एटिएमले पायो सोलो रिलिज

काठमाडौं : एक–अर्कासँग लडाइँ झगडा गरेर कसैलाई फाइदा छैन, त्यो चाहे फाइटमा होस् या अन्यमा । यो विषय नेपाली चलचित्रका निर्माताले बुझेका हुन् अथवा संयोग नै त्यस्तो जुरेको हो– परम्पराको लिकबाट हट्दै बितेको शुक्रबारबाट एउटै मात्र चलचित्र रिलिज हुन थालेको छ । शुक्रबार चलचित्र रिलिजको परम्परा धान्दै अघिल्लो हप्ता ‘लंका’ चलचित्रले सोलो रिलिज पाएको थियो भने यो शुक्रबार पनि एक मात्र चलचित्र एटिएम (एनी टाइम मस्ती ) प्रदर्शनमा आउँदै छ ।
निर्माणकै क्रममा अश्लील दृश्य र संवादसहितको प्रोमो युटयुबमा राखेपछि विभिन्न आलोचना खेपेको एटिएमलाई चलचित्र सेन्सर बोर्डले आपत्तिजनक दृश्यमा कैँची लगाइसकेपछि एडल्ट सर्टिफिकेट दिएर प्रदर्शनका लागि केही समयअगाडि फुकुवा गरेको थियो ।
दिनेश थापा, सोनिया शर्मा, जिया केसी आदिको लिडरोल रहेको चलचित्र एटिएमलाई दिनेश थापाले नै निर्माण गरेका छन् भने निर्देशक यादव सिलवाल रहेका छन् ।
देशभरका प्राय: स्टेसनबाट एकै साथ प्रदर्शनमा आउन लागेको एटिएम अब भने ‘निर्माण कालमा युटयुबमा प्रोमो राखेपछि विवादास्पद ठहर्‍याइएका अश्लील दृश्य र छाडा संवाद पूरै हटाइएकाले सबैले हेर्न लायक भएको’ निर्माता दिनेश थापाको दाबी छ । (सौस)

प्रतिक्रिया