दोहोरो नागरिकता लिएको पुष्टि

कैलाली : आठ वर्षदेखि धनगढीमा व्यापार गर्दै आएका एक भारतीयले नेपाली नागरिकता लिएको पुष्टि भएको छ । भारत, उत्तरप्रदेश बलरामपुरका सुनीलकुमार महेश्वरीले कपिलवस्तु, कृष्णनगर–४ बाट १८ माघ ०६३ मा नेपाली नागरिकता लिएको पाइएको छ । जन्मका आधारमा दिइएको उनको नागरिकताको प्रमाणपत्र नं. ३८३०७०/१०२ छ ।
उनी ०६१ मा व्यापारका क्रममा धनगढी आएका थिए । उनकी पत्नी अंकिता महेश्वरी (अग्रवाल) ले पनि कपिलवस्तुबाटै ०६५ माी नागरिकता पाएकी थिइन् । सुनील बलरामपुर जिल्ला, ठेहेरीबजारका निवासी रहेको बलरामपुर जनपदबाट जारी उनको नागरिकता प्रमाणपत्रमा उल्लेख छ । धनगढी नगरपालिकामा उनले सञ्चालन गरेको सोमानी स्टोरका नाममा कैलाली उद्योग वाणिज्य संघले १७ मंसिर ०६२ मा सदस्यता प्रदान गरेको पाइएको छ ।
१ मंसिरमा दोहोरो नागरिकताको प्रसंग चलेपछि उनले सोमानी स्टोरको कागजपत्र गायब पार्नुका साथै उनको नाममा रहेको रिक्सा स्थानीय ओमप्रकाशका नाममा नामसारी गरेका छन् । उनले केही समयअघि मात्र धनगढी–३ मिलनचोकमा जग्गा किनेका थिए । नागरिकताबारे कपिलवस्तुका सहायक सिडिओ प्रेमसिंह कुँवरले ०६३ मा जन्मको आधार देखाउँदै लाखौँ व्यक्तिले नागरिकता लिएकोमा हुलमुलमा परेको हुन सक्ने बताए । दोहोरो नागरिकता लिएको चर्चालगत्तै सुनील फरार छन् । (सौस)

प्रतिक्रिया