किन रोए अमिक र लक्ष्मण ?

काठमाडौं, ५ मंसिर । ‘अन्तिम सन्देश’ नामक डकुमेन्ट्री हेरे पछि एकीकृत माओवादी नेता अमिक शेरचन र कांग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरे रोएका छन् ।
माओवादीको सशस्त्र द्वन्द्वका क्रममा आफन्त हराएका परिवारका पीडालाई समेटिएको डकुमेन्ट्री ‘अन्तिम सन्देश’ हेर्दै गर्दा शेरचन र घिमिरेले आँशु बगाएको डकुमेन्ट्रीका निर्देशक एवं सञ्चारकर्मी गणेश पाण्डेले जानकारी दिए ।
‘सुर्खेत लाटीकोइलीकी दीपा ओलीले सैनिक हिरासतबाट लेखेको अन्तिम पत्रलाई मुख्य कथावस्तु बनाइएको यो डकुमेन्ट्री जति अघि बढ्दै थियो, नेताहरु उति नै आँशुका बर्षा गर्दै थिए,’ पाण्डेले भने ।
‘मैले आफूलाई थाम्नै सकिन, मानवीय संवेदनाले नराम्रोसँग घोच्दोरहेछ,’ डकुमेन्ट्री प्रदर्शनपछिको अन्तरक्रियामा शेरचनले भने ।
कांग्रेस नेता घिमिरेले डकुमेन्ट्री हेर्दै गर्दा द्वन्द्वका क्रममा बिभत्स हत्या गरिएका आफ्ना पुराना नेता कार्यकर्तालाई सम्झेछन् । ‘द्वन्द्वकालमा मैले मेरा धेरै नेता र कार्यकर्ताको विभत्स मृत्यु देखेको छु,’ उनले भने, ‘डकुमेन्ट्री हेर्दा ती नेता कार्यकर्ताको मृत्युको पीडाले सतायो ।’
सञ्चारकर्मी पाण्डेले निर्देशन गरेको डकुमेन्ट्री ‘अन्तिम सन्देश’ राजधानीमा जारी मानवअधिकार फिल्म सप्ताहको अवसर पारेर मंगलबार सर्वनाम थिएटरमा प्रदर्शन गरिएको थियो ।
डकुमेन्ट्रीमा सेनाको हिरासतबाट परिवारलाई अन्तिम पत्र लेखेकी सुर्खेत लाटीकोइली गाविसकी दीपा ओलीको मुद्दालाई मुख्य कथाको रुपमा चित्रित गरिएको छ ।
बाबुको श्राद्ध गर्दै गर्दा माओवादीले अपहरण गरी बेपत्ता बनाएका बाँके शम्शेरगञ्जका एमाले कार्यकर्ता राजेन्द्र ढकाल, सेनाबाट बेपत्ता पारिएका बर्दियाका केशर बस्नेत तथा सुरेश ओलीलगायतको घटनालाई प्रतिनिधिमुलक घटनाको रुपमा डकुमेन्ट्रीमा उठाइएको छ ।
सशस्त्र द्वन्द्वका क्रममा ६ हजार भन्दा बढीको मृत्यु भएको छ । एक हजार भन्दा बढी बेपत्ता छन् । बेपत्ताका परिवारले कि लास कि त सास देऊ भन्दै राज्यसँग संघर्ष गरिरहेका छन् । त्यो संघर्षलाई डकुमेन्ट्रीमा उतार्ने प्रयत्न गरिएको छ ।

प्रतिक्रिया