मित्रता बढाउन चाहन्छु : ओबामा

बर्मा, ५ मंसिर । अमेरिकी राष्ट्रपति भएपछि बाराक ओबामा पहिलोपटक दक्षिणपूर्वी एसिया क्षेत्रमा आएका छन् । सोमबार बर्मा आइपुगेका ओबामाले बर्मा सुधारको बाटोमा रहेको र यो अगाडि पनि आवश्यक रहेको बताए । परिवर्तनको चाहना सुधारले मात्र सम्बोधन गर्ने भन्दै उनले मित्रता बढाउन आफू यस क्षेत्रको भ्रमणमा निस्किएको बताए ।

हजारौँ संख्यामा मानिसले बाटोमा बसेर ओबामाको बर्मा आगमनलाई हार्दिकताका साथ स्वागत गरेका थिए । सन् २०१० को नोभेम्बरमा थैन सैन नेतृत्वको सरकारले सैनिक नेतृत्वलाई अन्त्य गर्दै सुधारको बाटोमा अगाडि बढाएको बर्मालाई सहयोग गर्न ओबामाले यस देशको भ्रमण गरेका हुन् । यसका अतिरिक्त एसियामा चिनको बढ्दो प्रभावलाई ‘काउन्टर’ दिन पनि उनी यस क्षेत्रमा आएको कतिपय राजनीतिक विश्लेषकको तर्क छ । अमेरिकी राष्ट्रपति पदमा दोस्रोपटक निर्वाचित भएको एक महिना पनि बित्न नपाउँदै उनी यस क्षेत्रको भ्रमणमा निस्किएका हुन् ।
ओबामाले ६ घन्टा बर्मामा बिताए तर राजधानी ने पि तको भ्रमण भने गरेनन् । रांगु विश्वविद्यालयमा ओबामाले गरेको भाषण निकै महत्त्वपूर्ण रह्यो । सन् १९८८ मा प्रजातन्त्रका लागि भएको आन्दोलनको केन्द्र भएको यो विश्वविद्यालयपछि सैनिक शासकले नियन्त्रणमा राखेका थिए । यहाँ सम्बोधन गर्दै उनले बर्माको विकासमा अमेरिका जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै आगामी यात्रामा पनि सहयात्री बन्न तत्पर रहेको स्पष्ट पारे ।
सन् २००९ को भाषणमा बोलेको कुरालाई सन्दर्भ बनाउँदै उनले आफू हरेक देशसँग मित्रता गाँस्न तयार रहेको र त्यसै प्रतिबद्धता पूरा गर्न बर्मा आएको बताए । ‘आज म आफ्नो प्रतिबद्धता पूरा गर्न आएको छु र मित्रताको हात बढाउँछु,’ उनले भने, ‘यो यात्रा भर्खरै मात्र सुरु भएको छ । र, मेरो विचारमा यो अगाडिसम्म आवश्यक छ ।’
उनले बर्मामा जारी साम्प्रदायिक द्वन्द्व अन्त्य गर्न यहाँको सरकारलाई आग्रह गरे । मुस्लिम र बुद्धिस्टबीच भइरहेको द्वन्द्वमा अहिले बर्मामा करिब एक लाख मानिस विस्थापित भएको बताइन्छ । यसमा अधिकांश मुस्लिम छन्, जो राज्यविहीन अवस्थामा छन् र उनीहरूले लामो समयदेखि यहाँ धार्मिक भेदभाव बेहोर्नुपरेको छ । ‘राष्ट्रिय सुधार र विकासका लागि हिंसा तत्काल अन्त्य गरिनु जरुरत छ,’ उनले भने ।
उनले बर्माका प्रधामन्त्री सैन र नोबेल शान्ति पुरस्कार विजेता तथा प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीसँग पनि भेट गरे । आफूलाई लामो समय बन्दी बनाइएको घरमा सुकीले ओबामासँग भेट गरिन् र बर्मामा प्रजातन्त्र ल्याउन खेलेको भूमिकाप्रति अमेरिकालाई धन्यवाद व्यक्त गरिन् । यद्यपि उनले अझै चुनौती रहेको पनि ओबामासमक्ष बताइन् । ओबामाले यसै भ्रमणका क्रममा कम्बोडियामा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रको संस्था (आसियान) बैठकमा पनि सहभागिता जनाउने छन्, जहाँ अमेरिकाले यस क्षेत्रसँग सम्बन्धित आफ्नो नीति प्रस्तुत गर्ने बताइएको छ ।
राजनीतिक बन्दी रिहा
प्रजातन्त्र आएको करिब दुई वर्ष बितिसक्दा पनि बर्मामा अझै सयौँ संख्यामा राजनीतिक बन्दी रहेको बताइन्छ । सोमबार ओबामाले यस देशको भ्रमण गर्दा मानवअधिकारवादी संस्थाहरूले राजनीतिक बन्दीहरूतर्फ पनि ध्यान दिन सचेत गराएका थिए । र, यसै कारण बर्माले सोमबार दर्जनौँ राजनीतिक बन्दीलाई रिहा गरेको मानवअधिकारवादीले जनाएका छन् ।

प्रतिक्रिया