट आफूलाई अलग गरे र नयाँ दैनिक ‘न्युज डे’ प्रकाशन गर्न थाले । तर, त्यो पत्रिका दुई महिनाभन्दा बढी बाँचेन ।
०००
बाल ठाकरेले १९ जुन १९६६ मा महाराष्ट्रका रैथाने मराठाहरूको स्वत्व र अधिकारका लागि भनेर नयाँ दल खोले र त्यसको नाम राखे – शिवसेना । यो नाम इतिहासमा मुगल शासकविरुद्ध अत्यन्त बहादुरीसाथ लडेका सर्वसम्मानित एवं सर्वप्रिय मराठा योद्धा शिवाजी राव भोसलेको नामको आधारमा राखिएको थियो । शिवसेनाको प्रारम्भिक लक्ष्य आप्रवासी दक्षिण भारतीय, गुजराती र मारवाडीविरुद्ध जीविकाको प्रतिस्पर्धामा रहेका महाराष्ट्रियनका लागि रोजगार सुरक्षाको प्रत्याभूति प्रमुख थियो । यसैक्रममा सन् १९८९ देखि शिवसेनाको मुखपत्रका रूपमा ‘सामना’ को प्रकाशन हुन थाल्यो ।
विकीपिडियाका अनुसार, राजनीतिक रूपमा शिवसेना सुरुदेखि नै कम्युनिस्टविरोधी थियो र यसले चाँडै नै मुम्बईमा रहेका धेरैजसो ट्ेरड युनियनमा रहेको भारतीय कम्युनिस्ट पार्टीको पकड समाप्त पारिदियो र आफ्नो फलामे पकड स्थापित गर्दै लग्यो । पछि शिवसेनाले भारतीय जनता पार्टीसित गठबन्धन गर्‍यो । भाजपा–शिवसेना गठबन्धनले सन् १९९५ को महाराष्ट्र राजय विधानसभाको निर्वाचन जितेर सत्तारूढ बन्यो । ०९५–०९९ सम्मको उक्त सत्ता अवधिमा बाल ठाकरेलाई ‘रिमोट कन्ट्रोल’ भन्ने उपनाम प्राप्त भयो किनभने उनी कुनै पदमा नबसे पनि पर्दा पछाडि बसेरै सरकारी नीति निर्माण र निर्णयमा प्रमुख भूमिका निर्वाह गरिरहेका हुन्थे ।
ठाकरेले सधैँ के दाबी गरिरहे भने शिवसेनाले मुम्बईमा मराठी भाषा बोल्ने व्यक्तिहरू ‘मराठी मानुस’ लाई ठूलो सहयोग पुर्‍याएको र हिन्दू जनताको अधिकारका लागि लड्दै आएको छ । ठाकरे आफँै पनि कट्टर हिन्दू थिए र उनको स्पष्ट मान्यता थियो– हिन्दूहरूको पहिचान र धर्मको विरोध गर्नेहरूविरुद्ध हिन्दूहरू संगठित हुनुपर्छ ।
बाल ठाकरेले आफू सक्रिय राजनीतिबाट अवकाश लिने भन्दै शिवसेनाको नेतृत्व कान्छा छोरा उद्धवलाई हस्तान्तरण गरेपछि यसबाट असन्तुष्ट बनेका भतिजा राज ठाकरेले २००६ मा शिवसेनालाई विभाजित गर्दै नयाँ पार्टी महाराष्ट्र नवनिर्माण सेना खोले । यसबाट सेनाको चुनावी परिणाम उल्लेखनीय ढंगले प्रभावित हुन पुग्यो ।
०००
ठाकरेको अझ आलोचना उनले नरसंहारकारी जर्मन तानाशाह हिटलरको प्रशंसा गरेको सन्दर्भले पनि हुने गर्छ । ‘एसिया विक’ पत्रिकाले ठाकरेको भनाइ उद्धृत गर्दै छापेको थियो, ‘म हिटलरको उच्च प्रशंसक हुँ । त्यसो भन्दा मलाई कुनै अप्ठेरो महसुस हुँदैन । उसले अपनाएका सबै तौरतरिका ठिक थिए भनेर म भन्दिन तर साँचो कुरा के हो भने उनी एकजना विस्मयकारी संगठक र महान् वक्ता थियो । र, मलाई लाग्छ, उसमा र ममा मिल्ने कुराहरू धेरै नै छन् … भारतमा पनि आवश्यक के छ भने कुनै एउटा तानाशाह जन्मियोस् र उसले उदारतापूर्वक तर फलामे नियन्त्रणका साथ शासन चलाओस् ।’ त्यसैगरी ‘इन्डियन एक्सप्रेस’ पत्रिकाले २९ जनवरी २००७ मा ठाकरेको अन्तर्वार्ता प्रकाशित गरेको थियो जसमा उनले भनेका थिए, ‘हिटलरले बहुतै नृशंस र भद्दा काम गर्‍यो । तर, ऊ एउटा कलाकार थियो, त्यसकारण म उसलाई मन पराउँछु । ऊसित एउटा सिंगो देश हाँक्न सक्ने अद्भुत शक्ति थियो, आफूसितै भिड हिँडाउन सक्ने क्षमता थियो । उसले यहुदीहरूको नरसंहार गर्‍यो जुन गलत थियो तर ऊ एकजना कलाकार थियो । ऊ अद्भुत थियो ।’ पछि एकपटक स्टार टक सोमा बोल्दै उनले आफू हिटलरको प्रशंसक नरहेको उल्लेख गरेका थिए ।
०००
भनिन्छ, ठाकरे परिवारमा पछिल्लो लामो समयदेखि बुहारीहरूको प्रभाव अलि बढी नै थियो । महाराष्ट्रमा शिवसेना–भाजपा राज्य सरकार बनेको अवधिमा ठाकरेकी माइली बुहारी स्मिता ठाकरे निरन्तर मिडियाको हेडलाइनमा आइरहने गर्थिन् । तर, लामो समयसम्म स्मिताको प्रभाव कायम रहन सकेन । चाँडै नै स्मिताको ठाउँमा कान्छा छोरा उद्धवकी पत्नी रश्मि ठाकरेको प्रभाव बढ्दै जान थाल्यो । उद्धवलाई राजनीतिमा खासै चासो थिएन तर रश्मिकै दबाबमा परेर उनले शिवसेनाको सक्रिय राजनीतिमा भाग लिन थाले । कान्छी बुहारी रश्मिकै दबाबलाई स्वीकार गरेर बाल ठाकरेले शिवसेनाको राजनीतिमा बढी चिनिएका भतिजा राज ठाकरेको सट्टा छोरा उद्धवलाई आफूपछि शिवसेनाको नेतृत्व हस्तान्तरण गरेका थिए । नेतृत्व–हस्तान्तरणको यो पुत्रमोह देखेर रिसाएका असन्तुष्ट राज ठाकरेले आफ्नो बेग्लै पार्टी ‘महाराष्ट्र नवनिर्माण सेना’ गठन गरे र त्यसपछि उनी २००९ को लोकसभा–विधानसभा र अन्य स्थानीय निकायका निर्वाचनमा शिवसेनालाई उल्लेखनीय क्षति पुर्‍याउँदै आइरहेका छन् ।
भनिन्छ, बाल ठाकरेले आफ्नो अन्तिम समयतिर उद्धव र राजबीचको मतभेद हटाउने प्रयास गरेका थिए । तर, उनले अगाडि सारेको प्रस्ताव रश्मिले स्वीकार गरिनन् । अबको अवस्था, भनिन्छ, के हो भने बाल ठाकरेको अनुपस्थितिमा ठाकरेको परिवारको आन्तरिक समीकरण बुहारीहरूमाथि नै अधिकतम निर्भर रहनेछ ।
०००
बाल ठाकरे अतिवादी राजनीतिज्ञ थिए । उनी कुशल संगठक र प्रभावशाली वक्ता पनि थिए । आफ्नो संकुचित राजनीति सुहाउने गरी उनी अनेक अराजक कुरा बोलिरहन्थे र चर्चामा छाइरहन्थे । तापनि साँचो कुरा के हो भने बाल ठाकरे कहिल्यै भिडका पछाडि हिँडेनन्, सधैँ भिड ठाकरेका पछाडि हिँडिरहयो । त्यो मराठा भिडले उनलाई मराठी गौरवको प्रतीक मान्यो र अब उनको स्मारक मुम्बईको प्रमुख दर्शनीय स्थलमा बनाउने तयारीमा लीन छ ।

प्रतिक्रिया