प्यालेस्टाइन–इजरायल युद्ध खतरा

जेरुसेलम,३  मंसिर । गाजा क्षेत्रको विवादमा प्यालेस्टाइन र इजरायलबीच पुन: आक्रमण सुरु भएको छ । दुवै देशले राजधानी केन्द्रित हवाई हमला गरिरहेका कारण दुई देशबीचको द्वन्द्व थप चुलिने अनुमान हुन थालेको छ ।
सम्भावित युद्धको खतरालाई ध्यानमा राख्दै संयुक्त राष्ट्र संघसहीत विश्वभरबाट प्यालेस्टाइन र इजरायल गरी दुवैतर्फको सरकारलाई संयमता अपनाउन आग्रह गरिएको छ ।
जेरुसेलममा प्यालेस्टिनी सैनिकहरूबाट रकेट आक्रमण हुन थालेपछि बलियो जवाफका लागि इजरायलले आफ्ना १० आँै हजार सैनिक गाजा सीमा क्षेत्रतर्फ पठाएको छ । इजरायलले शनिबार बिहान गरेको हवाई आक्रमणमा आठजनाको निधन भएको प्यालेस्टिनी अधिकारीहरूले जनाएका छन् । बुधबार बिहानदेखी इजरायली सैनिकले सुरु गरेको हवाई आक्रमणमा अहिलेसम्म ३९ जनाको निधन भएको उनीहरूको भनाइ छ ।
शनिबार बिहान इजरायलले प्यालेस्टिनी मन्त्रिपरिषद्को हेडक्वार्टरलाई लक्षित गरी हवाई आक्रमण सुरु गरेको थियो । इजरायलले प्यालेस्टाइनको आन्तरिक मन्त्रालय, नेताको निवास, प्रहरी क्षेत्र आदिलाई पनि हवाई आक्रमणको निसाना बनाएको आइडिएफले जनाएको छ ।
‘अवेर रातीसम्म गाजा क्षेत्रमा विद्रोहीहरू रहेको मस्जिद, विद्यालयलगायत क्षेत्रलाई लक्षित गरी आक्रमणहरू भएका छन् ।’ प्यालेस्टिनी सरकारलाई आफ्ना जनतालाई मानव ढाल बनाएको आरोप लगाउँदै इजरायली रक्षा बल(आइडिएफ)ले भनेको छ ।
यता प्यालेस्टिनी अधिकारीहरूले इजरायली आक्रमणबाट भएको क्षतीमा मस्जिद पनि परेको भन्नेवारे स्पष्ट पारेको छैन । प्यालेस्टिनी अधिकारीहरूले इजरायलको गाजा क्षेत्रमा आक्रमण गर्ने योजना रहेको दावी गरेका छन । गाजाको दक्षिण क्षेत्रस्थित जाविला शिविरमा भएको इजरायली आक्रमणमा तीन जनाको निधन भएको र करिब तीन दर्जन घाइते भएको प्यालेस्टाइनद्वारा सञ्चालित अल अक्सा टेलिभिजनले जनाएको छ । उक्त टेलिभिजनले शिविरमा रहेका मानिसहरू वारुदमा रुमलिरहेको र उनीहरूले बचाउन आग्रह गरिरहेको देखाएको छ ।
यता इजरायलले भने हमासबाट भएको हवाई आक्रमणमा दक्षिण क्षेत्रमा पर्ने किर्यात मलाचीमा चार जनाको निधन भएको वताएको छ । गाजामा तीन सय ३० जना घाइते भएको प्यालेस्टाइनका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
गाजा क्षेत्रबाट आफूतिरको हवाई आक्रमण रोक्नका लागि शुक्रबार मात्र ७५ हजार सैनिक त्यसतर्फ पठाउन इजारायली सरकारले स्वीकृती प्रदान गरेको थियो । ‘हामीहरू आक्रमणलाई रोक्न आफ्नो अभियान विस्तारको तयारीमा छौँ ।’ आइडिएफ प्रवक्ता ब्रिगेडियर जनरल योआव मोर्डचाईले स्थानीय टेलिभिजनसँगको कुराकानीमा भने । आइडिएफका अनुसार शनिबार बिहानसम्म गाजा सीमा क्षेत्रमा कम्तीमा ३० हजार सैनिकहरू परिचालित गरिसकिएको छ । बुधबार इजरायलले गरेको आक्रमणमा हमासका सैनिकप्रमुख मारिएपछि यी दुई देशबीचको द्वन्द्व चर्किएको हो ।
सन २००८ मा इजरायल र प्यालेस्टाइनबीच युद्ध भएको थियो जसमा १४ सय मानिसले ज्यान गुमाएका थिए । एजेन्सी)

प्रतिक्रिया