किस त सामान्य

स्कुल पढ्दा मलाई प्रेमको कुनै छनक थिएन । न त कुनै अनुभूति । जब क्याम्पस पढ्न थालेँ, त्यसपछि भने केटाहरू मलाई प्रेमप्रस्ताव गर्न थाले । म राम्री छु रे, त्यसैले होला । राजनीति गर्ने भएपछि विद्यार्थीबीच नजिकिनु त पर्‍यो नै । सबैलाई हाइहेलो गर्थें, अहिले पनि गर्छु । अहिलेसम्म मलाई एक दर्जनजतिले प्रेमप्रस्ताव राखे होलान् † लाग्छ, तीमध्ये दुई–तीन जनाले चाहिँ मलाई साँच्चिकै मन पराउँथे, मलाई पनि उनीहरू मन परेका थिए । तर, न उनीहरूले खुलेर मनको कुरा मेरा सामु राख्न सके न त मैले नै आँट गरेँ । अहिले उनीहरू सबै विदेशतिर छन् ।
राजनीति गर्ने भएकाले मेरा पुरुष साथी धेरै छन् । संगठनको काममा कतै जाँदा होस् वा विद्यार्थीको हकहितका लागि आवाज उठाउँदा, वरिपरि केटा साथी नै बढी हुन्छन् । केटीमान्छे राजनीतिमा कमै लाग्छन्, त्यसैले यस्तो भएको होला ।
अन्य केटीजस्तै जीवनसाथीको कल्पनामा म पनि डुब्छु । उसमा हुनुपर्ने गुणहरूबारे कल्पिन्छु । पहिलो कुरा त ऊ मेरा विचार अनि भावनाहरू बुझ्न सक्ने क्षमताको हुनुपर्छ । मेरो हकमा राजनीति अनि राजनीतिक जीवनशैली अझ राम्रोसँग बुझेको हुनुपर्छ । मैले जे गरिरहेकी छु त्यसलाई साथ दिन सक्ने खुबी चाहिन्छ, मलाई जीवनसाथी बनाउन चाहने पुरुषसँग ।
त्यसो त वर्गीय हिसाबले पुरुषलाई म साहसिक योद्धाका रूपमा हेर्छु । पुरुषको साथविना महिला एक्लै अगाडि बढ्न सजिलो छैन । त्यसैले पुरुषप्रति मेरो जहिल्यै सम्मान अनि आदरभाव छ । जननेता मदन भण्डारी, कार्ल माक्र्स र बाराक ओबामा पुरुष नै हुन्, जसको विचार र सिद्धान्त मानिसलाई सही मार्गमा हिँडाउने उद्देश्यतर्फ केन्द्रित छ । मदन भण्डारी मलाई अहिलेसम्म सबैभन्दा आकर्षक लागेका पुरुष हुन् । उनको जीउडाल नै मिलेको देख्छु ।
पुरुषमा पाइने सहयोगी बानी, हार्दिकता अनि साहस मलाई राम्रा पक्ष लाग्छन् । छिट्टै रिसाउने, झूटो बोल्ने केटा चाहिँ मनै पर्दैनन्, घृणा लागेर आउँछ । अझ भन्नुपर्दा राजनीति गर्ने पुरुष बढी मन पर्छ । किनकि, राजनीतिमा लागेका पुरुषले थुप्रै परिस्थितिको सामना गर्नुपर्छ । यस्ता परिस्थितिले उनीहरूलाई रिसराग पचाएर धैर्य अनि शान्त बन्न अभ्यस्त बनाएका हुन्छन् । उनीहरूलाई थाहा हुन्छ– आपसी विश्वास राजनीतिमा महत्त्वपूर्ण कुरा हो । अध्ययनशीलताका कारण जीवनजगत् राम्ररी बुझेका हुन्छन् । जनताको पीरपर्कामा साथ दिएका हुन्छन्, यस अर्थमा उनीहरूमा संवेदनशीलता पनि बढी हुन्छ ।
कुनै पनि काम तत्काल गर्ने सक्ने ‘हकी’ स्वभावको राजनीतिज्ञ पुरुष अहिलेको समाजलाई चाहिएको छ । जसले देश, जगत् अनि जनताको पीरमर्का बुझेको हुन्छ, उनीहरूका लागि केही गर्ने भावना राख्छ । अन्य सोचका पुरुषमा यस्तो भावना दुर्लभ हुन्छ । म त भन्छु देश र जनताको पीरमर्का बुझ्न सक्ने राजनीतिविज्ञ पुरुष नै वास्तवमा ‘मर्द’ हुन् ।
झट्ट हेर्दा पुरुषको जीउडालसँगै आँखामा नजर पुग्छ मेरो । आँखाको शैलीले नै पुरुषमा सुन्दरता थपिरहेको हुन्छ । कति अवस्थामा आँखामा पुरुषको क्षमता नै प्रतिविम्बित भएको हुन्छ कि जस्तो लाग्छ । कसैसँग आँखामा आँखा मिलाएर डिल गर्न सक्ने पुरुष साहसी हुन्छन् । ठिक्कको हाइट, मिलेको जीउडाल अनि जुँगा नपालेको पुरुषले मलाई आकर्षित गर्छ । त्यसमाथि उसले जिन्सपाइन्ट र टिसर्ट लगाएको रहेछ भने त झनै राम्रो लाग्छ । इमानदार, परिस्थितिको राम्रो आँकलन गर्न सक्ने अनि व्यापारिक दिमागको पनि होस् ।
राजनीतिमा लागेपछि केटा होस् वा केटी, सबैसँग हात मिलाउनु, अँगालो हाल्नु त सामान्य नै हो । कतिसँग त चुम्बन पनि गरियो । स्ववियु सभापति र अखिलको उपाध्यक्ष जितेको खुसीमा मैले केटासाथीलाई पनि अँगालो हाल्दै चुम्बन गरेकी छु । विद्यार्थी नेता भएपछि चुम्बन सामान्य हुँदो रहेछ । संगठनको काम गर्दा थुप्रैसँग सँगै बसिन्छ । अहिले पनि टाँस्सिएरै बस्नुपर्ने हुन्छ कुनै बखत । परिस्थिति नमिल्दा केटा साथीहरूसँग एउटै कोठामा सुतिएको पनि छ तर भिन्नाभिन्नै बेडमा ।
विद्यार्थी साथीहरू थुप्रैसँग मेरो विचार अनि भावना मिल्छ । संगठनका बारेमा कुराकानी हुन्छ । साथीका रूपमा आत्मीयता रहे पनि उनीहरूलाई व्यक्तिगत सुखदु:खका कुरा सेयर गर्दिनँ । यीमध्ये कसैसँग मेरो गहिरो माया बसेन, त्यस्तो परिस्थिति जुरेन पनि । म मार्सल आर्टमा ब्ल्याकबेल्ट खेलाडी भएकाले कति केटाहरू त मसँग डराउँथे पनि होलान्, कसरी प्रस्ताव गर्ने आँट गरून् † अहिले भने प्रस्तावको सिलसिला रोकिएको छ, कसैले हिम्मत गरेका छैनन् । विद्यार्थी राजनीतिको माथिल्लो पदमा पुगेकाले पनि होला सायद ।
मचाहिँ अर्को जुनीमा पनि महिला नै भएर जन्मन चाहन्छु । महिलामा जत्तिको प्राकृतिक सौन्दर्य पुरुषमा हुँदैन । प्रकृतिले नै महिलालाई आकर्षक बान्की दिएको छ । महिलालाई ईश्वरले साँच्चै नै सुन्दर बनाइदिएको छ । फेरि आमाका रूपमा संसारलाई ढाक्न सक्ने प्रकृतिप्रदत्त गुण पनि महिलामै छ । यस अर्थमा मलाई आफ्नो जन्मप्रति गर्व छ । यसको अर्थ पुरुषको महत्त्व कम छ भन्न खोजेको होइन । पुरुषविना महिला अगाडि बढ्न सम्भव पनि त छैन । त्यसैले त प्रकृतिले नै जीवनसाथीका रूपमा जुराइदिएका हुन्, सृष्टिका यी दुई फरक सिर्जनालाई । धर्तीमा आइसकेपछि को कसको भागमा पर्छ, त्यो अर्कै कुरा हो । केही व्यक्तिगत अपवादहरूलाई छाड्ने हो भने पुरुषहरूमा जत्तिको हार्दिकता र साहसी गुण महिलामा पाउन सकिन्न ।


नाताका हिसाबले पुरुषको विश्लेषण गर्दा मलाई पतिभन्दा बुबा नै ठूलो लाग्छ । किनकि, उहाँले नै मलाई यत्री बनाउनुभो, यहाँसम्म ल्याइपुर्‍याउनु भयो । जे छु, सबै बुबाकै योगदान हो । त्यसो त अविवाहितै भएकाले पनि यस्तो लागेको हो कि † विवाहपछि पतिको व्यवहारमा पनि यो धारणा भर पर्ला । म पुरुष भएको भएचाहिँ सबैभन्दा बढी माया आमालाई गर्थें होला, जसले मलाई यो धर्ती देखाउनुभयो । त्यसो त उहाँलाई माया अहिले पनि उत्तिकै गर्छु ।
मलाई सुहाउँदो एउटा साथी भने मैले हेरेकी छु । अहिलेसम्म सबैभन्दा मन मिल्ने उही नै हो । विगत पाँच वर्षदेखि हामी एकअर्काको सुखदु:खका सहयात्री छौँ । एकअर्काको मनको भावना सजिलैसँग बुझ्न सक्छौँ । मैले अपेक्षा गरेका प्राय: गुण ऊसँग छन् । कहिलेकाहीँ समय मिलाएर घुम्न पनि निस्कन्छौँ । ऊ राजनीति गर्छ, सँगसँगै व्यवसाय पनि । राजनीति मात्रले जीवन चलाउन मुस्किल भएकाले व्यवसाय पनि गर्नेलाई रोजेकी हुँ । राजनीतिमा संलग्न हुनेहरूका अप्ठ्यारासँग राम्ररी परिचित छ, त्यसैले मेरा बाध्यताहरू पनि राम्ररी बुझ्न सक्छ । दुवै जना राजनीतिमै होलटाइमर हुँदा जीवन गुजार्न समस्या हुन सक्छ । त्यसैले हामीले योजना बनाएका छौँ– एक जना राजनीतिमा, अर्को व्यावसायमा । यसो गर्दा दुवैको करियर अगाडि बढाउन पनि सजिलो हुन्छ । बिहे भने अखिलको अध्यक्ष भएपछि मात्रै गर्ने सोचेकी छु ।
अहिलेसम्म डेटिङ गएकी छुइनँ । मन त थियो तर कार्यक्रममा हिँड्नुपरेकाले फुर्सदै पाइँदैन । पहिले पनि थुप्रैले डेटिङको प्रस्ताव नराखेका होइनन् तर गइनँ । कुनै पनि पुरुषसँग शारीरिक रूपमा नजिक भएकी छुइनँ । सेक्सको प्रस्ताव कसैले राखेनन् पनि । पहिले कहिल्यै प्रेममा नफसेकाले धोका खाएको अनभूति छैन अहिलेसम्म । बरु, मैले प्रस्ताव स्वीकार नगरेकाहरूले चाहिँ धोका पाएको सोचे कि †
प्रस्तुति : शरद शर्मा

प्रतिक्रिया