लमजुङ : चलचित्र निर्देशक समाजको आयोजनामा सञ्चालित तेस्रो राष्ट्रिय चलचित्र वर्कसप बिहीबार लमजुङको घले गाँउमा सुरु भएको छ । वर्कसपको उद्घाटन भने बुधबारै बेँसीसहरमा भएको थियो । निर्देशक समाजले लामो तयारीपश्चात् वर्कसप उद्घाटनका लागि प्रधानमन्त्री तथा मन्त्री लैजाने पहल गरे पनि पछिल्लो समय बिग्रिएको राजनीतिक माहोलले उनीहरू कोही पनि उपस्थित हुन सकेनन् । तसर्थ, वर्कशपको उद्घाटन प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले गरेका थिए ।
त्यसो त निर्देशक समाजले वर्कसप उद्घाटनमा निशा अधिकारी, केकी अधिकारी, जीवन लुइँटेलसमेत थुप्रै कलाकार लमजुङ पुग्ने प्रचार गरेको थियो । तर, वर्कसप उद्घाटनमा निर्देशक दिनेश डिसी, डा. घनश्याम खतिवडा, गायक दीपक लिम्बु, अभिनेता गजित विष्ट, हास्यकलाकार उमेश मायालु, सुरेश असीम आदिका अतिरिक्त अन्य कुनै चिनिएका अनुहार त्यहाँ देखिएनन् ।
७ देखि ११ मंसिरसम्म सञ्चालन हुने पाँचदिने वर्कसपमा चलचित्रसम्बन्धी विविध विषयमा जानकारी गराइने भएको छ तर चलचित्रका विविध पहलुबारे गम्भीर ज्ञान दिने उद्देश्य रहेको वर्कसपमा पनि कलाकर्मीको सहभागिता न्यून त छँदै छ, उद्घाटनमा पुगेका कलाकर्मीसमेत सबै फर्किसकेका छन् । बेँसीसहरबाट करिब ३० किलो मिटर पर रहेको घले गाउँ केही उचाइमा पर्ने भएकाले अहिलेको चीसो मौसममा त्यो ठाउँ आफ्ना लागि अनुकूल नभएको भन्दै अनेक चलचित्रकर्मीले वर्कसपमा सहभागीता नजनाउने यसअगाडि नै बताएका थिए । (सौस)
प्रतिक्रिया