शिवसेना प्रमुख ठाकरेको निधन

मुम्बई, ३  मंसिर । सुरुवातमा भाषिक र त्यसपछि सँगै धार्मिक अतिवादमा प्रवेश गर्दै महाराष्ट्र र यसको मुख्य सहर मुम्बईमा बलियो प्रभाव बनाएको शिवसेनाका संस्थापक अध्यक्ष बाल ठाकरेको आइतबार निधन भएको छ । ८६ वर्षीय ठाकरे पछिल्लो केहीसमययता हृदयघातबाट प्रभावित थिए । मुम्बईको मातोश्रीस्थित
ठाकरेको निवास बाहिर अपरान्ह चिकित्सकले उनी निधन भएको खबर सुनाएपछि भारतभर रहेका शिवसेना समर्थकमा शोक छाएको थियो भने उनको निधनलाई लिएर अन्य पार्टीका शीर्षस्थ नेताहरूबाट समवेदनाहरू व्यक्त भएका थिए ।
यस अघि ठाकरेको स्वास्थ्य स्थिति कमजोर भएको जानकारी पाएपछि उनका भतिज राज ठाकरेसहित अन्य दलका नेताहरू मातोश्री पुगेका थिए । ठाकरेको निवासबाहिर सयौँ संख्यामा शिवसेना समर्थकको रुवाबासी चलेको थियो भने मुम्बईमा सुरक्षा व्यवस्था कडा बनाइको थियो । सन् १९२६ मा जन्मिएका ठाकरेको महाराष्ट्र राजनीतिमा सबैभन्दा बढी दबदबा रह्यो । मराठी भाषीलाई रोजगारमा प्राथमिकता दिनुपर्ने माग गर्दै मुम्बईबाट आन्दोलन थालेका बाल ठाकरे सन् १९९२ को बाबरी मस्जिद आक्रमण काण्डसँगै एक हिन्दूवादी पार्टीको नेताका रूपमा पनि चित्रित हुन पुगेका थिए ।
चर्चित बेलायती कार्टुनिस्ट डेभिड लोको प्रसंसक रहेका ठाकरे पछिल्लो समय मराठी भाषामा प्रकासित हुने आफ्नो साप्ताहिक पत्रिका मार्मिकका लागी कार्टुन बनाउने गर्थे । आइतवार दाहसस्कार हुनु अघि विहान १० वजे शिबजी पार्कमा ठाकरेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिने शिवसेनाले जनाएको छ ।
उत्तराधिकारी बहस
ठाकरेको निधनसँगै शिवसेनामा उनको उत्तराधिकारी को बन्न सक्ला भन्नेमा बहस सुरु भएको छ । खासगरी ठाकरेका छोरा उद्धव र भतिजा राजबीच यसका लागि शक्ति संघर्ष केन्द्रित छ । राजलाई उत्तराधिकारीको बलियो सम्भावनाका रूपमा मानिए पनि बाल ठाकरेले छोरा उद्धवलाई प्राथमिकता दिन थालेपछि राज चिडिएका थिए । यसैकारण राजले महाराष्ट्र नव निर्माण सेना पार्टी गठन गरे अनि यसको प्रभाव निर्वाचनमा पनि देखियो । विधानसभाको पछिल्लो निर्वाचनमा शिवसेनाले ४४ सिट हात पारेको थियो भने राजको पार्टी नव निर्माण सेनालाई १४ सिट मिल्यो । पार्टी टुक्रेसँगै बाल ठाकरेको उत्तराधिकारीका रूपमा हेरिएका राज र उद्धवबीच सम्बन्ध पनि चिसियो ।
यद्यपि, पछिल्लो समय राज, बाल ठाकेरको नजिक भएका थिए । उद्धव ठाकरे विमारी भएसँगै राज उनलाई हेर्न अस्पताल मात्र पुगेनन् आफ्नै कारमा राखेर घरसम्म पुर्‍याए पनि । यस कुरालाई राजले स्वीकार गर्दै बाल ठाकरेले आफूलाई फोन गरी अस्पतालमा रहेका उद्धवलाई आफ्नो जरुरत रहेको बताएपछि अस्पताल पुगेको प्रतिक्रिया दिएका थिए । तर, यसलाई राजनीतिकरूपमा नजोड्न उद्धव र राज गरी दुवै पक्षबाट आग्रह भएको थियो ।
अन्तिम समयमा बाल ठाकरेले राजसँग उद्धवसँगको दुरी घटाउन आग्रह गरिएको विषयलाई शिवसेना उत्तराधिकारीको विषयसँग जोडेर हेर्न थालिएको छ । स्रोतका अनुसार बाल ठाकरे आगामी विधानसभा निर्वाचनमा राजलाई विधान मण्डलको नेता बनाउन चाहन्थे र उद्धवलाई पार्टी नेतृत्वको जिम्मेवारी । तर, यस विषयमा राज सहमत भए पनि उद्धवबाट भने सकारात्मक संकेत नदेखिएको बताइन्छ ।
भारतीय जनता पार्टी, शिवसेना र महाराष्ट्र नवनिर्माण सेनाको गठबन्धन भएमा विधानसभामा कांग्रेस एनसिपी पराजित हुन सक्छ । यस वर्ष मुम्बईस्थित शिवाजी पार्कमा अडियो रेकर्डमार्फत आफ्ना कुरा समर्थकलाई सम्बोधन गर्ने क्रममा बाल ठाकरेले शिवसेनाका कार्यकारी अध्यक्ष समेत रहेका आफ्ना छोरा उद्धव ठाकरेलाई आफूलाई जस्तै सम्मान दिन समर्थकलाई अपिल गरेका थिए । (एजेन्सी)

 

 

 

ठाकरे–कार्टुनिस्टदेखि शिवसेना प्रमुखसम्म

करिब ४६ वर्ष राजनीतिमा देखिएका बाल ठाकरे यस अवधीमा न कुनै चुनाव लडे नत कुनै सार्वजनिक पदमा नै रहे । कहाँसम्म भने उनी विधिवतरूपमा शिवसेना प्रमुख पनि भएनन् । यद्यपि, महाराष्ट्र र यसको केन्द्र मानिने मुम्बईमा उनको प्रभाव बलियो रह्यो ।
राजनीतिक यात्रा सुरु गर्नुअघि उनी फ्रि प्रेस जर्नल नाम गरेको एक अखवारमा कार्टुनिस्टका रूपमा काम गर्थे । मुम्बईमा दक्षिणी भारतीयहरूको दबदबा देखेर उनी यस पेशामा रहन सकेनन् र मराठी बोल्ने स्थानीय जनतालाई स्थानीय रोजगारीमा प्राथमिकता दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरे ।
‘हिंसात्मक आन्दोलन’
यस आन्दोलन उनले मुम्बईस्थित एक कम्पनीबाट सुरु गरे जहाँ उनको आन्दोलन अप्रत्यक्षरूपमा दक्षिण भारतीयविरुद्ध थियो किनकि मुम्बईका प्राय कम्पनीमा उनीहरूको पकड थियो । यसक्रममा उनको अभियानको निसाना दक्षिण भारतीयहरूको व्यवसाय र सम्पत्तीमा केन्द्रित हुँदै गर्दा मराठी भाषीहरूबाट उनले साथ पाउँदै गए । पछि उनले पार्टी खोले, शिवसेना जुन नाम १७ औँ सताब्दीका एक मराठी भाषी राजा शिवाजीको नाममा राखिएको थियो जो आफ्नो समयमा मुगलविरुद्ध लडेका थिए । जनस्तरमा आफ्नो संगठन विस्तार गर्न उनले हिंसात्मक बाटो अपनाए । राजनीतिक विपक्षी, आप्रवासीदेखि मिडियाकर्मीसम्म यसको निसाना बने । विस्तारै मुम्बईका हरेक गल्लीबाट नौजवान युवाहरू शिवसेनामा सामेल हँुदै गए । हरेक झगडाहरू ठाकरेको उपस्थितिमा सुल्झन थाल्यो । मानिसहरूलाई जागिर दिनेदेखी हरेक कार्यमा ठाकरेको निर्देशन र सुझाव चल्न थाल्यो मुम्बईमा । यहाँ सम्मकि बलिउडको एक ठुलो नगरी मानिने मुम्बईमा फिल्म चलाउने विषयमा पनि ठाकरे हावी हुन थाले ।
‘बिस्तारै पकड बलियो’
ठाकरेसँग जोडिएका कयौँ घटना किस्सा लाग्छन । भन्ने गरिन्छ, उनी जर्मन तानशाह हिटलरका प्रसंसक हुन । एक अखवारमा ठाकरेलाई उदृत गर्दै यो भनाई छापिए पनि यसको पुष्टि उनले कहिले गरेनन् ।
आन्दोलनको केन्द्र नै मुम्बई भएका कारण मुम्बईको महानगर निर्वाचनमा शिवसेनाको पकड बलियो हँुदै गयो । शिवसेनाको प्रभाव मुम्बई र यसका आसपासमा क्षेत्रमा बलियो छ तर महाराष्ट्रका अन्य इलाकामा भने यसको उपस्थिति त्यति वलियो छैन । राजनीतिक विश्लेषकहरूको प्राय: एउटै मत छ, सुरुवाती दिनमा सत्तारुड कांग्रेसले शिवसेनालाई कमजोर आँकलन गर्‍यो र कयौँ घटनामा वाम राजनीतिलाई कमजोर बनाउन शिवसेनालाई प्रोत्साहित गर्‍यो । तर, ८० को दशकमा शिवसेना बलियो पार्टी बनिसकेको थियो र महाराष्ट्र राज्यको सत्ता हातमा लिन बलियो दावेदारका रूपमा प्रस्तुत भइसकेको थियो । यस समय दक्षिणपन्थीलाई समाप्त पार्न उसले हिन्दूवादलाई राजनीतिको केन्द्र बनायो ।
‘सत्तासम्मको पहँुच’
सन् १९९२ मा उत्तर प्रदेश(युपी)को अयोध्यास्थित बाबरी मस्जिदमा आक्रमण भएपछि मुम्बईमा धेरै हप्तासम्म हिन्दू र मुसलमानी धर्मावलम्बिबीच हिंसात्मक घटना भए । यस धार्मिक द्धन्द्वमा हिन्दूवादीको रूपमा शिवसेना पनि सामेल रह्यो । यस हिंसामा नौ सय मानिसको मृत्यु भयो भने करडौँ मानिस मुम्बई छाडेर पुन: कहिले फर्केनन् । त्यसको तीन वर्षपछि शिवसेनाले भारतीय जनता पार्टी(भाजपा)सँग गठबन्धन गरेर राज्यसत्ता हाक्ने अवसर पायो । यसमा ठाकरेले आफ्ना नजिकका एक नेतालाई मुख्य मन्त्री बनाए पनि सत्ताको चावी भने आफ्नै हातमा राखे । पछिल्लो एक दशकमा शिवसेनाको निसाना मुम्बईमा उत्तर भारतबाट आएका र धार्मिक अल्पसंख्यकविरुद्ध रहेको छ ।

प्रतिक्रिया