कसलाई बोनस कति ?

नेपाल टेलिकमले केही दिनअघि उपभोक्तालाई बोनस ब्यालेन्स बााड्यो । यसअघि यस्तो बोनसको अभ्यास नभएकाले उपभोक्ताले थाहा पाएनन् । जति कल गरे पनि रिचार्ज गरेको ब्यालेन्स नघटेपछि सबै अचम्ममा परे । टेलिकमले बोनस ब्यालेन्स दिएको छ र त्यो घटिरहेको छ भन्ने थुप्रैले धेरै बेरसम्म पनि थाहा पाएनन् । जब थाहा पाए तब भने उत्सुकतापूर्वक ब्यालेन्स चेक गर्न थाले । नेपाली कलाकारहरू पनि बोनसबारे कोही अनभिज्ञ रहे त कोही अचम्ममा परे । उनीहरूले आफ्नैखाले अनुमान गरे :
शिव रेग्मी : बोनसका बारेमा मलाई थाहा छैन । घरायसी काममा केही दिन अल्झिएकाले पनि थाहा नभएको होला । कसैकसैले सुनाएजस्तो त लाग्थ्यो तर चासै दिएनछु ।
अनु शाह : मैले बुधबार बिहान मात्र थाहा पाएँ । थाहा पाउनेबित्तिकै ब्यालेन्स चेक गर्दा २ सय रुपियाँको बोनस आएको रहेछ । यो दसैँतिहारमा गरेको रिचार्जको १० प्रतिशत बोनस आएजस्तो मलाई लागेको छ । फेरि नेपाल टेलिकमले कुनै अवसर पारेर दिएको हो कि भन्ने पनि लाग्यो । आखिर जे उपलक्ष्यमा आए पनि फाइदै भएको छ ।
दीपा पन्त : बोनसका बारेमा मंगलबार बेलुका मात्र थाहा पाएँ । हेर्दा त ८० रुपियाँ बोनस रहेछ । बोनसको यो तरिका मलाई मन पर्‍यो । त्यसपछि मैले पनि बोनस आएको खबर
धेरैलाई गरिदिएँ । बोनस रकम आगामी जनावरी २० सम्म प्रयोग गर्न सकिने भएकाले मैले त अझै सुरक्षित राखेकी छु । चाडपर्वमा केही विशेष त गर्नैपर्‍यो भनेर टेलिकमले यो बोनस दिएको होला । तर, पहिल्यै जानकारी दिएको भए अझ राम्रो हुन्थ्यो ।
उत्तम केसी : मैले दुई सय २१ रुपियाँ बोनस पाएँ । पैसा सकियो होला भनेर रिचार्ज गर्दा पो बोनस थाहा पाएँ । टेलिकमको स्थापना दिवस वा दसैँतिहारका अवसरमा बोनस बाँडिएको होला भन्ने लागेको छ । यसबारे सोमबार थाहा पाउनासाथ धेरैलाई फोन गरेर बोनस सिध्याएँ पनि । जेको उपलक्ष्यमा भए पनि ग्राहकले बोनस पाउनुलाई राम्रै मानेको छु ।
कुमार कट्टेल : मंगलबार बिहान मात्र थाहा पाएँ । दुई सय ११ रुपियाँ आएको रहेछ । कल गर्दा पनि ब्यालेन्स घटेजस्तो लागेन सुरुमा । फेरि राम्ररी चेक गर्दा त बोनस रकम पो आएको रहेछ । त्यो त घटिहालेछ नि † त्यसपछि अरूलाई पनि यो कुरा सुनाएँ । मलाई चाहिँ टेलिकमले कुनै नयाँ स्किम ल्याएजस्तो लाग्यो । बोनसको यो सिस्टम टेलिकमले महिनामा एकपटक ल्याइदिए नि हुन्थ्यो †
शोभा त्रिपाठी : मैले त बुधबार मात्र थाहा पाएँ । तर, मेरो मोबाइलमा बोनस आएको छैन । धेरैको मुखबाट सुने पनि आफूलाई नआउँदा विश्वास लागेको छैन ।
सोनिया केसी : मलाई त मात्र एक सय रुपियाँ आएछ । बुधबार बिहानै भाइले फोन गरेर भनेपछि थाहा पाएँ । मेरा साथीहरूलाई चाहिँ धेरैधेरै बोनस आएछ । नेपाल टेलिकमले आफ्नो जन्मदिन पारेर बाँडेको होला । मैले त तुरुन्तै फोन गरेर बोनस सकिसकेँ । जे होस्, यसरी बोनस आउँदा जति पाए पनि राहतको महसुसचाहिँ हुँदो रहेछ ।

प्रतिक्रिया