किरिया सकियो

स्याङ्जा, ८ मंसिर । ब्रिटिस साम्राज्यको रक्षा र विस्तारका लागि लड्दा मारिएका ६० हजारभन्दा बढी गोरखा सैनिकको सामूहिक काजकिरिया गरिएको छ । सातबुँदे साल्मेडाँडा घोषणापत्र जारी गर्दै तीनदिन अघिदेखि सुरु भएको काजकिरिया बिहीबार समापन भएको हो ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले ब्रिटिस सरकारलाई नैतिक दबाब दिन र पुर्खाप्रति श्रद्धाञ्जली दिन काजकिरिया गरेको हो । ब्रिटिसका पक्षबाट लड्दा मारिएका १६ जातिका धर्मगुरु र किरियापुत्री काजकिरियामा सहभागी थिए । किरियामा गुरुङ, मगर, राई, लिम्बू, पुन, हयोल्मो, नेवार, तामाङ, बाहुन, क्षत्री, विश्वकर्मा, याक्खा, भुजेल, ठकुरी, दुरा र मिजारसहित १७ जातिका सहभागी भए ।
१७ जातिका धर्मगुरुद्वारा हस्ताक्षरित साल्मेडाँडा घोषणपत्रमा ब्रिटिसले औपचारिक सहमति र सम्झौताविना नेपाली युवालाई युद्धमा होमेर मानवताविरोधी काम गरेको भन्दै भत्र्सना गरेको छ । ‘ब्रिटिस साम्राज्यले करिब दुई सय वर्ष अघिदेखि नेपाली युवालाई अवैधरूपमा सेनामा भर्ती गरेर युद्धमा होम्दै आएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘औपचारिक सहमति र सम्झौताविना नै एउटा सार्वभौम देशका नागरिकलाई युद्धमा होम्ने मानवताविरोधी कदमको भत्र्सना गर्छांै ।’
यस्तै ब्रिटिसका पक्षबाट लड्दा मारिएका सैनिकको यकिन तथ्यांक सार्वजनिक गर्न पनि माग गरिएको छ । धर्मगुरुहरूले विदेशी भूमिमा मारिएका नागरिकका बारे नेपाल सरकारले पनि चासो नदेखाएकोमा खेद व्यक्त गरेका छन् । यस्तै ब्रिटिस साम्राज्यको रक्षा र विस्तारका क्रममा गोरखालीले विभिन्न देशको सार्वभौमसत्ता र त्यस देशका जनताको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको उल्लेख गर्दै गल्तीप्रति क्षमायाचना पनि गरेको छ ।
दुई शताब्दी अघिदेखि नेपाली युवा ब्रिटिस सेनामा काम गर्दै आएका छन् । ‘दुईवटा विश्वयुद्ध र विभिन्न क्षेत्रीय युद्धमा गरी ६० हजारभन्दा बढी गोरखा सैनिक मारिएका छन् तर ब्रिटिस साम्राज्यले न तिनका परिवारलाई राहत नै दियो न उनीहरूको सम्मानमा केही काम गर्‍यो,’ गेसो सभापति पदमबहादुर गुरुङले भने, ‘तिनै बेवास्ता गरिएका गोरखा सैनिकको भड्किरहेको आत्मालाई स्वर्ग तार्न सामूहिक किरिया गरेका हाँै ।’ गेसोले स्याङ्जाको फेदीखोला–८ स्थित साल्मेडाँडामा रहेको ३ सय रोपनी जग्गामा गोरखा स्मारक बनाउँदै छ ।
यसरी भयो किरिया
तीन देशका ब्रिटिस गोरखा सैनिकका परिवार, आफन्त र विश्वयुद्धमा आफन्त गुमाएका परिवारका सदस्यहरू साल्मेडाँडा आएका थिए । सामूहिक काजकिरियाकै लागि बेलायत, हङकङ, अमेरिका, भारत तथा अन्य देशबाट विश्वयुद्धका भेटेरान, घाइते तथा तिनका आफन्त पनि साल्मेडाँडा आएका थिए । बौद्ध धर्मावलम्बीका धर्मगुरुको मन्त्रोच्चारण, मगरको लोरी श्लोक तथा लिम्बूको मुन्धुमी नाचले माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरिको सफा पृष्ठभूमिमा उभिएको साल्मेडाँडालाई तीन दिनसम्म जनजाति मौलिक सांस्कृतिक रंगले भिजाएको थियो । १६ जातिका मृत्यु संस्कारमा बजाइने बाजा र गाइने गीतले तीन दिनसम्म साल्मेडाँडा गुन्जायमान बनेको थियो ।

प्रतिक्रिया