तिहारमा के गर्ने ?

भुवन केसी : म यसपटकको तिहार अगाडिकै वर्ष जसरी मनाउँछु । केही दिनदेखि रुघाखोकी र ज्वरोले सताएकाले देउसी–भैलो चाहिँ खेल्दिनँ होला । दिदीबहिनीले दाजुभाइप्रति दर्साउने प्रेमको प्रतीक यो चाड मलाई दसैँभन्दा बढी मन पर्छ । सेलरोटीको बासना पनि मलाई एकदमै मन पर्छ । जुवातास खेल्ने बानी नभएकाले परिवारसँग बसेर रमाइलो गर्ने योजना बनाएको छु ।
श्रीकृष्ण श्रेष्ठ : मैले भर्खरै होटल सञ्चालन गरेको छु । होटेलमै तिहारका अवसरमा विभिन्न पार्टी राख्ने प्रोग्राम मिलाएको छु । त्यसैले अधिकांश समय त्यहीँ बित्ला । लक्ष्मीपूजा र गोबद्र्धन पूजाको दिनचाहिँ घरमै बस्ने योजना छ । नेपाल संवत् पनि मनाउनुपर्छ । यसपालि अघिल्लो वर्ष जसरी देउसी खेल्न पनि भ्याइएलाजस्तो छैन । सानोमा जुवातास पनि खेलिन्थ्यो, अहिले कामका कारण भ्याइँदैन ।
निता ढुंगाना : सुटिङका लागि बुटवल आएकी छु । आज घर जान्छु होला । घर पुगेर साथीसंगीसँग खुब रमाइलो गर्ने योजना छ । तिहार मलाई मन पर्ने चाड हो । त्यसैले अरू चाडभन्दा धुमधामले मनाउँछु । तिहारको झिलीमिली सबैभन्दा रमाइलो लाग्छ । यो वतावरणमा मन त्यसैत्यसै रमाउन थाल्छ । गाउँमा साथीसँग देउसीभैलो पनि खेलिन्छ होला । गाउँको सेलरोटी निकै मन पर्छ । यसपालि धेरै खाने योजना छ । भाइटीका पनि लगाउँछु । तिहारको सबैभन्दा महत्त्वपूर्ण पल नै टीका हो ।
दीपकराज गिरी : त्यस्तो विशेष योजना छैन । परिवारसहित पुरानो घरमा जान्छु । लक्ष्मीपूजामा दिनभर व्रत बसेर बेलुका मात्र खान्छु । पूजा सकिएपछि साँझ हल्का पिउँछु पनि । सानोमा देउसीभैलो खुब खेलिन्थ्यो, केही वर्ष भयो खलेको छैन । लक्ष्मीपूजापछिको समय परिवार र साथीसँग रमाइलो गर्नमै बित्छ होला । चाडबाडमा तास खेल्ने र कौडा समाउने बानी छ । यसपालि पनि खेल्नै पर्‍यो । बहिनीको हातबाट टीका लगाएपछि पनि त्यो दिन जुवातासमै बित्छ होला । तिहारको सबैभन्दा मन पर्ने पक्ष भनेको सेलरोटी र झिलीमिली बत्ती नै हो ।
निशा अधिकारी : ममीसँग मिलेर तिहारको सपिङ गरिसकेँ । तिहारलाई वर्षभरिको व्यस्तताबाट निस्किएर परिवारसँग रमाइलो गर्ने अवसरका रूपमा हेर्छु । घर सजाउनेदेखि सम्पूर्ण काममा ममीलाई सघाउने सोचमा छु । मेरो दाइ एकजना हुुनुहुन्छ तर अमेरिकामा । उहाँको तस्वीरमा टीका लगाइदिन्छु । म देउसी खेल्न जान्दिनँ, त्यसैले खेल्दिनँ । मलाई पटाका मन पर्दैन । तिहारको झिलीमिली बत्ती चाहिँ निकै मन पर्छ । मिठाइ मन नपरे पनि सेलरोटी चाहिँ राम्रो लाग्छ ।
नम्रता श्रेष्ठ : दाजुभाइलाई टीका लगाउनेबाहेक त्यस्तो विशेष योजना छैन । त्यसो त म्हपूजा पनि मलाई स्पेसल लाग्छ । टीकाकै दिन दिदीको बर्थडे परेकाले टीकापछि धुमधामसँग सेलिब्रेसन गरिन्छ । देउसीभैलो पनि खेलेर रमाइलो गर्नुपर्ने हो तर यसपालि त्यस्तो योजना बनाएको छैन ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया