“बैंककमा सपिङ गर्ने रहर छ”

बजेट तोकेर सपिङ गर्ने मेरो बानी छैन । सपिङ गर्ने कुरा टेलिकमको बिल तिरेजस्तो कहाँ हो र ? आवश्यकता हेरेर सपिङ गर्ने हो । बजारमा पुगेपछि पहिला जुन राम्रो सामान छ, त्यसैमा आँखा पर्छ । अनि, आफूलाई सुहाउँछ कि सुहाउँदैन, टेस्ट गर्छु । शरीरमा फिट हुने भयो भने महँगो–सस्तो मतलब राख्दिनँ । न त यही ब्रान्ड भन्ने नै हुन्छ । बार्गेनिङ पनि खासै हुँदैन । हुन त मलाई बार्गेनिङ गरेर सपिङ गर्न निकै मन पर्छ । तर, सेलिब्रिटी भएपछि फिक्स प्राइस भएका सपिङ मलमा जानुपर्छ । बार्गेनिङ गर्ने कुरै भएन । प्राय: घरका सामान किन्नुपरे भाटभटेनी जान्छु । कपडा किन्न कुमारीपाटी, न्युरोड, बानेश्वर जान्छु । गरगहना किन्नचाहिँ सँधै न्युरोड ।
सपिङ गर्न घरबाहिरका साथीसँग जाने बानी छैन । प्राय: एक्लै जान्छु, कहिलेकाहिँ ‘ड्याडी’ सँग पनि गइन्छ । महिनामा यति नै चोटि सपिङ गर्छु भन्ने छैन । सबैभन्दा बढी सुटिङको बेलामा सपिङ जानुपर्छ । काठमाडौं भन्दा बाहिर जानुपर्‍यो भने एकैपटक ५०/६० हजारको सपिङ पनि गरिन्छ ।
अलि बढी खर्चचाहिँ कस्मेटिक सामान किन्दा हुन्छ । फेसमा पिम्पल आउने स्किन भएकाले पनि ब्रान्डेड खालका कस्मेटिक प्रयोग गर्नु पर्छ । फेसमा लगाउने भएपछि जस्तो पायो त्यस्तो प्रयोग गर्नु पनि भएन । स्किनको प्रोटेक्टका लागि कहिले एलोपेथिक डाक्टर, कहिले होमियोपेथिक डाक्टर त कहिले साथीहरुको सल्लाह मान्दा पनि कस्मेटिक सामानमा खर्च अलि बढी हुन्छ ।
विदेशमा गएर सपिङ गरेमध्ये सबैभन्दा रमाइलो दिल्लीमा भएको थियो । दिल्लीको फुटपाथमा खानेकुरादेखि कपडा, जुत्तालगायत सामग्रीसमेत एकै ठाउँमा किन्न पाइयो । त्यो पनि सस्तोमा । सो रुममा एक जोर जुत्तालाई एक हजार रुपियाँ परेको थियो । फुटपाथमा चाहिँ एक हजार भारतीय रुपियाँमा तीन जोर जुत्ता किनेँ । अनि, अमेरिकामा किन्न पनि रमाइलै लागेको थियो ।
विदेशमा सपिङ गर्दा पनि यही नै किन्छु भन्ने योजना हुँदैन । आफूलाई मन परेको किन्छु । पछिल्लो पटक अमेरिका जाँदा चाहिँ छोरीको लागि सपिङ गरे । अमेरिकामा मलाई बच्चाको सपिङ गर्न मन पर्‍यो । कतिपय मैले कहिल्यै नदेखेका सामान पनि थिए । विदेश जाँदा आफन्तहरूले गिफ्ट ल्याइदिनू भन्छन् । जुत्ता, ब्याग, कस्मेटिक, परफ्युम, ज्याकेटलगायत ल्याइदिन्छु । मलाई सपिङकै लागि ब्याङ्कक पुग्ने रहर छ तर अहिलेसम्म जुरेको छैन । एकपटक भिसा लागेर पनि सुटिङका कारण जान पाइन ।
अहिलेसम्म गरेको सपिङबाट भने सन्तुष्ट छु । भगवान्ले पुर्‍याइदिएर पनि होला, पैसा नपुगेर आफूले रोजेको सामान छाडेर हिँड्नुपरेको छैन । सपिङ गर्न पनि बजेटिङमा चल्नुपर्‍यो भने त डगमगाएरै मर्छु होला । (वार्तामा आधारित)

प्रतिक्रिया