चेल्सी संकटमा, बार्सिलोना अगाडि

लन्डन, ७ मंसिर । पूर्वविजेता बार्सिलोना नकआउट चरण प्रवेश गरेका दिन युरोपियन च्याम्पियन्स लिग फुटबलको अर्को खेलमा मंगलबार युभेन्ट्सविरुद्ध पराजित भएपछि साविक विजेता चेल्सीको समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।
बायर्न म्युनिखलाई फाइनलमा टाइब्रेकरमा निराश बनाउँदै गत वर्ष पहिलोपटक युरोपियन च्याम्पियन बनेको चेल्सी समूहको बाँकी रहेको एक मात्र खेलमा विजयी भएमा भने उपाधिरक्षाको अभियानमा कायम रहने सम्भावना हुनेछ । तर हारको स्थितिमा चेल्सी साविक विजेताका रूपमा खेलिरहेर पनि समूह चरणबाटै बाहिरिने यस प्रतियोगिताको इतिहासमै पहिलो टोली हुनेछ ।
समूह–ई अन्तर्गत पाँच खेलबाट सात अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ । समान खेल खेलेका साख्तर डोनेट्स्कको १० र युभेन्ट्सको नौ अंक छ । सोही समूहको अर्को खेलमा मंगलबार डोनेट्स्कले नर्दसजाइल्यान्डलाई ५–२ ले पराजित गर्‍यो ।
इटालियन लिग च्याम्पियन युभेन्ट्सलाई छनोट यात्रामा बलियो बनाउने क्रममा चेल्सीविरुद्ध फाबिओ क्वाग्लिआरेला, अर्तुरो भिदाल र सेभास्टियन जिओभेन्कोले गोल गरे । पहिलो हाफसम्म १–० ले अगाडि रहेको युभेन्ट्स मध्यान्तरपछि आधा दर्जनभन्दा बढी गोलका अवसरमा देखिएको थियो । पहिलो हाफमा चेल्सीका लागि ब्राजिलियन फरवार्ड ओस्कारले निकै राम्रो प्रदर्शन गरे पनि उनी विपक्षीको कडा निगरानीमा रहे । दोस्रो हाफको मध्यतिर फर्नान्डो टोरेस मैदान प्रवेश गरे पनि चेल्सीले बराबरीको सम्भावनासमेत देखाउन सकेन ।
चेल्सीले समूहको अन्तिम खेलमा नर्दसजाइल्यान्डविरुद्ध खेल्नेछ । यस समूहको बाँकी खेलमा भने युभेन्ट्स र डोनेट्स्क भिड्नेछन् ।
समूह–जी अन्तर्गतको खेलमा लिओनेल मेसीबाट प्रेरित बार्सिलोनाले विपक्षी मैदानमा खेलिएको खेलमा स्पार्टक मस्कोलाई ३–० ले पराजित गर्‍यो । पहिलो हाफमा मेसीले दुई गोल थप्नुअघि डानी एल्भिजले बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । पाँच खेलपछि बार्सिलोना १२ अंकसहित शीर्षस्थानमा रहँदा यो समूहबाट अघिल्लो चरण प्रवेश गर्ने बाँकी टोलीका लागि सेल्टिक र बेनेफिकाबीच कडा टक्कर हुने देखिएको छ । अघिल्लो खेलमा बार्सिलोनालाई निराश बनाएको स्कटिस क्लब सेल्टिक बुधबार बेनेफिकाविरुद्ध २–१ ले पराजित भएपछि दोस्रो स्थानका लागि कडा होडबाजी देखिएको हो । समूहको अन्तिम खेलमा बार्सिलोनाले बेनेफिका र सेल्टिकले स्पार्टक मस्कोविरुद्ध खेल्नेछन् ।
बार्सिलोनाका अतिरिक्त अर्को स्पेनिस क्लब भ्यालेन्सिया पनि नकआउट चरण पुग्यो । पहिलो हाफमा १० खेलाडीमा सीमित भए पनि साविक उपविजेता बायर्न म्युनिखविरुद्ध १–१ को बराबरी खेल्दै भ्यालेन्सिया समूह–एफबाट अन्तिम १६ मा पुग्ने निश्चित भएको हो । एक खेल खेल्न बाँकी छँदा बायर्नसँगै समान १० अंक भएको भ्यालेन्सिया तेस्रो स्थानको बेट बोरिसोभभन्दा चार अंकले अगाडि छ । सोही समूहको अर्को खेलमा लिलेविरुद्ध २–० ले पराजित भएपछि बोरिसोभ समूह चरणबाटै बाहिरिने पक्का भएको हो ।
चेल्सी कठिन परिस्थितिमा पुगेको दिन यसअघि नै अघिल्लो चरण पुग्ने निश्चित गरिसकेको म्यानचेस्टर युनाइटेडले गालासातारेलाई १–० ले नतिजा सुम्पँदै समूह–एचबाट नकआउट चरण प्रवेश गर्ने दोस्रो टोलीका लागि कडा प्रतिस्पर्धाको परिस्थिति सिर्जना गर्‍यो । गालासातारे र सिएफआर क्लुज समान सात अंकसहित म्यान–युभन्दा पाँच अंकले पछि छन् । अर्को खेलमा क्लुजले ब्रागालाई ३–१ ले पराजित गर्‍यो । एजन्सी

डी माटेओ बर्खास्त
युरोपियन च्याम्पियन्स लिगमा बुधबार युभेन्ट्सविरुद्ध पराजित भएपछि चेल्सीले प्रशिक्षक रोबर्टो डी माटेओलाई बर्खास्त गरेको छ । क्लबको खराब प्रदर्शनपछि गत वर्ष तत्कालीन प्रशिक्षक आन्द्रे भिल्लास बोआसलाई बर्खास्त गर्दै चेल्सीले माटेओलाई प्रशिक्षक बनाएको थियो । यसअघि चेल्सीमै सहायक प्रशिक्षक रहेका उनले चेल्सीलाई कठिन परिस्थतिबाट माथि उठाउँदै युरोपियन च्याम्पियन्स लिगको उपाधिसम्म पुर्‍याएका थिए । तर पछिल्लो समय चेल्सीको प्रदर्शन कमजोर रहेपछि इटालियन माटेओको आलोचना हुन थालेको थियो । पछिल्ला चार खेलमा दुई हार र दुई बराबरी खेलेपछि चेल्सी इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानबाट दुई स्थान तल झरेको छ । गत जुनमा मात्र माटेओ स्थायीरूपमा चेल्सी प्रशिक्षक नियुक्त भएका थिए ।
यसैबीच चेल्सीका मालिक रोमन अब्रामोभिचले क्लबको नयाँ प्रशिक्षकमा बार्सिलोनाका पूर्वप्रशिक्षक पिप गार्डिओलालाई पहिलो रोजाइमा राखेको संकेत गरेका छन् । उनको दोस्रो रोजाइमा लिभरपुलका पूर्वप्रशिक्षक इटालियन राफा बेनितेज रहेको बताइएको छ ।

प्रतिक्रिया