अल्टिमेटम सहि कदमः विपक्षी दल

काठमाडौं, ४ मंसिर । विपक्षी दलहरुले राष्ट्रपति डा.रामवरण यादवबाट प्रमुख दलका शीर्ष नेतालाई मंसिर–७ गतेसम्म सहमतिका लागि दिईएको अल्टिमेटमको स्वागत गरेका छन् ।
उनीहरुले राष्ट्रपति डा.यादवको अल्टिमेटमलाई ढिलै भए पनि सहि कदम भएको संज्ञा दिए । काठमाडौंमा आज आयोजित कार्यक्रममा कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरम नेपालका नेताहरुले राष्ट्रपतिले टेलिभिजन र पत्रपत्रिका हेरेर मात्र बस्न नहुने बताए ।
एमाले सचिव शंकर पोखरेलले जेठ १४ पछि नै चाल्नु पर्ने कदम राष्ट्रपतिले अहिले चाल्न लागेको भन्दै ढिलै भए पनि सहि निर्णय भएको बताए । उनले भने, ‘राष्ट्रपतिले सहमतिको सरकार बनाउन आब्हान गर्नु पर्छ ।’
कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले मुलुक अराजकता र संकटमा परेका बेला राष्ट्रपति मुकदर्शक बनेर बस्न नहुने बताए । उनले भने, ‘राष्ट्रपतिले निकासका लागि ईमरजेन्सी लाईटको भूमिका निर्वाह गर्नु पर्छ ।’ उनले राष्ट्रपतिले संविधानको संरक्षकको नाताले संविधानको मर्यादा भित्र रहेर कदम चाल्नु पर्ने बताए ।
संकटबाट मुलुकलाई निकास दिन र निर्वाचनको सुनिश्चितताका लागि सरकारको बहिर्गमन अनिर्वाय रहेको उनको भनाई थियो ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई आन्दोलनबाट घोक्रेठ्याक लगाउनु पर्ने बताए । उनले मुलुक संकटमा परेका बेला राष्ट्रपति टुलुटुलु हेरेर बस्न नहुने पनि बताए ।
अबैधानिक भईसकेको सरकारले बजेट ल्याउन नसक्ने बताएका अध्यक्ष यादवले जवरजस्ती बजेट ल्याए राष्ट्रपतिले स्वीकार्नु पर्ने कुनै बाध्यता नरहेको बताए ।

प्रतिक्रिया