असुहाउदो नक्कल (चलचित्र समीक्षा)

काठमाडौं, ४ मंसिर । दक्षिणभारतीय फिल्ममा पाइने मारकाटपूर्ण दृश्यले नेपाली चलचित्रलाई पनि आकर्षित गर्न थालेको छ । तिनै चलचित्रमा प्रयोग भएजस्ता द्वन्द्वदृश्यले प्राथमिकता पाएका छन्, प्रदर्शनरत चलचित्र ‘लंका’ मा । सानो पर्दामा राम्रै पहिचान बनाएका निर्देशक श्याम भट्टराईको चौथो चलचित्र भएकाले दर्शकले उनीबाट ‘हाई एक्स्पेक्टेसन’ गर्नु स्वाभाविकै हो । तर, चलचित्रले दर्शकको त्यो प्यास मेटाउन सक्ने क्षमता राख्दैन ।

प्रहरी निरीक्षकको भूमिकामा देखिएका किशोर खतिवडा (सत्य), खलपात्र नन्दु श्रीवास्तव (बाबुभाइ) र प्रहरीकै भूमिकामा देखिएकी रेखा थापा (सरस्वती पाण्डे)कै वरिपरि घुमेको चलचित्रको कथा कताकता अल्झिएजस्तो लाग्छ ।
तराई डेमोक्रेटिक पार्टीको अध्यक्ष बाबुभाइको राजनीतिक पहुँच केन्द्रसम्मै हुन्छ । त्यसैको बलमा उसले अपराधको ‘लंका’ नै खडा गरेको हुन्छ । प्रहरीको जिल्ला इन्चार्ज दीपक पाण्डे (धु्रव कोइराला) बाबुभाइकै गुलामी गर्छ, उसबाट पनि मासिक तलब खान्छ । भर्खरै जिल्लामा आइपुगेको प्रहरी निरीक्षक सत्यले बाबुभाइका अपराधबारे थाहा पाउँछ । अनि, उसका विरुद्धमा उत्रिन्छ । सत्यलाई पत्रकार भास्कर (विनोद पाण्डे) ले साथ दिन्छ । बाबुभाइको अपराधको लंका ध्वस्त पार्ने अभियानमा लागिपर्छ सत्य । तर, सिनियर अफिसर दीपक, बाबुभाइको भाइ नन्दुभाइ (नागेन्द्र रिजाल) लगायतले सत्यविरुद्ध षड्यन्त्र रच्छन् । एक्लो पारेर गोली हानी सत्यको हत्या गरिन्छ । सत्यको हत्याको बदला लिन उसकी श्रीमती सरस्वती प्रहरी निरीक्षक बनेर सोही जिल्लामा आउँछे, हिन्दी फिल्म ‘फूल बने अंगारे’मा अभिनेत्री रेखाले निर्वाह गरेको भूमिकाजस्तै । बाबुभाइको अपराधको लंका ध्वस्त पारेर उसलाई सिध्याइदिन्छे । पात्रको नाम, भाषा र लोकेसनबाहेक अन्य सबै कुरा ८० को दशकका हिन्दी फिल्ममा हेरिरहेजस्तो लाग्छ । क्लाइमेक्समा पनि कुनै नौलोपन छैन ।
यही कथाले पनि सुरुदेखि अन्तिमसम्म एउटै गति समात्न सकेको छैन । मध्यान्तरअघिको प्रस्तुतिले दर्शक बाँधे पनि दोस्रो हाफमा चलचित्र टुंग्याउने काम मात्र भएको छ । दीपकले हिरासतबाट बाबुभाइ तथा नन्दुभाइलाई भगाएको दृश्य सरस्वतीले भिडियो क्यामेराबाट खिचेको देखाइन्छ । आपराधिक प्रवृत्तिको हाकिम र अपराधीको साँठगाँठविरुद्ध यति ठूलो प्रमाण हुँदा पनि उनले किन कानुनी बाटो अपनाइनन्, यसको पुष्टि चलचित्रले गर्न सकेको छैन । अन्त्यसम्मै त्यो क्यामेरा किन र केका लागि राखियो भन्ने स्पष्ट नहुनुजस्ता अरू दृश्य पनि केही छन्, जसले लेखक र निर्देशकीय क्षमतामाथि प्रश्नचिह्न खडा गरेका छन् । निर्देशकका यस्ता त्रुटि जो–कसैले खुट्याउन सक्छन् । निर्देशक भट्टराई अन्त्यमा पुगेर चिप्लिएका छन्, मध्यान्तरअघिको गतिलाई पछिल्लो भागले सपोर्ट गर्न सकेको देखिँदैन ।
पत्रकार बनेका विनोदले चलचित्रमा आफ्नो भूमिकालाई न्याय गरेका छन् । प्रहरी सहायक निरीक्षक बनेका सूर्यबहादुर चन्दको अभिनय चलचित्रको सबैभन्दा राम्रो पक्ष हो । नागेन्द्र रिजाल पनि भूमिकाअनुसार सुहाएका छन् । कथाभन्दा एक्सनलाई बढी प्राथमिकता दिइएको चलचित्रमा किशोर खतिवडाको अभिनय र एक्सन पनि जमेकै मान्नुपर्छ । प्रहरीको भूमिका रेखालाई पटक्कै सुहाएको छैन । उनको हाउभाउ प्रहरीको व्यवहारसँग मेल खाएझैँ लाग्दैन । भूमिकाका तुलनामा उनको अभिनय दयनीय हुन पुगेको छ । प्राय: चलचित्रमा एकैखाले अभिनय गर्ने आरोपबाट उनी यसमा पनि मुक्त हुनसक्ने ठाउँ छैन । कतैकतै उनको अभिनय अलि ‘ओभर’ पनि हो कि झैँ लाग्छ ।
चलचित्रमा आइटम गीत राख्ने अहिलेको बलिउड परम्परालाई यसले पनि पछ्याएको छ । तर, त्यो गीत पनि दमदार लाग्दैन । दोस्रो हाफपछि लगातारजसो तीन गीत राखिएका छन् तर अप्रासंगिक लाग्छन्, चलचित्र लम्ब्याउन मात्र प्रयोग भएजस्तो । द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीले द्वन्द्वमार्फत दर्शकलाई राम्रै मनोरञ्जन गराउने प्रयास गरे पनि क्लाइमेक्समा हतारो गरेका छन् । दोस्रो हाफबाट पनि दर्शकलाई कथा स्पष्ट बुझाउन नसक्नु निर्देशकको मुख्य कमजोरी हो । नृत्यपक्ष पनि दमदार छैन । नन्दु श्रीवास्तवको अभिनय सामान्य नै छ । पुगनपुग दुई घन्टाको चलचित्र हलमा बसेर समय कटाउन सकिने खालको भए पनि सबै वर्ग र तहका दर्शकको मन छुन भने असफल छ ।

प्रतिक्रिया